काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेताहरूविरूद्ध सर्वोच्च अदालतमा अवहेलनाको रिट दर्ता भएको छ।
अधिवक्ता अनुपम भट्टराईले दिएको रिट बिहीबार दर्ता भएको सर्वोच्च अदालतका प्रवक्ता एवं सहरजिष्ट्रार अच्युत कुईकेलले जानकारी दिए।
रास्वपाका नेताहरूले अदालतको अवहेलना गरी प्रदर्शन गरेको भन्दै अधिवक्ता अनुपम भट्टराईले कात्तिक १४ गते सर्वोच्चमा रिट दायर गरेका थिए। तर सहरजिष्ट्रार कुईकेलले उक्त रिट दरपीठ गरेका थिए। उक्त रिटमा पुनर्विचार गर्न भन्दै भट्टराईले पुनस् निवेदन दिएका थिए।
मंगलबार न्यायाधीश विनोद शर्माको इजलासले दरपीठ आदेश बदर गर्दै उक्त निवेदन दर्ता गर्ने निर्णय गरेका थिए। उक्त आदेश भएसँगै बिहीबार रिट दर्ता भएको हो।
‘विपक्षीहरूले मुद्दा विचाराधिन रहेको स्थानमा र अनुसन्धानको दायरामा रहेका व्यक्तिलाई रिहाई गर्नुपर्ने मागसहित खडा गरेको भिडले न्याय प्रक्रियामा अवरोध सृजना गरेको छ, न्यायपालिका स्वतन्त्र छैन भन्ने भाष्य प्रयोग गरी नाराबाजी गरेकोले न्यायलयको गरिमामा नकारात्मक सन्देश प्रवाह भइरहेको छ।’ दर्ता भएको सो रीटमा भनिएको छ ।
यो रीटको पेशी मंसिर ३ गतेका लागि तोकिएको छ।







