
कविता
जिन्दगी एउटा इनबक्स
शुषमा चित्रकार
जिन्दगीको इनबक्सभित्र
परिचित/अपरिचितहरुका
वांछित/अवांछित प्रवेशको चाहनासँग
आकर्षक, कैलेकाँही भद्दा शिर्षकहरुमा
आमन्त्रण र गुहार लगाउँदै
आउने अनेकौं इमेलहरु
सम्मोहित अनि दिग्भ्रमित बनाउँदै छन् ।
मीठो सपनाको लोभमा
सुदूूर पहिल्याउँदै
हरेक नयाँ नामहरु खोज्नुको एक्स्पेरिमेंटमा
आफ्नाहरुबाटको टाढा भगाई
तर यो भगाई मात्र अन्तहीन
र भोगाई, सिक्नु पर्ने पाठ बनेको छ ।
संक्रमणबाट त्रस्त
जिन्दगीबाट भाइरस डिलिट गर्न खोज्यो
विडम्वना !
ह्याप्पी सरप्राइज दिन
जानकारी विना चियाउने कोही आफ्नै पनि
धेरै पटक स्पामहरुभित्र हराउँछन्,
उफ ! अपराधबोध
गल्ती सच्चिन घरिघरि
ब्याक/ब्याक …एउटा अर्को मौका खोज्दै
“पेज क्यानट बी डिस्प्लेड”
एक्कासी “ह्याक” हुन्छ खुसी
आफ्नैअगाडि आफ्नो वर्तमान
किन, कसरी, कोबाट कतिबेला संक्रमित
थुप्रै मूल्यहरू चुकाउँदा पनि
मरिचिकाको परिणति शून्य नै !
नचाहँदा नचाहँदै पनि आएका
थेग्न नसकिने थुप्रै जङ्क मेलहरु
अस्तित्वमा अनाधिकृत हस्तक्षेपसँग
मनकोे शान्त तलाउमा
ढुंगा फाल्दै छन्, भाइरस फैलाउँदै छन् ।
एलर्ट !
परिचितझैँ बनी छद्मभेषीहरु
इनबक्सभित्र धेरै पटक झुक्याउँछन्
भर्खरै पनि, सचेत हुने मौकै नदिई
इनबक्सभित्र ह्वात्तै खोलिन पुग्छ
सौम्य शिर्षकमा
आफन्तको झैं देखिने
एउटा अर्को इन्फेक्टेड जङ्कमेल
इच्छाहरु पङ्गु
जिन्दगी फेरि एकपल्ट ह्याँङ्ग भएको छ ।
ललितपुर







