काठमाडौ ।नेपालमा करिब डेढ सय प्रजातिका आँप पाइन्छ भन्ने जो कोहीलाई थाहा नहुन सक्छ । यस्तो अबस्थामा नेपाली आँपको प्रयोग बढाउन, किसानलाई प्रोत्साहित गर्न र उपभोक्तालाई विषादीरहित स्वस्थ आँपको पहुँच पुर्याउन काठमाडौमा आँप महोत्सव आयोजना गरिएको थियो ।
महोत्सवमा सर्लाही, सप्तरी, सिराहा, महोत्तरीलगायत जिल्लाका ५० किसानका बगानबाट ल्याइएका आँप राखिएको थिए । पाकेका वा पकाइएका मालदह, जर्दा, बम्मई, गुलाब खास, अम्रपाली, कलकत्तिया, दसहरी लगायत १५ प्रकारका आँप प्रदर्शनमा राखिएका थिए । यसका साथै आँप फलको रूपमा मात्रै नभएर अचार, पाउडर, डिहाइड्रेड म्याङ्गो, जाम, जुस, रेसिपीलगायतका रूपमा पनि प्रयोग गर्न सकिन्छ भन्ने कुरा पनि महोत्सवले प्रष्ट्रयाएको थियो।
आयोजकहरुका अनुसार करिव १० हजारले उक्त महोत्सवको अबलोकन गरेका छन् । नेपाल जस्तो कृषिप्रधान मानिने देशमा बेलाबेलामा यस्ता महोत्सव भैरहनुपर्ने सहभागिहरुको भनाई छ ।