
काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले प्रतिगमनका विरुद्ध प्रतिनिधिसभा पुनर्स्थापनालाई पार्टीको एजेन्डा बनाइएको बताएका छन् ।
सोमबार (कात्तिक २४) राष्ट्रिय सभागृहमा रामकुमारी झाँक्री, किसान श्रेष्ठसहितका नेतालाई पार्टीमा स्वागत गर्दै उनले अरू राजनीतिक दलका नेताले विभिन्न छलफलमा सुरक्षित बाटो प्रतिनिधिसभा पुनर्स्थापना नै भएको बताउने गरेका उल्लेख गरे । तर, उनीहरूले नै निर्धारित समयमै निर्वाचन हुनुपर्छ भन्ने गरेका नेता पोखरेलको भनाइ थियो ।
“अन्य राजनीतिक दल छलफलमा भन्ने गर्नुहुन्छ– वास्तवमा सुरक्षित बाटो र प्रतिनिधिसभा पुनर्स्थापना नै हो,” उनले भने, “छलफलमा चुनाव हुने वातावरण छैन, गर्नुपर्छ भन्नुहुन्छ । चुनाव हुन सक्दैन, तर चुनावको कुरा गर्नुपर्छ के भन्या ?”
उनले एमाले फुटाएर गठन गरेको नेकपा एकीकृत समाजवादी माधव नेपालले माओवादीमा विसर्जन गरेको बताएका छन् ।
महासचिव पोखरेलले अव माधव नेपालको पछि लागेर नेपालको कम्युनिस्ट आन्दोलन अघि नबढ्ने देखेर त्यसबेला माधव नेपालको पक्षमा लागेका नेता कार्यकर्ता बुझेर नै एमालेमा फर्किएको बताए ।
उनले पार्टी छाडेर गएकालाई फर्कन आग्रह गरे ।



