काठमाडौं । कागेश्वरी मनोहरा नगरपालिकाले जेनेस सलुशनसंगको सहकार्यमा नवप्रवर्तन केन्द्र (इनोभेशन सेन्टर) को सुरुवात गरेको छ । जेनेस सलुशन, बेलायतमा मुख्यालय रहेको सूचना प्रविधि परामर्श तथा साइबर सुरक्षा विशेषज्ञ सम्बन्धी कम्पनी हो ।
नगरपालिकाले सुरुवात गरेको सम्भवतः यो नेपालकै पहिलो इनोभेशन सेन्टर भएको दाबी गरिएको छ । जेनेस सलुशनसंगको सहकार्यमा शुक्रबार स्थानीय युवाहरूका लागि सूचना प्रविधि सम्बन्धी रोजगार कार्यशालाको दोस्रो चरण (सेकेन्ड ब्याच) आयोजना गरिएको थियो ।कार्यक्रमलाई सम्बोधन गर्दै जेनेस सलुशनका कार्यकारी निर्देशक भीम ढकालले स्थानीय युवाहरूलाई कार्यशालामा सक्रिय सहभागिता जनाउँदै आफ्ना सीपहरू अभिवृद्धि गर्न आग्रह गरे ।

उनले भने, ‘आईटी साक्षरता अहिले सबै उमेर समूहका मानिसका लागि आवश्यक भइसकेको छ, विशेष गरी युवाहरूका लागि यो आवश्यक छ ।’ ढकालले स्थानीय युवाको सीप विकासमा प्राथमिकता दिएकोमा नगरपालिकाप्रति आभार व्यक्त गरे ।
जेनेस सलुशनका संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत अञ्जनी फुयाँलले डिजिटल शासनमा रहेको खाडल हटाउन सके हजारौं रोजगारी सिर्जना गर्न सकिने र नेपाल आफ्नै शर्तमा विश्वसँग जोडिन सक्ने बताइन् ।
उनले अहिले नगरपालिका आफैले इनोभेशन सेन्टर स्थापना गरेको र आफुहरुले सहकार्य गर्न पाउँदा खुसी लागेको बताए । ‘यो केन्द्रले समुदायका सदस्यहरू—विशेष गरी स्थानीय युवाहरूलाई–उद्योगसँग मेल खाने सीप प्रदान गर्दै, नवप्रवर्तनलाई प्रोत्साहन गर्दै र दिगो रोजगारीतर्फको बाटो खोल्दै सशक्त बनाउने काम गर्दै आएको छ। हामीले सुरु गरेको यो दोस्रो ब्याच केवल तालिमको निरन्तरता होइन, यो अवसर सिर्जना र भविष्य निर्माणको अभियान पनि हो,’ उनले भने ।
कागेश्वरी मनोहरा नगरपालिकाका प्रमुख उपेन्द्र कार्कीले कागेश्वरी मनोहरा नगरपालिकालाई देशकै आइ टी हब बनाउने उद्देश्य लिएर इनोभेशन सेन्टर सुरु गरिएको बताए ।
उनले एसईई पास गरे पछि विद्यार्थीहरुले पढ्दै कमाउँदै गर्न सकुन भनेर कक्षा ९ देखि नै आइटी विषय पढाउन सुरु गरिएको बताए । उनले नगरपालिकाको सहयोगमा कान्तिपुर एकेडेमीमा २४ जना विद्यार्थीहरुले आइटी इन्जीनियरिंग पढिरहेको पनि बताए ।
‘पढेर मात्रै नहुने रैछ, सीप ठूलो कुरा रहेछ । हामी अन्जनी फुयाँल जस्ता धेरै नेपाली युवा विश्वको आइटी एरेनामा पुगेको हेर्न चाहन्छौं, त्यो सम्भावनाप नि छ , तर हुटहुटी चाहिन्छ,’मेयर अर्यालले भने ।
उनले नगरपालिका जेन जी पुस्ता को लागि अवसर सिर्जना गर्न लागि परेको पनि बताए । उनले आइटी तालिम लिएका युवाहरुले राम्रो रोजगार पाएका र केही ’सेल्फ इम्प्लोइड’ भएर काम गरिरहेको पनि बताए ।
यसै वर्ष अगस्ट महिनामा जेनेस सलुशन र कागेश्वरी मनोहरा नगरपालिकाबीच डिजिटल साक्षरता र कार्यस्थल तत्परता अभिवृद्धि गर्ने उद्देश्यले एक समझदारीपत्रमा हस्ताक्षर भएको थियो । हालसम्म करिब ७० जना स्थानीय युवाहरू विभिन्न तालिमका लागि केन्द्रमा दर्ता भइसकेका छन् ।