जनकपुर । जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर १६ का वडाध्यक्ष रामचन्द्र पजियारको निजी लगानीमा सो वडाका युवाहरुका लागि निःशुल्क कम्प्युटर कक्षा संचालन गरिने भएको छ ।
आफ्नो वडाका युवाहरुलाई प्रविधिसंग जोड्ने उद्देश्यले नेपाली कांग्रेस क्षेत्र नम्बर ३(२)का सभापति समेत रहेका वडाध्यक्ष पजियारको लगानीमा निःशुल्क कम्प्युटर कक्षा संचालन गर्न लागिएको हो ।

सो वडाका १४ वर्षदेखि ३५ वर्षसम्म र कम्तीमा ९ कक्षा उतीर्ण गरेका युवाहरुलाई कम्प्युटरको ३ महिने तथा ६ महिने निःशुल्क कक्षा संचालन गरिने वडाध्यक्ष पजियारले जानकारी दिए । कक्षामा सहभागी हुन चाह्ने युवाहरुलाई चैत १२सम्मका लागि दर्ताको समय तोकिएको छ ।
तत्काल वडा १६कै लागि शुरु गरिएको यो कक्षा आगामी दिन यस प्रकारको तालिम विस्तृत रुपमा अगाडी बढाउने वडाध्यक्ष पजियारले प्रतिवद्धता व्यक्त गरे । उनले आगामी दिनमा इलेक्ट्रिीसीयन, प्लम्बर तथा महिलाहरुका लागि उद्यमको तालिम समेत संचालनमा ल्याउने बताए ।
वडास्तरीय निःशुल्क कम्प्युटर कक्षाको उदघाटन नेपाली कांग्रेसका पूर्व उपसभापति विमलेन्द्र निधिले गरेका छन् । निधिले उदघाटन गर्दै अहिलेको समयमा युवाहरुलाई प्रविधिमैत्री हुनु अति आवश्यक रहेको बताए ।
उनले वर्तमान समयमा बढ्दै गईरहेको भ्रष्टाचारले प्रविधिले न्युनीकरण गर्न मद्दत पुर्याउने बताए । युवाहरु प्रविधि मैत्रीभए देशमा बढ्दै गईरहेको आर्थिक अनियमितता कम गर्न सहयोगी हुन्छ नै यसका साथै व्यक्तिगत, आर्थिक, सामाजिक विकास गर्न समेत सहयोगी साबित हुने बताए ।कार्यक्रममा जनकपुरधाम उपमहानगरपालिकाका उपप्रमुख किशोरी साह, राष्ट्रिय मुक्ति पार्टीका संजय चौधरी, कपिलेश्वरनाथ युवा कमिटीका अध्यक्ष मनोज साह लगायतका उपस्थिति रहेको थियो ।