
कविता
केशव ज्ञवाली आगत
भन्न त हामीले देश बनायौँ भन्यौँ तर
देशको सिमाना मात्र बनाएका रहेछौँ
भूगोललाई साक्षी राखेर
देशको नाउँमा
सिङ्गो धर्ती बाँडियो
आकाश बाँडियो
बाँडिदा बाँडिदै
मान्छे आफैँ
कित्ताकित्तामा बाँडियो।
व्यवस्थापनको नाउँमा देशभित्र
गाउँपालिका बनाइयो
नगरपालिका बनाइयो
वडा बनाइयो
प्रदेश बनाइयो र
अत्यावश्यक मापदण्ड तोकियो तर
सम्मृध्दिको कुनै जरुरी
मापदण्ड तोकिएन।
हेर्दा हेर्दै माटो देश बन्यो
ढुङ्गा देश बन्यो तर
हामी अझै देश बन्न सकेनौँ।
भूकम्पले भत्किएका हुन् कि बारुदका बमले भत्किएका हुन् घरहरू
घाउ उस्तै उस्तै दुख्छ
मन उस्तै उस्तै रुन्छ तर
देशलाई माया गर्ने र
देश बन्नु छ भन्ने हामीले
देश बन्न
सिर्जना र पौरखको बाटोमा
सँगसँगै हिँड्न पनि जान्नुपर्दो रहेछ
खुसीहरू बाँड्न पनि जान्नुपर्दो रहेछ।







