
लघुकथा
डा. शेखरकुमार श्रेष्ठ
फेसबुकको स्ट्याटस
पानीसँगै हिउँ पर्यो । जिउ तताउन सबैले थाङ्ना र पुराना लुगा झिकेर लगाए । केही दिनदेखि घाम ताप्न पाएका थिएनन् । फेसबुकमा भने स्ट्याटस आएका थिए– ‘जाडोले जिउ मात्र होइन, दिमाग पनि खुम्चिरहेको छ ।’
केही गाउँलेले ग्याँस बालेर जिउ तताए । विदेशी ग्याँसको राप पानी जस्तै बग्यो ।
अचानक हिउँ परेको थियो । हिउँ बाक्लो थियो । यसरी हिउँ परेको कसैलाई थाहा थिएन । मौसम बदलिएपछि नहुने कुरा पनि हुन्छ ।
हजुरबाबाट उमाले सानी छँदा सुनेकी थिइन्– ‘जाडो भगाउन शारीरिक श्रम गर्नुपर्छ ।’
गोठमा गाई पाल्ने काम सबैले छाडिसकेका थिए । गाई छँदा खोले पकाउने दाउरा चाहिँ बाँकी थिए । उनी जाडोसँग पौँठेजोरी खेल्दै गोठमा गइन् । एक भारी दाउरा बोकेर घर फर्किइन् । उनले आगो बालिन् । घरका मात्र होइनन्, वरपरका छिमेकी पनि आगो ताप्न आए । सबैले उमालाई धन्यवाद दिए । राधाले मुखै खोलेर भनिन्, “तिमीले गुन लगायौ । यो तिम्रो उपकार कहिल्यै भुल्ने छैन ।”
आगो तापी सबै घर गए । राधा पनि फर्किइन् । जाडोले फेरि उनलाई सुइरोले रोपे झैँ रोप्यो । राधाले उमालाई फोन गरेर भनिन्, “भर्खर पाँच बज्यो । समय बाँकी छ । एक भारी दाउरा तिमीले मलाई ल्याइदेऊ न ।”
उमाले भनिन्, “गोठमा छ । ताल्चा मारेको छैन । गएर लेराऊ ।”
फोन काटियो । एकैछिनमा राधाले फेसबुकमा स्ट्याटस हालिन्– ‘मै हूँ भन्ने टुपिएका मानिसहरूका साथमा गाउँमा बाँच्न कठिन हुने रहेछ । दयाको नामोनिसान छैन । यो स्वार्थी समाजमा बाँच्न गाह्रो भयो ।’







