
कविता
आभा भूजेल
स्यालहरू ठुला स्वरले कराउँछन् !
शक्ति हिंस्रक
हिँड्ने स्यालहरूको!
आजभोलि
उपल्लो किल्लासम्म
जमात भएको छ!
हो साँच्चै
प्राकृतिक प्रणाली त
स्यालहरूको
आधुनिक नक्कल मात्रै त हो
उसको आफ्नै मत ! हुँदै छ
जीत
पारित हुँदै छ भइसकेको छ
के उत्पादन गर्ने ? देखिएको छ
आधुनिकताले
एउटा परम्परागत
प्राकृतिक प्रणाली नै
नष्ट हुने सङ्केत देखिन्छ
हो चेतनशील भन्ने वर्गले
आज समाज
र नयाँ पिँढीलाई दिने
नतिजा यस्तै
यस्तै मात्रै त हो
अलि चिन्तन गर्ने कि!
स्यालहरू ठुला स्वरले कराउँछन्!
शक्तिविहीन
बुढो बाघ कहाँनेरबाट
गर्जन सक्ला ?
सामर्थ्यविनाका हुट्टिट्याउँ
र गोहीहरू बरालिँदा
कर्याङ्गकुरुङ्ग्
एक झुन्ड हुँदा
स्यालहरू
सधैँ जङ्गलमा हुन्छन् भन्नेतिर नलागौं
ऊ
हिजोआज
घरआँगनमा देखापर्ने गरेको छ
विवरहरूमा
झुन्ड हुनथालेका छ
डाँडापारिको जङ्गलमा
आसमान थर्कने गरी
अर्को स्याल ब्युँझने गरी
घोक्रो फुलाएर
जिब्रो बटारेर
घाँटी तन्काएर
मुख सुकाएर कराउँछन्
सुन्नेहरू
र देख्ने बुझ्नेहरूले
नदेख्ने गरी
सोझामाथि
बिछ्याइएको जालको
आवाज आउनेछ
र सोझोपनको
शोषणमा हुइयाहुइया
आवाजको आकर्षणमा
कान ठाडो पार्दै त्यस्तो
बिजुली बाल्ने छ
फ्याउरोसँग
जहाँ क्षणिक
मितेरी लाउँदै
ब्वाँसाले तानेको
कस्तुरी
र हरिणको बोसो झिकेको
खोक्रो भइसकेको
करङ्ग हड्डीमाथि पुग्छन्
अनि गर्न थाल्छन् घोटाला
उनीहरूलाई
कत्ति पनि लाग्ने छैन
लाज!
शर्म !!
बेशरमका ब्वाँसाहरू
जोडजोड चिच्याउँछन्
ठुला स्वरले कराउँछन्
सिनो खान पल्केका
गिध्दसँग मित्रता देखाउने
स्यालहरू !







