
चर्चामा पुस्तक
जङ्गबहादुरको फ्रेन्डरिक्वेस्ट
नेपाली आख्यानमा व्यङ्गको कमिलाई पुरा गर्ने कार्यमा निरन्तर लागेका भोजराज रेग्मी मुखालेको पछिल्लो हास्यव्यङ्ग कथा कृति हो यो । यसमा तीस थान विविध शिर्षकका छोटा र मध्यम आयतनका कथाहरु छन् । वर्तमान समयका तस्वीर लाग्छन् कथाहरु । वेथिति र विकृत हुँदै गएका समाजका आयामहरुमाथि कटाक्ष गर्छन् ।
समसामयिक विषयवस्तु उधिनेर तिनमा स्वैरकल्पनाको लेपन लगाएका यी कथाहरु सुन्दर लाग्छन् । चाखलाग्दा र मीठा लाग्छन् यी कथाहरु ।झर्रो तथा ठेट भाषाको प्रयोग गरिएका कथाहरु एकै झमटको बसाईमा पढिसकिन्छ ।
जङ्गबहादुरको फ्रेन्डरिक्वेस्टलाई फित्कौली अनलाइन मिडियाले प्रकाशनमा ल्याएको हो । यसको मूल्य २५५। रहेको छ ।
चीन सुनेको,पढेको,देखेको
दीपक सरकारले छिमेकी मित्रराष्ट चीनको विषयमा विभिन्न शिर्षकमा यसकृतिभित्र लेखेका छन् । विशेषत चीनको साहित्य, बौद्ध दर्शन, सभ्यता, इतिहास,संस्कृति र विकासको विषयमा अध्ययन गरेर पाठकलाई जानकारी दिने गरी लेखेका छन् । त्यहाँको आर्थिक नीति,विभिन्न व्यापारिक केन्द्र लगायतका विषयमा समेत त्यहाँ जानकारी दिइएको छ
।यात्राका क्रममा विभिन्न कुराहरुको मीठासपूर्ण वर्णन गरेका छन् । यसमा अध्ययन मात्र छैन्,उनको आफ्नो विश्लेषण पनि छ । यस कृतिको अध्ययनले चीनको बारेमा धेरै कुरा बुझ्न र धारणा बनाउन पाठकलाई सघाउ पुग्छ ।
चीन सुनेको,पढेको,देखेको पुस्तकलाई शिखा बुक्सले प्रकाशनमा ल्याएको हो । यसको मूल्य रु.७५०।रहेको छ ।
सन्नाटाका सुस्केरा
आजका युवाहरुको मनको अभिव्यक्ति कविता मार्फत मुखरित गर्न सफल छन् कवि प्रकाश सापकोटा।वर्तमान विषम समाजका अनेक विकृति र विसंगतिहरुको विरुद्ध कडा कटाक्ष प्रहार गरेका कविताहरु यस कृतिभित्र समावेश छन् । वैदेशिक रोजगारको सिलसिलामा प्रवासिएका उनमा राष्ट्रियप्रेमको भावना छ । देशमा भएका राजनीतिक विकृतिले उनको मन दुख्छ र आगो ओकल्छन् । आफ्नोपन प्रति नोष्टाल्जिक भावना छ उनमा ।यथार्थको सत्यापन गरेका छन् कविताहरुले ।कविको विद्रोही भाव लाक्षणिक रुपमा कवितामा झल्केका छन् ।
अनुप्रास र सरल विम्बहरुको सहि प्रयोगले सुन्दर बनेका छोटा र मझ्यौला आयतनका ५१ थान कविताहरुले भरिएको यो कविताकृति भित्र भाव र कलात्मक सौन्दर्यको शक्तिशाली संयोजन देखिन्छ ।
सुनकोसी वाङ्मय प्रतिष्ठानद्धारा प्रकाशित सन्नाटाको लयको मूल्य रु.२५०रहेको छ ।







