
काठमाडौं। यस वर्षको परशु -कल्पना स्रष्टा सम्मान वरिष्ठ गीतकार किरण खरेललाई अर्पण गरिने भएको छ ।
गीत सिर्जनाको माध्यमबाट नेपाली साहित्यमा विशिष्ट योगदान पुर्याएका उनलाई रु.एक लाख एक सय ११ रुपैयाँ नगदराशि सहितको उक्त सम्मान अर्पण गर्न लागिएको हो ।
नेपाली संगीतलाई आधुनिक धारमा डोर्याउने खरेल विगत छ दशकभन्दा बढी समयदेखि गीत लेखनीमा सक्रिय छन् । उनले नेपाली चलचित्र माइतीघरको लागि लेखेको ‘बसन्त नै बस्न खोज्छ यहाँ …’ धेरै चर्चित र सदावहार गीत बनेको छ । त्यसयता करिव सात सय जति गीतहरु खरेलले लेखेका छन् । उनी कुशल कार्यक्रम सञ्चालक तथा रेडियो प्रस्तोता समेत हुन् ।
‘के हो तिम्रो नाउँ?’,’मेरी परु’,’मेरी प्रियतमा’, ‘ए दुरका सितरा’ लगायतका गीतिसङ्ग्रह प्रकाशित भैसकेका छन् । यसका साथै थुप्रै नेपाली चलचित्रका लागि उनले गीत दिएका छन् । यसका साथै थुप्रै म्यूजिक भिडियो समेत स्वराङ्कन भएका छन् ।
नेपाली गीति परम्परालाई आधुनिक धारमा ल्याउने श्रेय पनि खरेललाई छ ।
नेपाली साहित्यका विशिष्ट साधक स्व.परशु प्रधान तथा उनकी धर्मपत्नी कल्पना प्रधानको नाममा उनीहरुका सन्ततीहरुले वि.सं.२०८० सालमा परशु- कल्पना स्रष्टा सम्मानको स्थापना गरेको नेपाल स्रष्टा समाजका अध्यक्ष श्रीओम श्रेष्ठ ‘रोदन’ले जानकारी दिए । उनका अनुसार उक्त सम्मान आगामी चैत ७ गते राजधानीमा विशेष कार्यक्रम आयोजना गरि समर्पण गरिनेछ ।