बनेपा,काभ्रे । काभ्रेमा बोधिचित्त चोरी गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ।
बनेपा नगरपालिका-१० रेशम मार्गमा भवानी पाण्डेको कम्पाउण्डमा रहेको बोधिचित्त चोरी गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक दिनेशबहादुर कुँवरले जानकारी दिए।
पक्राउ पर्नेमा १९ वर्षीय विवेक लामा, २० वर्षीय मिलन मोक्तान र १९ वर्षीय लबाङ तामाङ छन्।
उनीहरूले शनिबार राति १स्२० तिर पाण्डेको घरमा पुगेर बोधिचित्तको दाना टिपेका थिए।
भोलिपल्ट चोरी भएको भन्दै इलाका प्रहरी कार्यालय बनेपामा उजुरी परेपछि प्रहरीले अनुसन्धान अघि बढाएको थियो।
‘सिसिटिभी फुटेज हेर्दा राति १ बजेतिर तीन जना आएर दाना टिपेको देखियो,’ इलाका प्रहरी कार्यालय बनेपाका डिएसपी रामेश्वर त्वातीले भने।
त्यही सिसिटिभी फुटेको आधारमा प्रहरीले तीन जनालाई पक्राउ गरेको हो।
तर उनीहरूबाट उक्त बोधिचित्त भने फेला परेको छैन। प्रहरीले सोधपुछ गर्दा उनीहरूले काठमाडौं लगेर बेचेको बताएका छन्।
पीडितले घरबाट ८ लाख बराबरको बोधिचित्त चोरी भएको दाबी गर्दै निवेदन दिएका छन्।
उनीहरूले कहाँ र कसलाई बोधिचित्त बेचे भन्नेबारे अनुसन्धान प्रहरीले गरिरहेको छ।
प्रहरीले उनीहरूको आपराधिक पृष्ठभूमि पनि पनि हेर्ने काम गरिरहेको छ। अन्यत्र पनि चोरी भएकाले घटना हुनसक्ने भएकाले त्यहाँ पनि उनीहरूकै संलग्नता छरछैनबारे पनि अनुसन्धान भइरहेको डिएसपी त्वातीले बताए।
जिल्ला अदालत काभ्रेबाट निजहरुलाई चारदिन हिरासतमा राख्न विहिबारै अनुमति दिएको बताइएको छ ।