
गीत
शशीश्री आचार्य
भेटको त्यो साँझ
परेलीको जून झर्यो, तिमी हाँस्यौ झन् मिठास,
वियोगको धून भुलें, भेटको त्यो एक साँझ।
ओठको कुनाबाट बगेका थोरै हाँसोका फूल,
मनको उज्यालो बने, स्मृतिका सुन्दर हुल ।
तिमीले भनेका शब्दहरू, सुस्त सुस्त स्मरण
मनको बाँसुरी रोइरहेछ भै तिमीमै समर्पण ।
तिम्रो स्पर्शको पल मनमा गडी गाढा भयो
तिम्रो समीप आउँदा आज सबै पीडा त्यसै गयो ।
नयनमा तृष्णा झल्कियो, ओढेर प्रियको झझल्को,
स्मृतिका गन्धहरू आए, स्मरण गराए त्यो पल्को ।
छेक्न सकिन आँसु, तर हाँसो पनि संगै आयो
सँघारमा जून टाँसेझैँ भाग्य आज मुस्कायो।
भोलिको थाहा छैन, वियोगको कथा छ फेरि
तर आजको साँझ भने अमर बनोस् तिमीलाई हेरि ।
परेलीको जुन झर्यो,तिमी हाँस्यौ झन् मिठास
वियोगको धुन भुले, भेटेको त्यो एक साँझ







