
निबन्ध
जीवन : हर्ष र विष्मातको संयोग
ज्ञानेन्द्र विवश
मान्छेको जीवनमा दुःख कहाँ रोएर बसेको हुन्छ । सुख कहाँ हाँसेर बसेको हुन्छ । कसैलाई थाहा हुँदैन । कुन बेला के हुन्छ त्यो कुरा पनि कसैलाई थाहा हुँदैन । अहिलेको भेट फेरि हुन पनि सक्छ । यही भेट नै अन्तिम बन्न पनि सक्छ ।
वास्तवमा जीवन, हर्ष र विष्मातको संयोगमा हुन्छ । खुशी र दुःखको दोसाँधमा हुन्छ । जन्म र मरणको माझधारमा हुन्छ । कसैले अहम् नगरे हुन्छ । कसैले मपाइत्व नदेखाए हुन्छ । यहाँ कोही अजर र अमर छैन । सदा बाँचिरहने यहाँ कोही पनि छैन । बरु मरेर बाँच्नेहरू छन् । बाँचेर सदा बाँचिरहन्छु भन्नेहरूको भनाइ कहिल्यै सत्य हुँदैन ।
त्यस्तै आफ्नो प्रिय लक्का जवान २५ वर्षीय छोरासँग अन्तिम भेट भइदियो प्रिय साहित्यकार प्रदीप सापकोटाको जीवनमा ! कतिपय घटना र घाउहरूले जीवनमा नराम्रो आघात पु¥याउँछन् । कहिल्यै निको नहुने चोट पार्छन् । तिनलाई न त बिर्सन सकिन्छ । न त सम्झेर सम्झनाका यादहरूमा वर्तमान बनाउन नै सकिन्छ । न बिर्सेर निष्ठुर बनी मन र मुटुलाई चट्टानझैं कठोर पार्न नै सकिन्छ । धैर्य अपनाउनु र आफूले आफैंलाई सम्हाल्नु नै यतिबेला ठूलो कुरा हुन्छ ।
यौटा सुन्दर र सुखी घरपरिवारमा अनायासै निष्ठुरी काल पसेर आँसुको पोखरीमा डुबाइदिँदा मन कति भक्कानिन्छ ? हृदय कति आत्तिन्छ ? मुटु कति कम्पायमान हुन्छ ? बेहिसाब जीवन–घाममा दिनदहाडै अन्धकार छाउँछ । सापकोटा परिवारको घरमा पनि रोएर रुनै नसकिने, सम्झाएर सम्झाउँनै नसकिने, अविश्वास गरेर विश्वास गर्ने नसकिने । कस्तो अपठ्यारो र अलछिनी काल पल्किएको ? जहाँ हाँसो र खुशीलाई च्वाट्ट लुछेर सदाका लागि लगिदियो । हर्ष र विष्मातको दोसाँधमा पु¥याइदियो ।
यस्तो लाग्छ मानौँ हाम्रो मानव जीवन शोक, समवेदना र श्रद्धाञ्जलीका आँसुहरूमा सीमित छ । केही समयका लागि पाहुना भएर आएका हामी कुनै दिन सुटुक्क कसैलाई थाहै नदिई, कसैलाई सोध्नै नपाई वा भनौ आफैंलाई पनि रत्तिभर थाहै नभई हामीले परमधामको बाटो प्रस्थान हुनैपर्छ ।
यस्ता अप्रिय घटनाहरू कसैको जीवनमा पनि कहिल्यै नआइदिए हुन्थ्यो जस्तो लाग्छ । तर के गर्नु मानिसको जीवन हो जन्मसँगै मरणको भाग्य लिएर आएका हामी । एकदिन सबैले बाँचिरहेको जीवनको प्रिय पलहरूलाई छोडेर अनायासै र अप्रत्यासित त्यो अदृश्य लोकमा जानैपर्छ । यसरी हामी कहाँ जान्छौं ? के हुन्छौं के गर्छौं ? त्यसको कुनै अत्तोपत्तो कसैलाई हुँदैन ।
आखिर जीवन केही होइन । यो त केवल एउटा यात्रा हो, जहाँ हामी अनन्त क्षितिजको खोजीमा दौडिरहन्छौँ । कहिले खुशीका गीत गाउँदै त कहिले पीडाका धुनमा हराउँदै । एउटा यस्तो यात्रा, जसको गन्तव्य अज्ञात छ र जसका बाटाहरू अनिश्चित गतिले भरिएका छन् ।
हामी जन्मिन्छौं, हुर्कन्छौं, हाँस्छौं, रुन्छौं, माया गर्छौँ र घृणा गर्छौं । सम्बन्धका तानाबानामा जेलिन्छौं, सपनाका महलहरू बनाउँछौं र यथार्थको कठोर धरातलमा बज्रिन्छौं । हामी दौडिरहन्छौं, निरन्तर केही पाउनका लागि, केही बन्नका लागि । तर अन्त्यमा के हुन्छ ? के हामीले खोजेको कुरा साँच्चै पाउँछौं ? वा ती सबै प्राप्तिहरू केवल क्षणिक भ्रम मात्र हन् ?
जीवन एउटा बगिरहेको नदीजस्तै हो । यो निरन्तर अगाडि बढिरहन्छ, कहिल्यै नरोकिने गरी । यसले पहाडका चट्टानहरूलाई छिचोल्दै, मैदानका फाँटहरूलाई सिँच्दै र समुद्रमा गएर विलिन हुन्छ । जसरी नदीको पानीले अनेकौँ रूप लिन्छ ।
त्यसैगरी जीवनले पनि अनेकौँ मोडहरू लिन्छ । कहिले शान्त, कहिले उर्लिएको, कहिले सफा, कहिले धमिलो । तर आखिरमा, त्यो सबै पानी समुद्रमा मिसिएर आफ्नै अस्तित्व गुमाउँछ । के हाम्रो जीवन पनि त्यसरी नै एउटा अनन्त शून्यमा विलीन हुने यात्रा मात्र हो ?
हामीले देखेका सपनाहरू, भोगेका अनुभवहरू, जोडेका सम्बन्धहरू– यी सबैको अर्थ के हो त यदि जीवनको अन्त्य ‘केही होइन’ मा गएर टुंगिन्छ भने ? शायद अर्थ जीवन आफैँमा होइन । बरु यसलाई जिउने तरिकामा छ । हरेक सास, हरेक पल, हरेक सम्बन्धलाई गहिरिएर महसुस गर्नुमा छ । सुन्दरतालाई देख्नुमा, प्रेमलाई बाँड्नुमा, पीडालाई स्वीकार गर्नुमा छ ।
जीवन केही होइन, तर यही ‘केही होइन’ भित्र नै अथाह सम्भावनाहरू लुकेका छन् । यो खाली क्यानभास जस्तै हो, जहाँ हामी रङहरू भर्न सक्छौँ, आफ्नै कलाकृति सिर्जना गर्न सक्छौँ । यो एउटा मौन संगीत जस्तै हो, जहाँ हामी आफ्नै धुन भर्न सक्छौँ । आखिर जीवन केही होइन, तर यही ‘केही होइन’ लाई हामीले ‘केही हो’ बनाउन सक्नुपर्छ । त्यो हाम्रो हातमा छ । यसलाई एउटा अर्थपूर्ण अनुभव बनाउने वा केवल समयको एउटा निरर्थक प्रवाहमा बगेर जाने ।
शायद जीवनको अन्तिम सत्य यही हो कि यो ‘केही होइन’ भन्ने बोध नै जीवनलाई अझ गहिरिएर बुझ्न र यसका हरेक पललाई मूल्यवान ठान्न हामीलाई प्रेरित गर्छ । किनकि जब हामी स्वीकार गर्छौँ कि जीवन क्षणभंगुर छ र यसको कुनै निश्चित भौतिक अर्थ छैन, तब मात्र हामी यसका अमूर्त सुन्दरताहरूलाई देख्न सक्छौँ– सम्बन्धको न्यानोपन, प्रकृतिको शान्ति, कलाको प्रेरणा महसुस गर्न सक्छौं ।
तसर्थ, आखिर जीवन केही होइन भन्ने भावनाले हामीलाई निराशातिर होइन । बरु कृतज्ञता र वर्तमानको महत्व बुझाउनेतर्फ डो¥याउन सक्छ । हामी सबै यस्तो पीडादायी घडीमा मौन छौं । चुपचाप, निःशब्द र स्तब्ध छौं । के बोल्नु, के नबोल्नु ? के गर्नु, के नगर्नु ? जीवनको कुनै भरोसा, ठेगाना र अस्तित्वकै टुंगो नभएपछि …! जीवन हर्ष र विष्मातको दोसाँधबाट गुज्रिन बाध्य छ ।
हार्दिक श्रद्धाञ्जली ! हार्दिक समवेदना !







