
काठमाडौ ।बरिष्ठ कथाकार माया ठकुरीको ७७ औं जन्मोत्सव कथा यात्राका यात्रीहरूले ठकुरीको ललितपुर धोविघाटस्थित निजी निवासमा असार १९ गते कथाकारको कथनी श्रवण गरी मनाए ।
उक्त अवसरमा कथाकार ठकुरीले आफ्नो यथार्थ र अनुभूतिहरू मिश्रित कथा पचास वर्षपछिु रोचक पारामा वाचन गर्नु भएको थियो ।
त्यस अबसरमा नेपाली आख्यानको माध्यामबाट नारी संवेदनाका विविध रूपको चर्चा गर्ने कथाकारको कथनीमा ठकुरीले आफ्ना दुखदायी बाल्यकालका स्मृति, कथा लेखन र प्रकाशनको प्रारम्भ अबस्थाका संघर्ष, कथा लेखनमा प्रेरणा र प्रभावको सिलसिला कथा लेखनमा प्राप्त स्थान र पाठकहरूको मायाको फेहरिस्त सुनाउनु भएको थियो ।
कथाकार ठकुरीले आफ्नो बाल्यकल र युवा अवस्था भारतीय भूमि शिलोङ्गमा बिताएको र त्यहाँको नेपाली सङ्गीत कला समितिबाट भेटिएका गोपीनारायण प्रधान, डि़आर सुब्बा आदिको प्रभावका कारण साहित्यमा प्रवेश गर्दै आफ्नो कथा यात्राको शुरूआत गरेको स्मरण सहित कथाकार सङ्गीनीद्वय पद्मावती सिंह र भागिरथी श्रेष्ठसँगको साहित्यिक दोस्तीको प्रेमील स्मरण गर्दै गुञ्जनले नेपाली साहित्यमा पुर्याएको योगदानको पनि कथाकारको कथनीमा व्यक्त गर्नुभयो ।

उपन्यास अनन्त यात्रा हो भने कथा एउटा सुन्दर बगैँचा हो भन्ने धारणा राख्नु हुने माया ठकुरी बगैँचाकै विविध फूलहरूलाई नै कथाको विषय बनाई कथामा रमाउनु हुन्छ । नजुरेको जोडी कथालाई वि़.सं.२०३० सालमा सार्वजनिक गरी नेपाली साहित्यको कथा क्षेत्रमा प्रवेश गर्नु भएको ठकुरीका आमा जानुहोस्, प्रियंवदा, माया ठकुरीका कथाहरू नामक कथासंग्रहहरू प्रकाशनमा आएका छन् । ठकुरीका कथाहरुमा समाज र वस्तुलाई अति यथार्थको नजिकबाट लेख्ने स्वभाव रहेको छ ।
कथा यात्राले प्रत्येक महिना एक सिद्धहस्त कथाकारको जन्मोत्सव मनाउँदै कथाकारको कथनी श्रवण गर्ने कार्यक्रमको थालनी गरेको छ । यही बैशाख महिनाबाट आरम्भ गरिएको कथाकारको कथनीको यो तेस्रो कदमका कथा यात्रीहरूमा दीपक लोहनी, प्रमोद प्याकुरेल, डा. हिमलाल श्रेष्ठ, कुमार काफ्ले, विश्व कुइकेल, हरिश कल्पित र पवित्रा अधिकारी रहेका छन् ।
उक्त कार्यक्रममा एकअर्काका कृति हस्तान्तर गरिएको थियो । कथाकार हरिश कल्पितका अनुसार उनले आफ्नो कथा कृति ग्राबियले पनि कथाकार ठकुरीलाई हस्तान्तरण गरेका थिए,भने ठकुरीले आफ्नो इन्द्रधनुष हस्तान्तरण गरेकी थिइन ।








