
धूलिखेल,काभ्रे । पूर्वमन्त्री माननीय गोकुल बास्कोटाले कानूनी राज्यमा वितण्डा सह्य नहुने बताएका छन् ।
“एकदिन उनलाई प्रदर्शन गर्न छुट दिंदा जिउँदै सञ्चारकर्मी जलाएका छन् । मान्छेका घरहरु जलाएका छन् । सरकारले खुट्टा नकमाइ कानूनी कार्य गर्नुपर्दछ । जनता साथमा छन् । अब ज्ञानेन्द्र शाहको वितण्डालाई अन्तिम विलय गर्नुपने बेला भएको छ ।”
अठार वर्ष अगाडिको कुरा स्मरण गर्दै उनले भने -“जननेता मदन भण्डारीले यहि ठाउँमा फेरीपनि प्रतिगमनको खतरा छ त्यो खतरा अरु कोही कसैबाट होइन अहिलेका अधिराजकुमार ज्ञानेन्द्र शाहबाट हुनेछ भन्नुभएको थियो। त्यो उहाँको दुरदर्शितापूर्ण अभिव्यक्ति ज्ञानेन्द्रको व्यवहारबाट प्रष्ट भएको छ। उनले भिजिलान्तेहरुको तन्त्र हामीले देखिसकेका छौं भन्दै निरंकुश राजतन्त्र हुँदा कानून र संविधान मिचेर अन्याय र अत्याचार गरेको छ। कैयन छोरीचेलीको जिन्दगी बर्वाद गरेको भन्दै “मयुरको प्वाँख टाउकोमा राजमुकुट बनेर सदैव रहन नसक्ने कुरा ज्ञानेन्द्रले बुझ्न आवश्यक भएको”कुरामा बास्कोटाले जोड दिए ।
उनले अगाडि भने -“पृथ्वीनारायण शाहको खलक हुनासाथ प्रत्येक तस्कर,हत्यारालाई राजा मान्न जनता तयार हुँदैनन् । जनताले बोल्न,लेख्न र सभा संगठन गर्न नपाएको कुरा जनताले भूलेका छैनन्।” पञ्चायती प्रेतात्मा चिहानमा गाडिने बताउँदै जनता इतिहासका निर्माता भएको कुरा नभुल्न बास्कोटाको पूर्वराजालाई चेतावनी थियो ।।
उनले गंगा उल्टो बग्दैन् जहिल्यै सुल्टो बग्छ भन्दै उनले राजतन्त्र फर्कने कल्पनासम्म नगर्न चूनौति दिए ।नबराज सुवेदीप्रति लक्षित गर्दै पितृ बन्न लागेका मान्छेलाई उचालेर राजतन्त्र फर्काउन लागेको भन्दै फेरी पनि शान्तपूर्वक आफ्नो ठाउँमा बस्न पूर्वराजालाई चेतावनी दिए । उनले पूर्वराजाका हैसियतमा पाएका सुविधाहरु राज्यले खोस्नुपर्ने बताए ।
नेकपा एमालेद्धारा काभ्रेको धूलिखेलमा आयोजित संघीय लोकतान्त्रिक गणतन्त्रको पक्षमा भएको वृहद् जागरण सभामा सम्बोधन गर्दैै एमालेका पोलिटव्यूरो सदस्य समेत रहेका बास्कोटाले उक्त कुरा बताएका हुन् ।






