
लघुकथा
सहानुभूति
गंगा खड्का
‘ढिलै भए पनि घैँटामा घाम लागेछ क्यारे ! त्यही भएर त बुबाको अन्तिम अवस्थामा दुबै दाजुभाई टुप्लुक्क आइपुगे।’
‘सन्तान भनेका सन्तान नै हुन् । बिचरा ! शंकरको दागबत्ती दिन अरुलाई त गुहार्न परेन नि ।’
‘हो नि ! शंकरले केही दिन भए पनि छोराहरूसँग बस्न त पाए नि।’
गाउँभरि शंकरको असामयिक निधन भएको दिनमा यस्तै चर्चा चल्यो ।
शंकरको लास जलाउँदा चिताबाट निस्किएको धुवाँसँगै रङ्बङ्गिएको उनको आत्माले चाहिँ गाउँलेप्रति सहानुभूति देखाउँदै थियो-‘बिचरा गाउँलेहरु !मेरा छोराहरू सम्पत्तिको बाँडफाँड गर्न र आमालाई वृद्धाश्रमको जिम्मा लाउन आएका कुरा थाहा नपाएर यसो भनेका होलान् ।








