
काठमाडौं । उपराष्ट्रपति रामसहायप्रसाद यादवले आँखाको उपचारमा नेपालका अस्पतालहरूले निकै फड्को मार्दै गएको बताउनुभएको छ । रामकुमार महावीरप्रसाद केडिया आँखा अस्पतालको स्वर्ण महोत्सवको आज यहाँ उद्घाटन गर्दै उहाँले आँखाको उपचार क्षेत्रमा फड्को मार्नु यस क्षेत्रका लागि मात्रै नभएर सिङ्गो मुलुकको लागि गौरवको विषय भएको बताउनुभयो । यादवले सोमबार अस्पतालको स्वर्ण महोत्सवको अवसरमा निर्माण गरिएको दृष्टि स्तम्भ र अस्पतालको नयाँ प्रस्तावित भवनको शिलान्यास पनि गर्नुभयो ।
“केडिया आँखा अस्पतालले मधेस मधेशमा मात्रै नभई बागमती र छिमेकी मुलुकका जनतालाई पनि गुणस्तरीय स्वास्थ्य सेवा प्रवाह गर्दै आइरहेको छ”, उपराष्ट्रपति यादवले भन्नुभयो, “दक्ष जनशक्तिबाट मधेश प्रदेशको बारा र पर्सा जिल्लाका बासिन्दा प्रत्यक्ष लाभान्वित हुने उद्देश्यको साथ सञ्चालित यो अस्पतालमा पछिल्लो समय बागमती प्रदेशको मकवानपुर, मधेश प्रदेशको रौतहट र सर्लाहीको पश्चिम भेग तथा छिमेकीमूलक भारतको विहार र उत्तर प्रदेशका जनसमुदायलाई पनि जनसेवा प्रवाह गर्दै आएको खुसी व्यक्त गर्दछु ।”
उपराष्ट्रपति यादवले क्षेत्रको महत्त्वपूर्ण हिस्सा रहेको यो अस्पतालले आफ्नोे स्थापनाकालदेखि आँखा उपचारमा उच्चस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउँदै आइरहेको छ”, उहाँले भन्नुभयो, “समयानुकूल आँखा अस्पतालको सेवा पनि विस्तार गर्दै आइरहेको छ । आगामी दिनमा अझै गुणस्तरीय आँखाको उपचार सेवा प्रदान गर्न अनुरोध गर्दछु ।” उपराष्ट्रपति यादवले आँखा अस्पताललाई मुलुकै नमुना अस्पतालको रूपमा विकसित गर्नका लागि पनि अनुरोध गर्नुभयो ।
रामकुमार महावीरप्रसाद केडिया आँखा अस्पतालका अध्यक्ष राजेशकुमार केडियाले ५० वर्षअघि वीरगञ्जको लोहारपट्टीमा पाँच श्ययाको आँखा अस्पताललाई अहिले एक सय ७५ श्ययाको सुविधासम्पन्न अस्पतालको रूपमा विकास गर्न सकेको बताउनुभयो ।
सोही अवसरमा स्वर्गीय हीरालाल केडिया सम्मानबाट प्रा. डा. सुनु दुलाल सम्मानित हुनुभएको छ । रू दुई लाख ५१ हजार एक सय ५१ नगद पुरस्कारसहित सम्मान गरिएको थियो । त्यसैगरी दृष्टिविहीन बालबालिका तथा शारीरिक रूपमा अशक्त भएकालाई नगदसहित ह्विलचेयन पनि प्रदान गरिएको थियो । नेत्रज्योत्ति सङ्घका अध्यक्ष प्रा डा चेतराज पन्त, प्रा. डा. देवनारायण साहले अहिले नेपालको आँखाको उपचार प्रबिधिमा निकै राम्रो सुधार भएको बताउनुभयो ।








