
मनका भावनाहरू
रीतादेवी प्रधान (जोशी)
तरङ्गित मनको सप्तरङ्गी प्रकाशमा
डुबुल्की मार्न खोज्दा
आफैले आफैलाई सम्हाल्न नै सकेन
माकुराको जालजस्तै
मनको तरङ्गित जालमा
अल्झिंदै गएँ, अल्झिंदैं गएँ
जालमा अल्झिँदा निसासिनु पर्ने
तर
म त जति जति अल्झिएँ
त्यतित्यति रोमाञ्चित हुँदै गएँ ।
तिम्रो स्पर्शले छोएको हावाले
तरङ्ग फैलायो मेरो अङ्ग अङ्गमा
ल्यायो ज्वारभाटा मेरो हृदयमा
डराएँ “म” कसरी रोकूं
ती ज्वारभाटालाई ।
कर्के हेराईको वाणले
चस्सचस्स बिझ्यो मेरो मन
त्यो बिझाइको प्रभावले
प्रेमातरङ्ग भयो मेरो स्थूल शरीर ।








