
चर्चामा पुस्तक
काउले
सुदुर पश्चिमको भूगोल,समाज र संस्कृतिलाई आधार बनाई साहित्यिक सिर्जना गर्ने प्रदीप जैसीको प्रयास उपन्यासमा देखिन्छ । अछामी समाज र त्यहाँको संघर्षको कथा उपन्यासमा उधिनिएको छ । त्यहाँका समुदायका युगीन पीडाहरु,भोगाइलाई स्मृतिबिम्बको रुपमा बर्हिर्याईएको छ । उपन्यासका पात्रहरुको चयन र तिनका भाषा सबै अछामी समाजका लाग्छन् । जीवनदृष्टि र जीवनका जीजीविषालाई सुन्दर रुपमा लेपन गरी उपन्यास बनेको छ । त्यहाँका सांस्कृतिक पक्षहरुको समेत सुन्दर संयोजन छ ।
त्यहाँका दुर्गम समाजका दैनिकीका नियतीहरु उपन्यासले चित्रण गरेको छ । अभाव र संघर्षका कथाहरु भनेको छ । कर्णालीमा राज्यको उपस्थितिको अवस्थालाई मर्मस्पर्शी भावमा व्यक्त गरिएको छ । त्यहाँका समुदायका बालबालिकाहरुका अभावका कथाहरु छन् । जीवनका अवयवहरु र उतारचढावहरु छन् । यति भएपछि भन्न सकियो सूदुर दुर्गमका जनताका यावत समस्याहरुले उपन्यास भरिएको छ ।उपन्यासका सम्वाद स्थानीय भाषामा भएकोले अन्यत्रकालाई भाषिक कठीनाई पर्न सक्छ ।
झट्टै हेर्दा आञ्चलिकता पाइन्छ । उपन्यास कलात्मक छ । स्थानीय भाषाशैली प्रयुक्त छ ।
काउले उपन्यासलाई भुँडीपुराण प्रकाशनले प्रकाशित गरेको हो । यसको मूल्य रु.७५०। रहेको छ ।
अनौठो माकुरो
लेखक,कथाकार तथा सञ्चारकर्मी गोपीकृष्ण ढुंगानाको नविनतम् बाल उपन्यास जसमा रहस्य,साहस र मित्रताको अद्भूत यात्रा पढ्न सकिन्छ । बालमनोविज्ञानलाई मजैले खिपेको छ उपन्यासले ।बालबालिकाको कल्पनाशीलता,जिज्ञासा र नेचरभित्रका अनौठा पाटाहरु खोतलेर राख्न्न सफल छ बाल उपन्यास ।
रहस्यमयी र कौतुकमय कृतिले बालबालिकाहरुलाई पठनसँग आकर्षण गर्ने सामाथ्र्य राख्छ । उनीहरुको सिर्जनात्मक सोचलाई अझै गहिरो पार्न मद्धत गर्छ । बालबालिकाको कोमल मन,तिनका मनका अनेकौँ जिज्ञासा,काल्पनिक संसार,अनौठो प्रकृतिको माकुरा पात्र, जस्ता कुराहरु कथानक बनेर आएका छन् । कृतिले बालबालिकालाई प्रकृति र पर्याप्रेमतर्फ पनि डोर्याउन सक्छ ।
बालमैत्री भाषाशैली,रोचक संवाद,बालसुलभ जिज्ञासा पैदा गर्ने बाल उपन्यास देखिन्छ । बालबालिकाको बौद्धिक विकास र सिर्जनात्मक सोचमा परिवर्तन ल्याउने शिक्षाप्रद छ कृति ।
अनौठो माकुरोलाई इटर्नल पब्लिकेसन प्रा.लि.ले प्रकाशनमा ल्याएको हो । यसको मूल्य रु.२७५। रहेको छ ।
प्रश्न ?
रेखा यादव निर्झरको कथासङ्ग्रहभित्र विभिन्न बाईस शिर्षकमा शिर्षकृत कथाहरु छन् । प्रायकथाहरु समाजका विकृति,विसङ्गतिलाई विषयवस्तु बनाई लेखिएका छन् । नारीका पीडा,व्यथा र सङ्घर्षका कथा छन् । विषमता र असमानताबीच नारीहरुको चत्रिण चित्रण गरिएको पनि छ । डिजिटल युगलाई विषय बनाई तिनका माध्यमबाट सम्पर्क र सम्बन्ध जोडिएका नाताका कथा छन् । देश र समाजमा छोरीले पनि योगदान गर्न सक्छन् भन्ने सन्देशप्रद कथाहरुले पनि कथाका स्थानहरु छन् । अल्पसंख्यकका विषयले पनि कथा बुनिएका छन् ।
कथाहरु सकारात्मक भाव र चेतयुक्त छन् । कतै डायरी जस्तो कतै स्मृतिबिम्ब जस्तो पनि लाग्छन् कथाहरु । प्रेम सम्बन्धका विषयले पनि स्थान पाएका छन् । जातिय विभेद,हिंसा लगायत अन्य मानवीय समस्याहरुप्रति जिम्मेवार भएर यादवले कथा कोरेकी छिन् । हाम्रा समाजका यावत विकृतिहरु कथाका विषयवस्तु बनेर आएका छन् । कथाका पात्रहरु यहि समाजका उपज देखिन्छन् । भुइँमान्छेका पीडाहरुले संवेदनशील कथाकारले तिनका भोगाइका कथा पनि लेखेकी छिन् ।
आयामका दृष्टिले कथाहरु मध्यम आयाममा आएका छन् । भाषा सरल,सहज छ । कथाहरु नेपाली भाषामा मात्र नभएर हिन्दीमा पनि राखिएको छ ।
प्रश्नलाई बलराम महतोले प्रकाशनमा ल्याएका हुन् । यसको मूल्य रु.५०१। रहेको छ ।







