
समस्त प्राणी प्रतिको असीमित करुणा र सद्भावले गर्दा विश्वमा बुद्ध भगवानको उपदेश झन झन फैलदै गइरहेको छ । सत्य कुरा कसैले छोपेर छोपिदैन भन्ने कुरो बुद्धको उपदेश र जीवनीबाट स्पष्ट हुन आउँछ।
भगवानले परिहानी (विनाश) बाट बचाउन समस्त प्राणीलाई समान रूपले ज्ञान दिनु हुन्छ । यो सप्त अपरिहणीय धर्म पनि घर, परिवार, टोल, देश र राष्ट्र सवैलाई अपरहणीय (विनाश हुन नदिने) सात वटा धर्म बुद्धले बताउनु भएको छ । यो सप्त अपरिहणीय धर्म परिनिर्वाण सूत्रमा उल्लिखित छ । जीवनको – चरम उत्तरार्धमा दिएको बुद्ध भगवान्को अमूल्य उपदेश हो। भगवानको गुणानुस्मरणको रूपमा यहाँ प्रस्तुत गरिन्छ ।
सप्त अपरिहाणीय धर्म
एक दिन बुद्ध भगवान् राजगृहको गृद्धकुट पर्वतमा बिहार गरिरहनु भएको थियो । त्यस वेला मगध नरेश अजात शत्रुलाई लिच्छवि गणराज्यका वज्जिहरूसँग गंगाघाटमा आयात, निर्यातबाट हुने आम्दानीका विषयलाई लिएर अत्यन्त क्रोध र द्वेष ले उनीहरूमाथि आक्रमण गर्ने इच्छा मनमा उठ्यो । तर वैभवशाली,समृद्ध र गणतन्त्रात्मक देशसँग भिड्नु भनेको साधारण कुरा होइन । उनिहरुको विनाश कसरी गर्ने? यो चिन्ताले अजात शत्रुलाई अत्यन्त दुःखी तुल्यायो, मगध नरेश अजात शत्रुले आफ्नो महामन्त्री वर्षाकर ब्राम्हणसँग सल्लाह गरे। आजत शत्रुले भने – “वज्जि गणराज्यको विनाश गर्ने मेरो यो उत्कट इच्छा पूर्ण गर्न भगवान बुद्ध बाहेक अरुले अमूल्य सल्लाह दिन सक्दैन ।” अजात शत्रुले भनेको कुरा सुनेर वर्षाकर ब्राम्हण बुद्ध भगवान् कहाँ राजगृहमा पुगी भगवान लाई वन्दना गरी बिन्ती गर्नु,भयो – “हे भगवान महाराज अजात शत्रु वज्जिहरूको विनाश चाहन्छ। तर वैभवशाली र समृद्ध लिच्छवि (वज्जिहरू) लाई कसरी विनाश गर्ने ? यसवारे भगवान बुद्धले बाहेक गतिलो सल्लाह अरु कसैले दिन सक्दैन ।बुद्धको उपदेश कहिल्यै व्यर्थ जाँदैन भनी यसवारे भगवानको उपदेश लिएर आउ भनी मलाई पठाएको हो।”
अनि भगवानले सात वटा अपरिहाणीय (विनाश नहुने) उपायहरू) यसरी क्रमश उपदेश दिनु भयो –
वज्जिहरू हरेक काम कुरा सभा बैठक बसी सन्निपात (जम्मा भएर ) सर्वसम्मतिले निर्णय गर्ने हुन्छ । विना सरसल्लाह र सबैको अनुमति नभइकन कुनै काम, कुरोको निर्णय गर्दैन। सन्निपात भेरी बजाई सबैलाई बोलाउना साथ सभामा हाजिर हुन दौडेर आउनु उनीहरूको गणतन्त्र को विशेषता हो ।
(२) जब सम्म वज्जिहरूले सभागरी मिलीजुली सर्वसम्मतिले काम गर्ने गर्छन् तव सम्म वज्जिहरू (लिच्छवि गणराज्य)लाई कसैले विनाश गर्नुअसम्भव छ |
३), वज्जिकहरूले जब सम्म अप्रज्ञप्त (गैरकानूनी ) काम कुरालाई प्रज्ञप्त (कानूनी) भनेर भन्दैनन् र प्रज्ञप्त(कानूनी) कुरालाई उच्छेद (खण्डन र उल्लघन) गर्दैन तवसम्म वज्जिहरूको समुत्थान र उन्नति नै भइ रहन्छ। उनिहरुलाई कसैले विनाश गर्न सक्दैन ।
४) वज्जिहरू आफ्नो देशको वृद्ध र बुढापाकाहरूको गौरव र सुश्रूषा गर्छन्, उनीहरूको कुरा सुन्छन्, मान्छन् ।यसरी बुढ़ा पाकाहरूको सम्मान र सल्लाह सुन्छन्, त्यस्ता व्यक्तिहरुका विनाश हुनु असम्भव छ। ठीक त्यस्तै वज्जिहरूले वृद्ध बुढापाकाहरुको मान मर्यादा मात्र होइन गौरव र सुश्रुषा गरि रहेसम्म उनिहरुको विनाश सम्भव छैन।
५ ) वज्जिहरूले आफ्नो देशका महिला (कुल कुमारी वा कुल वधु )हरुलाइ सम्मान गर्छन् बलात्कार जस्तो जघन्य पाप गर्दैन र गर्नु दिँदैन तब सम्म वज्जिगण राज्यको विनाश हुँदैन ।कसैले उनीहरुको विनाश कहाँ सक्दैन |
६) वज्जि नगरको भित्र र बाहिरको जति पनि चैत्य चौतारा र देवस्थलहरु छन् अथवा परापूर्वकाल देखि देवताका रूपमा वन्दना गरि आएका देवस्थलहरू छन् ती सबै देवस्थलहरु र चौताराहरुको सुरक्षा ,संरक्षणको लागि दिँदै आएका आयस्ता (खर्चपर्च) रोकने र परम्परा लोप गर्दैन भने गणराज्यको विनाश हुँदैन। अवनति हुदैन बुद्ध भगवानको समयमा चैत्य चौतारा आदिलाई पूजा गर्ने सम्मान गर्न प्रचलन रहेछ भन्ने करो भगवानको यो उपदेशबाट स्पष्ट हुन आउछ |
७) बज्जिहरुले आफ्नो देशमा पाल्नु भएका अर्हत श्रमणहरुलाई पनि धर्मानुसार रक्षा गर्न हुन्छ । यसरी आफ्नो देशमा आएका अर्हत श्रमणलाई सेवा ,सुरक्षा दिई सम्मान गरे सम्म बज्जिहरूको विनाशसम्भव छैन । वरु ती अर्हत श्रमणहरु प्रति गरेको सम्मानले उनिहरूको कीर्ति फैलिन्छ |
यी सातै वटा अपरिहणीय धर्म मध्ये एउटा मात्र धर्मले पनि वज्जिहरूको मात्र होइन हामी सर्व साधारणको पनि विनाश सम्भव छैन । यदि यी सातै वटा धर्म उपदेश हामीले घर, घरमा मात्र होइन टोल टोलमा र देश एवम राष्टमा लागु गर्न सके हाम्रो घर, टोल र, देश स्वर्ग बन्छ। यसरी अपरिहाणीय धर्मद्वारा बुद्ध भगवानले गृहस्थीहरुलाई पूजा गर्न रोकेको छैन भनि बुझ्नन आवश्यक छ । त्यस्तै भगवानले पञ्चवलि, ज्ञाती वलि, अतिथि बलि , देव बलि, पूर्व प्रेतबलि र देश बलि वारे उपदेश दिदा देव बलि अर्थात पूजा, सामग्रीद्वारा देवताको पूजा गर्नु योग्य छ भनि भन्नु भएको छ । त्यस्तै पूर्व प्रेतबलि अर्थात आफ्ना मृत परिवारको श्राद्ध पनि गनुपर्छ भनि स्पष्ट बताउनु भएको छ । तर म्यानमार, थाइल्यान्ड, श्रीलंकाआदि देशहरुको संस्कृतिमा हामी कहाँ जस्तो पूर्व प्रेतबलि अर्थात् आफ्ना पितृहरूको श्राद्ध गर्ने चलन छैन र उनीहरुलाई यसबारे पनि थाहा छैन ।
यसरी भगवान्को मुखारविन्दुले नै उपदेश दिएको देवबलि, तथा देवस्थल, चैत्य ,चौतारी, पिपलवोट आदिको पूजा र पूर्व प्रेतबलि (दिवगत आफ्ना पितृहरूको) श्राद्ध गर्न रोकेको छैन भनि बुझ्नन आवश्यक छ तर घर छोडी प्रवज्जित भएका भिक्षु,भिक्षुणीहरू र अनागारिका हरुलाई यस्ताकार्य वाट टाढा बस्नुपर्ने बताएको छ तर उपासक, उपासिकार गृहस्थी (जातकर्ममा विश्वास गर्नेहरु)लाई परम्परा अनुसार गर्न पर्ने नियम बनाएको रहेनछ भनेर बुझ्ने पर्छ।
यदि कसैले निर्लज्ज भई नियम नमानेमा विनाश उनिहरुकै हुन्छ । हाम्रो होइन ।यो सप्त अपरिहाणीय (विनाशबाट बचाउने) धर्म (नियम) ले हामीलाई आफ्नो जीवनको समुत्थान वारे बुंदागत रूपमा बुद्धले बुझाउनु भएको छ। कुनै पनि वृद्धदेखि नौजवान सम्मले यो नियम (धर्म)पालना गर्छ भने उसलाई विनाश गर्न असम्भव छ । अतःअजातशुत्र लाई दिएको उपदेश सबैका लागि उपयोगी छ भनेर मनन गर्नु उचित छ ।
भवतु सर्वमङ्गलम् ।

