
काठमाडौँ । भारतीय विदेशमन्त्री एस जयशंकर अगस्टको अन्तिम साता नेपाल आउने भएका छन् ।
उनी प्रधानमन्त्री वालेन्द्र शाहलाई ब्रिक्स शिखर सम्मेलनको निम्तो दिन नेपाल आउन लागेका हुन् ।
१८औँ ब्रिक्स शिखर सम्मेलन सेप्टेम्बर १२(१३, २०२६ मा भारतको नयाँ दिल्लीमा आयोजना हुने तय भएको छ ।
भारतले यसअघि पनि ब्रिक्स शिखर सम्मेलनमा नेपालका प्रधानमन्त्रीलाई निमन्त्रणा गरेको थियो । भारतको निमन्त्रणामा तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड २०७३ असोजमा भारतमा आयोजित ब्रिक्स शिखर सम्मेलनमा सहभागी भएका थिए ।
संयोगले त्यतिबेला प्रचण्ड, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र चिनिया राष्ट्रपति सी चिनफिङ तीनजना बीच एकसाथ भेटघाट भएको थियो ।
यसपटक पनि भारतले प्रधानमन्त्री वालेन्द्र शाहलाई ब्रिक्स सम्मेलनमा सहभागी हुनको लागि निमन्त्रणा दिन लागेको छ । त्यसैको लागि भारतीय विदेशमन्त्री एस जयशंकर काठमाडौं आउन लागेका हुन् ।
ब्रिक्समा ब्राजिल, चीन, इजिप्ट, इथियोपिया, भारत, इन्डोनेसिया, इरान, रूस, साउदी अरेबिया, दक्षिण अफ्रिका र युनाइटेड अरब इमिरेट्स सदस्य छन् ।



