
पुराना पुस्तक
कृति : सह्रदयी स्वरहरु
विधा : संयुक्त कवितासँग्रह
कवि : अनन्तप्रसाद वाग्ले
छविरमण सिलवाल
रमेशप्रसाद सागर
कवित्रयको यो संग्रहमा कविताहरु गाउँ जतिक्कै सुन्दर छन् । मन जस्तै पवित्र छन् । पानी जतिक्कै निश्च्छल र निर्मल छन् । कवितामा आफु टेकेको माटोको सुगन्ध छ ।
कवि अनन्तप्रसाद वाग्लेका विभिन्न २० थान कविता छन् । उनका कुनै कवितामा जुलुस भेट्न सकिन्छ दार्शनिक र बैज्ञानिकहरुको ,कतै अधिकारप्राप्तिको लागि जीवनभर संघर्ष गर्न लागि परेका नेन्सन मण्डेला,गोञ्जालो आनि भेटिन्छन् । अनि हाम्रै देशका वादी वदिनीहहरुको अश्रुमिश्रित आँखामा केही अपेक्षा वोकेर टोलाइरहेका भेटिन्छन् । सँगै छन् वाइवल,गीता,त्रिपिटक र नमाजहरु बालेर बुद्धतिर हेर्दै अट्टाहास हाँसो पोख्ने हिटलरहरु । द्धन्दका कहालीलाग्दा तस्वीर पनि वाग्लेका कविताले प्रस्तुत गर्छन् । आशावादी जीवनदृष्टिका धनी कविता उनका विशेषता हुन् । वैचारिक रुपमा प्रगतिशील विचारले वलशाली लाग्छन् कविता । युद्धको विरोध र शान्तिको पक्षमा लाग्ने मानवतावादी चेतका कवि लाग्छन् उनी । कविताहरु गतिशिल छन् । आशावादी छन् । सकारात्मक सोचले सोच्न बाध्य पार्छन् ।
यस्तै अर्का कवि छविरमण सिलवाल सवैको सुखदुखको ख्याल गर्ने स्वभावका छन् । कवितामा त्यहि उनको स्वभावहरु झल्कन्छन् । कवितामा उनी इमान्दार भएर पोखिएका छन् । विभिन्न विषयका २० थान कविता यस कृतिमा परेका छन् । समयका राजनीतिक,सामाजिक,आर्थिक समस्याग्रस्त समाजका उपज लाग्छन् कविताहरु । जीवनका आरोह अवरोहहरु कवितामा मुखरित भएर आएका छन् । उनका कवितामा प्रेम प्रणय पनि विषय बनेका छन् । शहरिया जीवन र गाउँले जीवन वीचको तुलना पनि यहाँ छ । कवि ्स्वाभिमानी छन् त्यसैले आफ्ना कवितामा इमान्दारी भएर काम गर्नुपर्ने ठगि बेइमानी धन्दा गर्नु नहुनेमा जोड दिन्छन् । इमान,नैतिकतामा खडेरी परेको वर्तमान समाजको विद्रुप अबस्थाप्रति कविमन चिन्तित देखिएको छ । उनी जन्मेको माटोप्रति अगाध आस्था राख्छन् माटोको सम्मानमा कविता लेख्छन् ।
यस संग्रहका अर्का कवि हुन् रमेश सागर । कवितामा मष्तिष्क पोख्नसक्ने सामाथ्र्यका कवि । उनका २० थान कविता यस संग्रहमा परेका छन् । मानवीय सद्भाव,वेथिति विरुद्ध आक्रोशको ज्वार,सहभावमा जोड,यथार्थको सत्यापन,सरलता उनका कविताका विशेषता लाग्छन् । मान्छे हुनुको अस्तित्व मान्छेले बुझ्नुपर्नेमा उनको जोड छ ।
तीन जना कविका कविताहरु सरल,सुलोलित,बिम्बहरु प्रयुक्त छन् । उनीहरुमा अभिव्यक्तिको वेजोड सामाथ्र्य छ । क्लिष्टताबाट कोशौं दूर छन् कविताहरु ।
वि.सं.२०५९ मा सह्रदयी स्वरहरु प्रकाशनमा आएको हो ।
बिसे नगर्चीको बयान
विधा : कवितासंग्रह
कवि : श्रवण मुकारुङ
मातृभूमिको माटोको सुगन्ध छ कवितामा । सवै सबै भावहरुको सुन्दर अभिव्यक्ति छ । समाजको यथार्थता उजागर भएको छ ।पचपन्न वटा यस्तै विषयगत विविधताले भरिएका सुन्दर फूलरुपी कविताहरुको माला हो यो कृति । आम जनताको अधिकार हनन हुँदा त्यसको विरुद्धमा प्रतिकात्मक रुपले कोरिएको कविता हो शिर्षक कविता ।मानवीय संवेदना नबुझ्ने शासकप्रति लक्षित व्यँग छ कविताहरुमा । शिर्षक कविताका नायक हुन् २०६२ /६३को आन्दोलनमा होमिएको एक ऐतिहासिक पात्र । जो दास मनोवृत्तिबाट माथि उठाइएका छन् । यसमा वर्तमान राजनीतिक विसंगतिप्रति प्रहार गरिएको छ । पत्रकारको औचित्यमाथि प्रश्न छ । प्रेमिल मनको परिचय भएका कविता पनि छन् । युद्ध विरोधी कविता छन् । आम भुइँमान्छेको कथाव्यथा छ ।
कवि चेतको प्रष्टता कविताहरुले गर्छ्न् । बिम्बात्मक छन् । कविताहरु प्रतिकात्मक पनि छन् । विषयगत रुपमा विविधता बोकेका कविताहरु यस कृतिमा अटेका छन् ।
बिसे नगर्चीको बयानलाई साँग्रिला बुक्सले पहिलो पटक विंसं.२०६७ मा प्रकाशनमा ल्याएको हो ।
आँधीको आवेग
विधा : कवितासँग्रह
कवि : मनु मन्जिल
बिम्ब कवितामा चर्चित कवि हुन् मनु मन्जिल । बिम्बमा अनेक आयामले भरिएका कविताकृति हो यो आँधीको आवेग । कवितामा उनको मौलिक अभिव्यक्तिको तरिका स्तुत्य छ । अनुकरणीय छ । कविका मनका व्यक्तिगत अनुभूतिहरुको उत्ताल तरंगलाई कवितामार्फत प्रवाहित गर्ने सुन्दर र सार्थक प्रयास छ । सकारात्मक सोच र भावना कविताहरुमा उर्लिएर आएका छन् । यथार्थवादमा आएका छ्न् कविता । नविनतम अनुभूतिमा पस्केका छन् कविता । शब्द शब्दमा बिम्बको वाढी आएको छ । प्रतिक प्रधान छन् कविता । धेरै उपमाहरु जोडिएका छन् । उनी कवितामा इमान्दार बनेका छन् । कवितामा विचार बोल्छन् । मनको स्पन्दनमा कविता ओकल्छन् ।
मौलिक र असाध्यै सुन्दर बिम्बहरुको प्रचुर प्रयोग,मिठासपूर्ण अभिव्यक्ति,सृजनात्मक कौशलको सृँगारले भरिपूर्ण आँधीको आवेगलाई पहिलो पटक वाणी प्रकाशनले विं.सं.२०६२ मा प्रकाशनमा ल्याएको हो ।








