
लघुकथा
भेद
ईश्वर पोखरेल
सर्मिला छोरीको नाम । शरद छोराको नाम । हो; म कृष्णदाइकै जुम्ल्याहा सन्तानको कुरा गर्दैछु ।
कृष्णदाइको आर्थिक अवस्था राम्रो थिएन भन्ने हामी सबैलाई थाहै छ । तर एक लिटर दूध सधैं लिनुभयो । त्यसको ठूलो अंश शरदका लागि खर्च हुन्थ्यो । परिवारका लागि चिया फिका हुन्थ्यो; सर्मिला त्यही खान्थी ।
कृष्ण दाइले शरदका लागि बन्दुक किनिदिनु भयो, साइकिल किनिदिनु भयो । जेजे रहर ग¥यो; सबै किनिदिनु भयो । सर्मिलाले कि शरद कतै गएको समयमा आफ्नो रहर मेटी कि शरदले डाकेपछि खेली । लुगा किन्दा शरद पहिलो प्राथमिकतामा पथ्र्यो, मिठो पाक्दा पहिले शरदको भाग छुट्ट्याइन्थ्यो । शरदले सधैं बोर्डिंग स्कुलमा पढ्यो, सर्मिलाले सरकारी स्कुलमा । शरदले कहिल्यै स्कुलमा गएल हुनु परेन; घरमा कामको चाप परेका दिन सर्मिला स्कुल गइन । सर्मिला क्लासमा फस्ट र शरद क्लासमा थर्ड भएको वर्ष कृष्णदाइ त्यति खुशी देखिनु भएन; जति शरद फस्ट र शर्मिला थर्ड हुँदा देखिनु भएको थियो ।
गरीव परिवार हुन्छ कि व्यक्ति ? कृष्णदाइको परिवारका दुई अभिन्न सदस्य ः शरद र सर्मिला । शरदले गरिवी चाख्नै परेन; सर्मिला गरिबीमै अभ्यस्त भई; कहिल्यै बाहिर आइन ।








