
किवाहाङ
राजकुमार राईको यो उपन्यासमा द्धितिय विश्वयुद्धपछिको पूर्वी नेपालको सँखुवासभादेखि हङकङ,मलेसिया,सिङ्गापूर,ब्रुनाई एवं बेलायतसम्म ब्रिटिस गोर्खाहरुले भोगेका दुखपीडाका कथाहरुलाई जीवन्त बनाएर लेखिएको छ । यसमा गोर्खाहरुकै रकमबाट नेपालका उतिबेलाका दरबारहरु निर्माण भएको समेत उल्लेख गरेका छन् ।
उपन्यासमा पात्र चयन र कथानकताको गजबको मेल रहेको छ । यसैले उपन्यास पठनीय छ । यसमा गोर्खाको इतिहास सही तरिकाले नलेखिएकोमा उपन्यासकार चिन्तित भएको देखिन्छ । किराँती सभ्यताको झलक पनि मज्जैले उपन्यासमा आउँछ । नेपालीहरुको पहिलेको लाहुरे परम्परालाई मज्जलै जानकारी राख्न सकिने कथामा आधारित भएर उपन्यास लेखिएको छ । उपन्यासको नायकबाट उपन्यासको नामाकरण गरिएको छ ।
यसमा नेपाली लाहुरेहरुको साठी वर्षको इतिहासलाई आधार बनाएर लेख्न खोजिएको देखिन्छ । सबै खाले भौतिक सुखसुविधा पाएको मुख्य पात्र किवाहाङ मातृभूमिको मायाले पग्लिएर ती सबै बैभव त्यागेर स्वदेश फर्कन खोजेको सकारात्मक सन्देश दिने कथामा उपन्यास छ । व्रिटिस गोर्खाहरुको कथामा आधारित किवाहाङ उपन्यासलाई साब्जाबुङ पुस्तकालय अभियानले प्रकाशित गरेको हो ।
धोबीघाट मेलोडी
मानव जीवनको अनुभवहरु गहिराईमा गएर खोतल खातल गर्न मुकुन्दराज शर्मा सिपालु देखिएका छन् । धोबीघाट मेलोडी यस्तै खोतलखातलभित्र रहेका निबन्धहरुको गहिरो इनार बनेको छ । असाध्यै मीठो गद्यशैलीमा लेखिएका विभिन्न दुईदर्जन निबन्धहरु यसमा परेका छन् । आफ्ना मनका गुम्फनहरुलाई कुशल शब्दशिल्पीद्धारा खिपेर लेखिएका निबन्धहरु कवितात्मक लाग्छन् । निबन्धमा उनको अन्तरदृष्टि पनि गंभीर भएर प्रष्फुटन भएको छ । उनका निबन्धहरु नीजात्मकताले भरिएका छन् ।
उनी पाठकलाई मज्जैले तानेर लान सक्छन् । कवितामा प्रयुक्त हुने बिम्बात्मक निबन्धहरु सुन्दरतम छन् । निबन्धको अग्लाईमा चुलिएका छन् । भावको गहिराईमा गडेका छन् । समयका बाछिटाहरुले दृष्टिगोचर गरेर मनको आँखाले देखेका कुराहरुमा निबन्ध बुनिएका छन् ।
समसामयिकताले भरिएका,युगबोधले परिपक्वतापूर्ण बनाएर कोरिएका निबन्धहरु सरल अभिव्यक्तिमा व्यक्तिएर आएका छन् । सन्देशले सुसज्जित,विषयवस्तुप्रतिको गाम्भिर्यताले भरपूर, सुस्वादु निबन्धहरु पारखीलाई मन नपर्ने कुरै भएन्
धोबीघाटको मेलोडीलाई कामना न्यूज पब्लिकेसन्सले हालै बजारमा ल्याएको हो ।
समकालीन नेपाली निबन्ध
बरिष्ठ निबन्धकारद्धारा श्रीओम श्रेष्ठ रोदनद्धारा सम्पादन गरिएको आत्मपरक निबन्धहरुको सुस्वादु पुस्तक हो समकालीन नेपाली निबन्ध । यसमा बरिष्ठ निबन्धकार तेजेश्वरबाबु ग्वंग:देखि कनिष्ठ निबन्धकार अनिता न्यौपानेसम्मका निबन्धहरु अटेका छन् । लामा छोटा गरी पैतालीसवटा निबन्धहरु समावेश गरिएको यो कृति नेपाली निबन्ध साहित्यमा महत्वपूर्ण छ । विशेषत :फरक फरक स्वादका आत्मपरक निबन्धहरु यसमा पढ्न पाइन्छ ।
जीवन र जगतका विविध पक्षहरु यसमा छन् । द्धन्दकालीन नेपाली समाजको विद्रुप अबस्था चित्रित निबन्ध छन् । वर्तमान समसामयिक परिस्थितिमा देखिएका विकृति र विसँगतिहरुको प्रत्यक्ष र अप्रत्यक्ष असरहरु सरल र काव्यात्मक शैलीमा लेखिएका छन् । निबन्धकारहरुका अनुभव र अनुभूतिहरुको बेजोड भावहरु पस्किएर लेखिएका कतिपय निबन्धहरु काव्यचेतले भरिएका छन् । विचारको गंगा सलल बगेको छ कतिपय निबन्धमा ।
ग्रामिण समाजको परिचर्चा भएको छ शहरले गाउँ निलेको कुरा छ । शहरीयाहरुको पीडा छ । जीवनप्रतिको व्यापक चिन्ता जाहेर गरिएका निबन्ध पनि यहाँ छन् । विभिन्न दर्शन र वादवाट प्रभावित भएर लेखिएको निबन्ध पनि कृतिमा समावेश छ । आमाको अर्थ र मर्मलाई केलाउने प्रयास पनि यहाँ छ । यस्तै यस्तै विषयगत विविधाका प्रतिनिधिमूलक आत्मपरक निबन्धहरु समावेश गरेर कृति आएको छ ।
हाल निबन्ध विधा प्रति पाठकहरुको रुची बढ्दै गरेको देखिन्छ । तसर्थ निबन्धका पारखीहरुलाई यो कृतिले मज्जैले तान्छ । निबन्धहरुको भाषा प्राय:सरल नै छ । नेपाली साहित्यमा आत्मपरक निबन्धको सँख्या असाध्यै न्यून भएको सन्दर्भमा यस विधामा भएको कमीलाई केही राहत दिनसक्ने कृति हो यो । समकालीन नेपाली निबन्धलाई भुँडीपुराण प्रकाशनले प्रकाशित गरेको हो ।







