
मायाको मिठास बाँडेर बाँचौं
ज्ञानेन्द्र विवश
भोलि मैले एउटा निबन्ध पूरा गर्नु छ । आज म त्यसको तयारी गर्दैछु । त्यसका निम्ति उन्नत बीऊ खोज्नुपर्यो । ब्याड तयार पार्नुपर्यो । मलपानीको मात्रा मिलाउनुपर्यो । उत्पादन राम्रो हुनका लागि सबै अनुकूल हुनुपर्यो । तब पो परिश्रमको फल मीठो हुन्छ । पसिनाको मूल्य स्वादिष्ट बन्छ ।
हुन त लेख्नका लागि लेख्नु मात्र हुनु हुँदैन र होइन पनि । लेखनका विषयहरू बग्रेल्ती छन् आँखा वरिपरि कति–कति ! तिनलाई चयन गरेर शब्दका पक्वान मिलाएर रसिलो, पोषिलो मौलिक आफ्नै किसिमको भावनात्मक स्वरूप पेश गर्न सक्नुपर्छ । शब्द, भावना, अनुभूति सबै तिनै हुन् । तर तिनमा केही न केही नयाँपन दिनसक्नु पर्छ । चाख जगाउने यत्न गरिएको हुनुपर्छ ।
लेख्नुको अर्थ त्यसमा जीवन घोल्न सक्नुपर्छ । त्यसमा अनुभूति दिन सक्नुपर्छ । यसरी जीवन घुलेको,अनुभूति दिएको अभिव्यक्तिले खास रूपमा जीवन, समाज र समयको सग्लो तस्बिर उतार्न सक्छ र सक्नुपर्छ ।
लेखेको कुरा आफूसँगै रहँदा त्यो आफ्नो मात्रै हुन्छ । अरूको हुँदैन, अरूलाई थाहा पत्तो केही हुँदैन । के लेखेको छ भन्ने कुरा तर जब त्यो सार्वजनिक हुन्छ त्यसमा आफ्नो भन्दा अरूको हक बढी हुन्छ ।
त्यसैले त्यो सार्वजनिक हुने लेखनमा केही न केही अरूका लागि पनि खुराक अवश्य हुनैपर्छ । केही न केही प्रभाव पार्नैपर्छ । त्यो लेखनले अर्थात् आफ्नो लेखनले । यदि कुनै प्रभाव पार्नै सक्दैन । कुनै सन्देश दिनै सक्दैन वा भनौँ सकारात्मक भावनाको उठान त्यसबाट हुन सक्दैन भने गर्न सकिँदैन भने व्यर्थ लेख्नु किन ? किन समय खर्च गर्नु ? किन शब्दहरूलाई खेलाउनु नचाउनु व्यर्थ शब्दहरूलाई किन बर्बाद पार्नु ?!
त्यसैले लेखेका कुराहरू अभिलेखित हुन्छ । इतिहास बन्छ । दस्तावेज मानिन्छ । सन्दर्भ सामग्री हुन्छ । भविष्यका लागि यस्तो महत्वको लेखनमा जिम्मेवार हुनुपर्छ । लेखक स्वयं जिम्मेवार बिनाको लेखनले कदापि पनि कुनै प्रभाव कसैलाई पार्न सक्दैन ।
लेखनले कसैलाई घात गर्नु हुँदैन । कसैलाई पीडा दिनु हुँदैन । लेखनले त मिठास दिन सक्नुपर्छ । फेरि यस्तै पढौँ–पढौँ लाग्ने मन पाठकहरूलाई पार्न सक्नुपर्छ । तब पो लेखनको आकर्षण र आवश्यकता सदा रहिरहन्छ ।
वास्तवमा पठन संस्कृतिमा चाख जागृत गर्न सकिँदा मन पनि रमाउँछ । लेखनको ध्येय र धोको पनि पूरा हुन्छ । लेखक र पाठकको सम्बन्ध पनि घनिष्ट बन्छ, बन्नु पनि पर्छ ।
लेखेर कहिल्यै सकिँदैन । घुमेर कहिले पुग्न नसके जस्तै बाँकी नै रहन्छ पुग्नलाई जसरी त्यसरी नै लेखनका कुराहरू पनि बाँकी नै रहन्छ । आज लेखेर आजै सकियो भने त भोलि फेरि के लेख्नु र आज घुमेर आजै सकियो भने भोलि–पर्सी कहाँ, कसरी घुम्नु ? रमाइला–रमाइला गन्तव्यहरूमा कसरी पुग्नु र !
अतः लेखनले सधैँ जिज्ञासा जगाइरहन सक्नुपर्छ । लेखनमा सधैँ ऊर्जावान भावनाहरू जुर्मुनाइ रहन सक्नुपर्छ । त्यसमा पाठकीय मनहरू चाख लिएर आकर्षित भइरहनुपर्छ ।
लेख्नु भनेको आफैँलाई माझ्नु हो । आफैँलाई बुझ्नु हो । अरूको बुझाई आफूले व्यक्त गर्न सक्नु हो । आफूले बुझेको कुरा बुझाउन सक्नु हो । वा भनौँ लेखन एउटा रहस्यको यात्रा हुनुपर्छ जसले पाठकीय मनहरूलाई आफूसँगै हिँडाएर, आफ्ना सुन्दर विचारहरूलाई बोध गर्न सकोस् । अनि त्यसबाट अरू पनि प्रभावित हुन् । त्यसले उन्नत र गतिशील समाजको निर्माणमा टेवा पु¥याउन सकोस् ।
यसरी लेखकीय कर्मका लगानीहरू केवल उपलब्धिहीन भनठान्नु पनि हुँदैन । त्यसले तत्काल केही पनि नदेला । तर अलिकति सन्तुष्टि दिन्छ । यस्तो सन्तुष्टि सितिमिति कहाँ मिल्न सक्छ र ! आफ्नै कर्मले मिलेको यस्तो सन्तुष्टि धेरै ठूलो प्राप्ति हुन्छ । धेरै उपलब्धिको हुन्छ ।
भर्खरै बडा दशैँ २०८१ साल बितेर गयो । फर्केर हेर्दा लाग्छ, यसपालिको बडा दशैँले धेरैको घरमा मिलनको मिठास दिन सकेन । खुसीको सञ्चार गर्न सकेन । आफन्तको आगमन हुन र सौगात भित्रिन सकेन । दुःखका आँशुहरू बगिरहे । बिछोडका पीडाहरू बल्झिरहे ।
दशकौँ पछिको अविरल वर्षा र त्यो निष्ठुरी वर्षाले ल्याएको बाढी–वितण्डाको प्रहारले कैयौँले ज्यान गुमाउनु पर्यो । जोखिम मोलेर बाँच्नेहरूको जीवन पनि बेहालको भयो । बर्बादको बन्यो । बिचल्लीको भयो । बेतोडले बाढी आएपछि भाग्ने ठाउँ र लुक्ने ओभानो ठाउँ कहीँ नरहँदोरहेछ । बाढीले बगाएपछि सर्वत्र भेलसँगै कता पुग्दोरहेछ कता ? कसैलाई थाहा पत्तो हुन सक्दैन रहेछ । यस किसिमको बाढीको प्रकोपले यसपालिको दशैँ खल्लो–खल्लो भयो ।
विछोडका पीडाहरूलाई बिर्सेर जसोतसो मनाइयो होला दशैँ । अब आउँदै गरेको तिहारको उत्सवलाई महोत्सवमा मनाउने चाहना र योजनाहरू होलान् । फुलिरहेका फूलहरूलाई फुल्नुको उपलब्धि दिनुपर्छ । यो याममा फूलहरू फुल्नुको अर्थ निकै महत्वको हुन्छ । एकप्रकारले फूलहरुकै पर्व यो तिहार । फूलहरुलाई त्यही रूपमा रूपान्तरण गरिँदा आहा पुराना घाउँहरू पनि बिर्सिन पुगिएला । नयाँ जीवन–धामको रमझममा रमाउन सकिएला ।
मूलतः चुँडिएको डोरी जोड्ने तरखरमा लाग्नेपर्ने खाँचो छ । टुटेको सम्बन्ध जोड्ने तयारी आवश्यक हुन्छ । फुटेको, टुटेको, भत्केको, बिग्रेको कति छन् कति सम्बन्धहीन सम्बन्धहरू ! आहत बनेर संवेदना शन्य बनेका अवस्थाहरू ! जुटेपछि, टुटेपछि, फुटेपछि, भत्के–बिग्रेपछि सम्बन्ध गाँस्नुपर्ने रहेछ ।
यसरी अनायासै अलग्गिएको कुरालाई जोड्नुपर्छ । मिलाउनुपर्छ । जोडेर हुन्छ कि, गाँसेर हुन्छ कि, मिलाएर हुन्छ कि, मिलेर हुन्छ कि । जे जसरी होस् चुँडिएर अलग्ग रहनु भएन । सम्बन्ध विच्छेद हुनुभएन । अर्थात् भनौँ न सम्बन्धमा तुषारापात आउनु हुँदैन । सम्बन्धमा विष बमन हुनु हुँदैन ।
सम्बन्ध भनेको जीवनभरिका लागि जीवन्त हुनुपर्छ । सम्बन्धले साथ दिन्छ, आश दिन्छ, आँट दिन्छ र दिनुपर्ने धेरै कुराहरू दिनुपर्छ ।
सम्बन्ध नै कुनै नभएपछि चँुडिएर टाढा–टाढा पुगेपछि त्यहाँ मायाको कुनै अर्थ हुँदैन । सम्झनाको कुनै महत्व रहँदैन । केवल याद गरी बस्नु मात्र पनि अर्थ हुँदैन । व्यर्थ हुन्छ त्यो !
त्यसैले निबन्धलाई बिसाउँदै गर्दा निबन्धको विषय र विम्ब तयार भइसकेको छ । अन्त्यमा यति कुरा उल्लेख गर्न मन लाग्छ, सम्बन्धहरू कहिल्यै धमिलिनु हुँदैन । कहिल्यै टुक्रिनु हुँदैन । टुक्रिएको सम्बन्धमा मायाको मिठास अर्थहीन हुन्छ । अर्थपूर्ण जीवन बाँच्नका लागि पनि सम्बन्धहरू सधैँ समधुर भइरहनुपर्छ । मायाको मिठास बाँडेर बाँच्नु पो बाँच्नु हो । यस्तो जीवनमा सधैँ खुशियाली भित्रिरहन्छ । सधैँ सन्तुष्टिका पलहरू गुज्रिरहन्छ ।








