समय स्नान गरिरहेछ
कवि दिनेशविक्रम थापाको यो कविता कृति काव्यचेतले भरिएको छ । कविताको आकाशमा स्वच्छन्दतापूर्वक उडान भर्न सिपालु थापा अनुभूतिको छाललाई हुत्याउँछन् कवितामा । समयसँगै लेखिएका कविताहरु सुन्दर छन् । जस्तो छ उनको बानी कवितामा त्यसैगरी पोखिएका छन् । लागेको कुरा कवितामार्फत निर्धक्क बोल्ने बानी छ उनको । कविताले सत्यताको खोजीतर्फ आफुलाई केन्द्रित गरेका छन् । विेशेषत द्धन्द र त्यसका घाउहरुको उजागर गरेका छन् । यहि समयका विकृति र विसँगतिलाई कडा प्रहार गर्छन् ।
कोमल मनका कवि भावुक हुन्छन् नराम्रा कुराहरु देखेर । आत्मसन्तुष्टीको लागि कविता लेख्ने भनिएका उनी कविताका पाठकहरुलाई जागृत गराउँछन् । घचघचाउँछन् ।
कतिपय कविताका शिर्षक लामा पनि छन् । यसभित्र विषयगत विविधताका ६० थान कविता रहेका छन् ।
समय स्नान गरिरहेछलाई मालिका प्रकाशनले पहिलो पटक वि.सं.२०६४ मा प्रकाशनमा ल्याएको हो ।
जाग्रत आँखाहरु
पुण्य कार्की दर्जनौ कतिका स्रस्टा हुन् । जाग्रत आँखाहरु उनको निबन्ध कृति हो । हामी नेपालीहरु सचेत नभएकोले,हाम्रा आँखाहरु जागृत नभएकोले दुख र पीडामा बस्नुपरेको कुरालाई निबन्धह्ररुले बडो मार्मिकतासाथ प्रष्ट पारेका छन् । यसमा धेरै ठाउँ जहाँ नेपाली मर्माहत हुनुपरेको छ,तिनले निबन्धकारलाई दुखी बनाएको छ । कलात्मक बिम्ब र व्यँगचेतले उनले निबन्धहरु पस्किएका छन् । निबन्धहरुमा जीवनको गति,लय र आकृतिको खोजी गरिएको छ ।
४० थान विभिन्न शिर्षकृत निबन्धहरुले कृतिमा स्थान पाएका छन् । हाम्रा मौलिक संस्कृतिमा आएका ह्रास,हामै वरिपरिका संस्कार र संस्कृति अनि दैनिकीहरु पनि निबन्धका विषय बनेका छन् । उनले बुझेका र पढेका लेखक,दार्शनिकहरुका बारेमा पनि आफ्ना विचार र धारणाहरु राखेका छन् । उनी जहिल्यै न्यायको पक्षमा देखिएका छन् । प्रकृतिको सौन्दर्यमा मोहित हुन्छन् र भन्न सकिन्छ जीवनका सम्पूर्ण भोगाईहरु उतारेका छन् ।
जाग्रत आँखाहरुलाई पहिलो पटक वि.सं.२०७३ सालमा जनमत प्रकाशनले प्रकाशित गरेको हो ।
जसराज किराँतीका कविता
गाउँका कवि लाग्छन् जसराज । शहर नपस्ने र गाउँमै बस्ने भावना पोख्छन् । भाषणको भातले पेट नभरिनेमा उनी ढुक्क छन् । उतिबेलाको पञ्चायती कालमा लेखिएका धेरै कविताहरु यसमा परेका छन् । त्यसैले उतिबेलाको व्यवस्थाले भित्र्याएको विकृति र कुरीतिप्रति उनले कटाक्ष गरेका छन् । कवितामा विद्रोही चेत प्रष्ट पढ्न सकिन्छ । गाउँका परिवेश, सुन्दरतम प्रकृतिका कुरा पनि यहाँ छन् । विषयगत रुपमा केलाउँदा विषयगत विविधताका कविताहरु देखिन्छन् । गाउँ,उकाली ओरालीमा बटुलेका मौलिक बिम्बहरुको सुन्दर प्रयोगले कविताहरु सुन्दर देखिन्छन् । उनको कल्पनाशीलता र काव्यात्मक साधना प्रशंसनीय छ । कविताहरु आन्चालिकताले भरिएजस्ता पनि देखिन्छन् ।
यस कृतिमा ६९ वटा कविताहरु समावेश गरिएका छन् ।
जसराज किराँतीका कवितालाई वाणी प्रकाशनले पहिलो पटक वि.सं. २०५७ सालमा प्रकाशित गरेको हो ।