
स्मृतिको नदी
जुमन किरण
शहर मौन छ, तर हावा बोलेको छ,
काठमाडौँको गल्लीमा बग्दै दुख घोलेको छ
नदी, अस्तित्वको धारा, शान्त बहिरहेकै थियो
तर अब त्यो नदी बन्यो समयको क्रोध
नदीले सबै बगायो,
जसरी समयले सबैलाई बगाउँछ
पानी केवल जल थिएन
यो हाम्रो भूलको बिम्ब थियो
सहरमा गाढिएको
हामीले सोच्यौ, हामीले बाँध लगायौ समयलाई
तर प्रकृति हाम्रो गुरु
हामी मात्र विद्यार्थी भन्ने बिर्सियौ
जब प्रकृति बोल्छ
हामीले चुपचाप सुन्नुको विकल्प छैन
घरहरू ढले, जसरी भ्रमहरू ढल्यो
तर सत्य बगिरह्यो
जसरी समयको नीर निरन्तर बगिरहेछ
जस्तो कि जीवन आफैँ
कहिल्यै स्थिर नहुने यात्रा
नदी केवल जल होइन, यो समयको स्वर हो,
केही पनि स्थायी छैन
र हामी नदीकै धारमा हिँडिरहेछौ
नबुझेको यथार्थको खोजीमा
जीवनको यो ठूलो नदीमा
प्रश्नहरू ढुङ्गा सरी गहिराइमा डुब्छन्
तर उत्तरहरू हाम्रो अँगालोबाट सधै चिप्लिने पानी हो
जुन काठमाडौँका गल्लीहरूमा बगिरहेछन् ।








