
काठमाडौं । बडा दशैंको सातौं दिन आज घरघरमा शुभसाइतको प्रतीक फूलपाती भित्राइँदैछ ।
यो सँगै दशैंको रौनक बढ्छ ।
प्रत्येक वर्ष आश्विन शुक्ल सप्तमीका दिन शास्त्रीय विधिअनुसार नवपालुवा भित्राउने गरिन्छ ।
नौवटी देवीको प्रतीकको रूपमा भित्राई शास्त्रीय विधिअनुसार शक्तिको आराधनाका साथ नौ वटै देवीको विधिपूर्वक पूजा गर्ने गरिन्छ ।
घटस्थापनाका दिनदेखि वैदिक विधिपूर्वक दुर्गालाई आह्वान गरी पूजाआजा गरिएको दशैंघर अथवा पूजा कोठामा उखु, हलेदो, केराको बोट, धानको बाला, बेलपत्र, दारिम, जयन्ती, अशोकको फूल र मानवृक्ष भित्राउने गरिन्छ । आज फूलपाती भित्र्याउन कुनै साइत चाहिँदैन।
दुर्गापूजा एवं विजयोत्सवसँग जोडिएको फूलपाती बढाइँको लामो इतिहास रहे पनि टुँडिखेलको हालको फूलपाती बढाइँ पृथ्वीनारायण शाहको समयदेखि हुँदै आएको छ। गोरखाबाट धादिङको जीवनपुरसम्म दशैंघरका पुजारीसहित मगर जातिका ६ जनाले फूलपाती ल्याउँछन्। त्यहाँबाट काठमाडौंको जमलसम्म यतैबाट गएका ब्राह्मण जातिका ६ जनाले ल्याउने परम्परा छ।त्यहाँबाट हनुमानढोकासम्म निजामती सेवाका उच्चपदस्थ अधिकारी, गुर्जुका पल्टनसहित ब्याण्डबाजा र पञ्चैबाजा बजाएर सांस्कृतिक नाचगान गर्दै लावालस्करका साथमा फूलपाती हनुमानढोका भित्र्याइन्छ।
हामी स्वेदश तथा विश्वभर रहेका नेपालीहरुमा बडा दशैंको शुभकामना व्यक्त गर्दछौै ।





