
आज भन्दा ४०/४५ वर्ष अघिसम्म शहरमा लरीभन्ने गाडी गुडिरहेको देखिन्थे । ती गाडी स्टार्ट गर्नु प¥यो भने डण्डी घुसाएर बेस्सरी घुमाएपछि मात्र स्टार्ट हुने गर्दथ्यो । अहिले त्यसरी स्टार्ट गर्नुपर्ने गाडी कुनै पनि छैन । ती लरी चलाइसकेका चालकलाई अहिलेको इलेक्ट्रोनिक गाडी चलाउन दिए भने कुन स्वीच कस्तो अवस्थामा थिच्ने थाहा हुँदैन । लरीगाडी बीसौं वर्ष चलाइसकेका अनुभवी चालक किन नहोउन् उसले अहिलेको इलेक्ट्रोनिक गाडी सिकाएर खाँदैन; अझै चलाउन दिइयो भने दश मिनेटमा दश चोटी ठोकाउन बेर हुँदैन ।
खाली यो एउटा बुझ्न बुझाउन सजिलोको लागि उदाहरण दिन खोजेको मात्र हो ।
आज भन्दा ४०/४५ वर्ष अघि उपलब्ध भएका अभिलेखीय स्रोतको आधार लिएको भन्दै नेपालमा लिच्छविशासनबारे लामो व्याख्या गर्दा सुमतितन्त्रको आधारमा शकसंवत् र मानदेवसंवत् चलेको कुरा बताएर दुनियाँलाई दिग्भ्रमित पार्न भ्याए । त्यसोभन्दैमा अहिले पनि दिग्भ्रमित पारुँला भनी प्रयास गर्नु असंभव भइसकेको छ ।
अहिले वि.सं २०८२ साउनमा फाइनप्रिन्ट प्रा.लिद्वारा प्रथम पटक प्रकाशित “नेपालमा लिच्छविशासन” नामक झण्डै ४० पानाको सानो आकारको पुस्तक बजारमा देखापरेको छ । पुस्तकका लेखक महेशराज पन्त हुनुहुन्छ । पुस्तकमा हार्ड कभर राखी मालिगाउँमा पाइएको जयवर्माको मूर्तिको चित्र आवरणमा राखिएको छ । पुस्तकको मूल्य चाहिँ जम्मा नेपाली रु ३५० मात्र छ ।
पुस्तकको मूल्य र पाना संख्याको बारेमा केही भन्नु छैन तर भन्नुपर्ने कुरा यो छ कि आजभन्दा ४०/४५ वर्ष अघि जे कुरा जनसामु ल्याएर दिग्भ्रमित पारेका थिए । अहिले पनि त्यही कुरा यो पुस्तकमापुनरावृत्ति गर्न ल्याएर दिग्भ्रमित पारुँला भनी प्रयास गरिएको देखियो। अब त्यो प्रयास संभव छैन किनभने जसरी लरी चलाउने चालकले इलेक्ट्रोनिक गाडी चलाएर खाँदैन । अहिले लरी र चालक बिस्थापित भइसके भने झैं पहिले कै ढर्रामा पछि फेलापरेका ऐतिहासिक अभिलेख स्रोत प्रयोग गर्दै इतिहास लेख्न खोजेका छन् । हुनत पुस्तकको पृष्ठ १३ मा मालिगाउँमा भेटिएको संवत् १०७ को जयवर्माको अभिलेखबारे चर्चा गरेको पाइन्छ । त्यस्तै अन्य पृष्ठहरुमा पशुपतिमा फेलापरेको संवत् ३८१को अभिलेख, संवत् ५३६ को अभिलेखहरुपाइएको,संवत् ३८१ को अभिलेख पाइएको मात्र होइनकेही वर्षअघि फेलापरेको फुटुङको अभिलेखमा संवत् ४३३ र ४३५ उल्लेख भएको समेत पुस्तकका लेखकलाई ज्ञात रहेछ ।
यसरी नयाँ अभिलेखहरुभेटिएपछि नयाँ ढंगले विचार गरेर मात्र लेख्ने खोपडी पनि हुन आवश्यक हुन्छ । पुस्तकका लेखकमा नयाँ ढंगले विचार गर्नेखुवी नभएको कारण अंशुवर्मा ले आफू एकलौटी शासक भएपछि पुरानो संवत्को परित्याग गरी नयाँसंवत् प्रयोग गर्नेले फेरि आफना सनदमा पुरानो संवत् किन हाले, त्यसको स्पष्ट उत्तर हामीसँग छैन भनेर पृष्ठ ३१ मा लाचारी व्यक्त गरेको छ । हो यही कुरा सर्बसाधारण पाठकहरुले पनि सहज बुझ्न सकियोस् भनेर नै जसरी थोत्रो लरी चलाइरहेका चालकले नयाँ मोडलको गाडी चलाउन सक्दैन ठीक त्यस्तै आजभन्दा ४०/४५ वर्ष अघि दिमागमा जे थियो त्यही उपजलाई अहिले काममा लिन खोजेर हुँदैन भन्ने पनि बुझ्न जरुरी भइसक्यो । त्यसकोलागि
केही नमुना यहाँ राख्न चाहन्छु जुन यस प्रकार छन् :
१. आजभन्दा ४०÷४५ वर्ष अघि नेपालमा पाइएको सर्बप्राचीन अभिलेख कुन थियो भनियो भने चाँगुनारायण स्थानमा रहेको संवत् ३८६ को स्तम्भलेखलाई देखाइने गरिन्थ्यो । अहिले पनि त्यही देखाई रह्यो भने दुनियाँले पटमूर्ख भनी संज्ञा नदेला भन्न सकिन्न ।
२. संवत् ३८६ भन्दा ५ वर्ष अघिको संवत् ३८१ को अभिलेख पशुपतिनाथको प्राँगणमा भेटिएको कुरा लेखकलाई जानकारी भइसकेकै छ । बाँकी संवत् ३८१ को अभिलेखमानदेव प्रथमकै हो या होइन भनी राम्रोसँग गहिरिएर विश्लेषण गर्न सक्नु पनि प¥यो र दुनियाँलाई विश्वस्त हुने आधारहरु पनि दिन सक्नु प¥यो तर आजभन्दा ४० वर्ष अघिको बासी दिमाग मात्र खर्चेर काम छैन ।
३. मानदेव प्रथम संवत् ४२७ सम्म बाँचेको कुरा त लेखकलाई राम्ररी थाहा छ । हामी कहाँ संवत् ४२७ को दुईवटा अभिलेख पाइएका छन् ती मध्ये संवत् ४२७ कार्तिकसम्म मानदेव जीवित थिए भने ४२७ आषाढसम्म पुग्दा उनी दिवंगत भइसकेको तथ्य उजागर भइसकेको हो, यो कसैको तर्क होइन । तब त्यति बेला चलेको संवत् कार्तिकादि रहेछन् भन्ने कुरा स्वयं नयराज पन्तले नै लेखेको कुरा हो । यदि कार्तिकादि होइन भन्ने कुनै प्रमाण थप भेटिएको भए संशोधन मण्डल चूप लागेर बस्ने थिएन समय मै आत्मसंशोधन निकाली सकेको हुनु पर्दथ्यो , त्यस्तो आत्मसंशोधन अहिलेसम्म देखापरेको छैन ।
४. संवत् ४२७ सम्म मानदेवको शासन चलेको र त्यसको लगत्तै संवत् ४२८ मा मानदेवका नाती वसन्तदेव सत्तामा देखियो । मतलव संवत् ४२८ को वसन्तदेवको अभिलेख थानकोट आदिनारायण स्थानमा रहेको छ । पशुपतिको जयदेव द्वितीयको अभिलेखमा मानदेव पछि महीदेव राजा भएको बताइएको छ । भरखरै फुटुङ्मा फेला परेको अभिलेखमा संवत् ४३३ सम्म राजा महीदेवको आदेश र संवत् ४३५ मा वसन्ददेवको आदेश भएको एउटै अभिलेखमा दुई भिन्दाभिन्दै आदेश भइरहेको प्रत्यक्ष प्रमाणलाई विश्लेषण गर्न ४० वर्ष अघिको बासी दिमागले भ्याउने कुरा होइन ।
५.जयवर्माको अभिलेखको सवालमा लेखकले अभिलेखको संवत् १०७ लाई सबैले यसलाई शकसंवत् मानेकाले १०७+१३५ = २४२ वि.सं हुने भयो भनेको छ (पृष्ठ१३)।शकसंवत् मानेकालेभन्नुको मतलव के ?कुन प्रमाणको आधारमा शकसंवत् सिद्ध भएको त्यो चाहियो तर खोइ परीक्षण गरेर आधार देखाउन सकेको ? लेखक संशोधन मण्डलको अध्यक्ष हुनुको औचित्य के ? अरुले शकसंवत् भनेको भरमा सकार्ने हो भने संशोधन मण्डल किन चाहियो? भन्ने प्रश्न स्वतः खडा हुन्छ ।
६. लेखकले जयवर्मापछिकोपहिलो उत्कीर्ण लेख शक संवत् ३८१ र दोस्रोचाहिँ ३८६ को भएकोले ती क्रमशः वि.सं ५१७ र ५२२ का हुने भए (पृष्ठ २४) भनेर दिएको छ । माथि संवत् १०७ मा चाहिँ १३५ जोडेर वि.सं २४२ लेख्ने लेखकले त्यही संवत्को निरन्तरता भएर आएको ३८१ र ३८६ मा भने १३६।१३६ जोडेर वि.सं ५१७ र ५२२ हुनसक्ने बताए जसको आधार के ?के ४० वर्ष अघिको बासी दिमागलाई त्यो वेला छूट पाएछ भन्दैमा के अहिले पनि छूट पाउछु भनेर ठानेको हो? यदि हो भने त्यो नचिताए हुन्छ ।
७. फेरि बासी दिमागले कसको कुरा सापटी लिइएको हो; जोसुकैको सापटी लिएको भए पनि विक्रमसंवत्को न्वारान भएको कहिले ?न्वारान नै नभइकन नाम रहँदैन, यो ध्रुवसत्य हो । तर २४२ ,५१७ ,५२२ पुग्दा खेरि नै त्यो संवत्को नाम विक्रमसंवत्को नामले प्रशिद्ध भइसकेको भन्नका लागि कुनै एउटा प्रमाण देखाउने हिम्मत कसैको छैन। भारतका विद्वान इतिहासकारहरुले त यो संवत्को क्रम १०९९ पुगेपछि मात्रै विक्रमादित्य कालभन्न थालेको थियो भने यहाँका बासी दिमाग भएका पण्डितहरुले २४२,५१७,५२२ लाई नै विक्रमसंवत् भन्दै बारम्बार चिच्याउँदै आएका छन् । यसरी जतिसुकै चिच्याए पनि त्यति वेला नै विक्रमसंवत् ठहरिनेकिमार्थ होइन ।
८.संवत् ५३६ को दुइवटै सनदमा अंशुवर्माको नाम भएको तथ्य पुस्तकका लेखकले राम्ररी बुझे भन्ने कुरा पुस्तकका पृष्ठ ३१ले बताउँछ । ती ५३६ का दुईवटा शिलालेख कहाँकहाँका हुन् भन्ने थाहा भएपनि ठाउँको नामै उल्लेख गर्न चाहेनन् भन्ने कुरा पुस्तकलाई आद्योपान्त पढेपनि कतै नखुलाइएबाट प्रष्ट हुन्छ । सायद लगन ज्यावहालको संवत् ५३५को अभिलेखलाई अंशुवर्माको हुनैसक्दैन भनेरसारा इतिहासकारहरुको जुन बोली थियो त्यो तुरुन्त यहाँ आकर्षित भएर उपस्थित हुन आउला भन्ने डर नैमूल कारक तत्व हुन सक्छ ।
फेरि यही संवत् ५३६ लाई शकसंवत् भनेरै बेझिझकसँग उल्लेख गरेको पनि छ । पं नयराज पन्तको लिच्छवि संवत्को निर्णयको पृष्ठ २९३ मा लक्ष्मणछत्रेको अधिमास क्षयमास सारणी दिइएको छ । पुस्तकका लेखकले आफनो पूज्य पिताको पुस्तक त एक चोटी यसो पल्टाएर हेर्ने जमर्को गर्दैन रहेछ भन्ने देखियो तब अरुले संवत् ५३६को अभिलेखको बारेमा के लेखेको छ ?भनी अरुको पुस्तक पनि पल्टाएर हेरेको होला भन्ने कुराको कुनै संभावनै रहने भएन । जेहोस् पिताको निर्णयको पृष्ठ २९३ यसो पल्टाएर मात्र हेरेको भएपनि शकसंवत् ५३६मा अधिमास परेको रहेनछ भन्ने बुझ्थ्यो होला किनभने अभिलेखमा द्वितीय पौष शुक्ल पञ्चम्याम् भनेर दिइएको तडकारो देख्नु भएकै हो । यहाँ भन्न खोजेको कुरा यही कि इतिहासकार भएर यति प्राप्त स्रोतलाई बिघ्न हेलचेक्राई त गर्नु भएनन नि भन्ने नै हो ।
९. नरेन्द्रदेवको संवत् ६७ का अभिलेख दुईवटा प्राप्त भएका छन् । जसमध्ये संवत् ६७ पौषको अभिलेख पाटन लुँझ्या चोकको अभिलेख हो भने अर्को संवत् ६७ भाद्रको अभिलेख यंगालहिटीको अभिलेख हो । यो कुरा पुस्तकका लेखकलाई पनि थाहा छ । तर थाहा भएर के गर्नु संवत् ६७ लाई वि.सं ६३३ बाट शुरु भएको मानदेवसंवत् भनेर बासी दिमाग प्रयोग गर्न पुगेको छ । संवत् ६७ पौषलाई वि.सं ७०० पौष भनेको छ भने ६७ भाद्रलाई वि.सं ७०१ भाद्र मानेको कुरा पृष्ठ ५५ मा दिइएको छ । पौषमा ६३३ जोड्ने प्रावधान कहाँबाट लिएको हो र भाद्रमा ६३४ जोड्ने प्रावधान कहाँ छ , त्यो बताउन सकेको होइन । आजभन्दा ४० वर्ष अघि सुमतितन्त्रबाट लिएको भन्दै ढाँट्नसम्म ढाँटे । अहिले यो पुस्तकमा सुमतितन्त्रको नाम पनि उच्चारण गर्ने हिम्मत गरिएको छैन तर सुमतितन्त्रमा विक्रमसंवत्को उल्लेख भएको देखाउन पनि सकेको थिएन र ६३३ जोड्ने हिसाव उल्लेख भएको पनि देखाउन सकेको थिएन । तर अहिले लाजै लजाउने गरी ६३३ र ६३४ जोड्न भने छोडेको होइन भन्ने कुरा पृष्ठ ५५ पल्टाएर हेरेको खण्डमा तडकारो देख्न सक्दछौं । लेखकले के अझै कतिलाई ढाँट्ने दाउ छ ? पाठकहरुपनियस मामलामा सावधान रहन जरुरी छ ।
१०.लेखकले यस पुस्तकमा चतुर्थ मानदेवको पालामा सारिएको सहोत्तरतन्त्रमा पूरा तिथिमिति(मानदेव)संवत् ३०१ तद्नुसार वि.सं ९३५ वैशाखशुक्लसप्तमी आदित्यवार पुष्यनक्षत्र सिद्धयोग छ । यो दोस्रो संवत्को सबभन्दा पछिल्लो लेख हो भनिएको छ । (पृष्ठ५६)
मानदेवसंवत्को जननि भनेकै सुमतितन्त्र हो । लेखकले यस पुस्तकमा सुमतितन्त्रको नामोच्चारणसम्म पनि गर्न आँट देखाउन सकेको होइन । त्यही मानदेवसंवत् मानेको संवत् ३०१ माभने ६३४ जोडेर वि.सं ९३५ वैशाख भएको देखाइएको छ । यसरी ६३४ जोड्ने आधार कुन शास्त्रले प्रदान गरेको हो?त्यो त पाठक सामु ल्याइदिनु पर्दछ नि । यो त केवल उहाँहरुको बासी दिमागमा मात्रै पाइने हो। यसो हुँदैमा त्यो बासी दिमागको उपजलाई कसले पत्याउँछ ?भनी जिकिर गरिरहेको हो अचम्म यसमा छ ।
११. पुस्तकका लेखकले अहिले आएर सुमतितन्त्रको नामोच्चारण गर्नसम्म हिम्मत गर्न सकेनन् भने त्यससँगसँगै ३०४ वर्ष मानदेवसंवत् चलेको मान्यता पनि स्वतः निष्कृय सिद्ध भएको ठहरियो । जहिलेजहिले जो जसले मानदेवसंवत्को नामलाई उच्चारणमा ल्याउन खोज्छ उसले सर्बप्रथम ३०४ वर्ष मानदेवसंवत् चलेको कुरा नै सिद्ध गरेर देखाउ भन्ने माग उपस्थित हुन्छ । यसरी ३०४ वर्ष मानदेवसंवत् चलेको कुरा त्यसै थाँति राखी नेपालसंवत्को शुरुवात वि.सं ९३६ कार्तिकशुक्लप्रतिपदाको दिन भएकोले सहोत्तरतन्त्र सारिसिद्धिएको झण्डै ६महीनापछि यहाँ
नयाँसंवत् चलनचल्तीमा आएको देखिन्छ भनेर दिइएको छ (पृष्ठ५६)लेखकको बासी दिमागमा हिसावको सामान्य ज्ञान पनि शून्य रहेछ भन्ने प्रमाणित भयो । पहिलो त वि.सं ९३५ वैशाखसम्म ३०१ वैशाख भइरहेको मानदेवसंवत् वि.सं ९३६ कार्तिक मै ३०४ वर्ष मानदेवसंवत् सकिने हिसाव सामान्य अंक गणित कै विरुद्ध हो अर्को सहोत्तरतन्त्र सारी सिद्धिएकोमितिबाट ६ महीना मै नेपालसंवत् शुरु भएको कुरा त झनै सामान्य अंक गणित नजानेको सिद्ध हुन्छ । पं नयराज पन्त गणितका प्रकाण्ड विद्वान भनेर तारिफ हुने गरेको व्यक्तित्व हो ;त्यस्तो प्रकाण्ड विद्वानको पुत्र चाहिँ सामान्य अंक गणित मै अनभिज्ञ रही शून्य सिद्ध हुनु भनेको कल्पना गर्न पनि साह्रै गाह्रो कुरा भएको छ ।
१२. वटेश्वर नामको ज्योतिषको जन्म वि.सं ९३६ मा पञ्जाबमा भएको भनेर लेखकले आफनो पुस्तकको पृष्ठ ५७ मा चर्चा गर्नु भएको छ । वटेश्वरको जन्म वि.सं ९३६ मा भएको त माने तर जन्मिनासाथ ज्योतिष भएर जन्मेको र उसले अयनाँशको प्रतिपादन जन्मिने बित्तिकै गरेको भन्नका लागि बासी दिमाग भएकाले सायद पत्याउला अरु कसैले पत्याउने कुरा होइन । उनको भनाइले वि.सं ९३६ मा वटेश्वरको जन्म भएको र त्यही सालदेखि नेपालसंवत् चल्नु संयोग मात्र होइन, विद्याको उन्नतिको परिणाम हो भनिएको छ । वटेश्वरको जन्म हुने बित्तिकै विद्याको उन्नति भएको उहाँको बासी दिमागको उपज सिवाय अरु होइन ।
स्वयं लेखकका पिता पं नयराज पन्तकोलिच्छविसंवत्को निर्णयको पृष्ठ १३६ मा “वि.सं ९३७ कार्तिकमा नेपालसंवत्को प्रारम्भ भएको हो । यस कारण वि.सं ९३७ को वैशाखमा नेपालसंवत् ० हुन्छ” भनी दिइएको कुरा उहाँले बिर्सन मिल्दैन ।सोही अनुसार तमाम आफना अनुयायीहरुलाई नेपालसंवत्को प्रारम्भ वि.सं ९३६ होइन वि.सं ९३७ भन भनी आफना भनाई शिरोपर गर्न लगाइयो र सारा उनका अनुयायीहरुले वि.सं ९३७ कार्तिकमा मात्र नेपालसंवत् प्रारम्भ भएको मान्दै आएको कुरा स्वयं नयराज पन्तको पुत्रले उलङ्घन गर्छ भने कसलाई दोष देखाउने पाठकहरु रणभुल्लमा छन् । यता वटेश्वरको जन्म र नेपालसंवत्को प्रारम्भको संयोग हो भन्ने तर्क पनि कुतर्क सिद्ध भएको बासी दिमागले चाल पाउने कुरा होइन । यो अरुले मूल्यांकन गर्न सकिने कुरा हो ।
निष्कर्ष
यहाँ लेखको शुरुमा उदाहरण दिएको पनि यस अर्थले हो कि लरीमोडलको गाडी चलाउन माहिर चालकले अहिले आधुनिक मोडलको गाडी चलाएर खाँदैन । ठीक त्यस्तै नयाँ नयाँ अभिलेखहरु जतिसुकै भेटिएको होस् ५० वर्ष अघि बनेको तयारी बासी दिमाग भएकाहरुको लागि कागलाई बेल पाकेर हर्ष न विष्मात भने जस्तै मात्र भइरहेको हो ।
आज भन्दा सय पचास वर्ष अघि सीमित अभिलेख स्रोतको आधारमा लिच्छविकालमा दुई थरी संवत् चले ती दुईथरी भनेका शकसंवत् र मानदेवसंवत् हुन् भनेर इतिहास लेखनमा खुराक पेश गरिएको थियो । वि.सं २०३० भन्दा पछि अरु पनि थुप्रै नयाँ नयाँ जानकारी सहितको अभिलेखहरु पाइसकेको हुँदा पहिलेको मान्यतामा पनि निश्चित रुपले परिवर्तन भए। यति हुँदाहुँदै पनि अहिले त्यही बासी खुराकमा मिसावट गर्न थालिएको कुरा उल्लेखित पुस्तकले दर्शाएकै छ । त्यसले इतिहासको लागि खुराकको काम गरेको नभइ उल्टो कुफतको काम गरेको मात्र सिद्ध छ भन्ने थाहापाई राख्न जरुरी हुन्छ ।
कुनै चिकित्सकले यो यो नखाउ तिमिलाई अवश्य कुफत हुने छ भनी सल्लाह दिंदा पनि त्यही खान्छ भने रोग निको नभएको दोष चिकित्सकको हुने होइन भने जस्तै ५० वर्ष अघि पाकेको तयारी बासी खुराक इतिहास लेखनमा प्रयोग गरियो भने नेपालको इतिहास सँधै रोगी को रागी नै भइरहने बाहेक अरु लक्षण देखिने वाला छैन भने हुन्छ । यही पारा रही रहे भने नेपालको इतिहास अवश्यमेव मरणासन्न अवस्थामा पुग्ने पनि निश्चित छ ।







