काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले संयुक्त राष्ट्रसंघको ७९ औँ महासभामा नेपालका तर्फबाट सम्बोधन गरेका छन् । आफ्नो सम्बोधनकोे क्रममा प्रधानमन्त्री ओलीले नेपालले लामो संक्रमणकालपछि द्वन्द्वबाट अघि बढेर शान्ति प्रक्रियालाई पूरा गर्ने चरणमा रहेको भन्दै यहाँसम्म ल्याउने कार्यको सहयोगका लागि राष्ट्रसंघसहित विश्व समुदायलाई धन्यवाद ज्ञापन गरेका छन् ।
प्रधानमन्त्री ओलीले हालै आफ्नो सरकार गठन भएपनि संक्रमणकालीन न्यायसम्बन्धी विधेयकलाई सदनबाट पारित गरेर कार्यान्वयनको चरणमा लगेको जानकारी गराउँदै अब पीडितलाई न्याय दिलाएरै संक्रमणकालीन न्यायलाई टुंगोमा पुर्याउने प्रतिबद्धता पनि जनाएका छन्।
संयुक्त राष्ट्रसंघको ७९ औँ महासभामा नेपालका तर्फबाट सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले “द्वन्द्वबाट उदाएको राष्ट्रका रूपमा नेपालले शान्ति र राजनीतिक स्थिरताको गहिरो मूल्य बुझेको छ। बृहत् शान्ति सम्झौताको लामो समयपछि अब हामी शान्ति प्रक्रियालाई टुंगोमा पुर्याउने चरणमा छौँ । मेरो सरकार गठन भएलगत्तै संसदले सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयक संसद्बाट पारित भएर कार्यान्वयनमा गएको छ । अब सत्य र न्यायसहित पीडितको अधिकारलाई कायम गर्दै कानुन कार्यान्वयन गरेर यसलाई टुंगोमा पुर्याउनेछौँ ।”भनेका छन् ।
प्रधानमन्त्री ओलीले नेपालको शान्ति प्रक्रियामा सहयोग गर्ने संयुक्त राष्ट्र संघसहित विश्व समुदायलाई धन्यवाद व्यक्त गरे ।
उनले हाल दुई ठूला राजनीतिक दलको सहकार्यमा सरकार बनेको भन्दै यो सरकारले समावेशी र आर्थिक रुपान्तरणको अभियानमा स्थायित्व कायम गर्ने प्रयास गरिरहेको जानकारी पनि गराए ।