
काठमाडौँ । यमनका हुथी विद्रोहीले साउदी अरबको राजधानी रियादतर्फ प्रहार गरेको ब्यालिस्टिक क्षेप्यास्त्रलाई साउदी नेतृत्वको गठबन्धनले आकाशमै अवरोध गरी नष्ट गरेको छ ।
यसअघि रियादलाई लक्षित गरी पठाइएको एउटा मानवरहित विमान पनि प्रतिरक्षा प्रणालीले नष्ट गरेको गठबन्धनले जनाएको छ ।
इरानसमर्थित हुथी समूहले रियादस्थित किङ खालिद अन्तर्राष्ट्रिय विमानस्थल प्रयोग नगर्न विमान कम्पनी, विमानस्थलका कर्मचारी र यात्रुलाई पुनः चेतावनी दिएको छ । समूहका प्रवक्ता याह्या सरीले विमानस्थल असुरक्षित रहेको र सैन्य निशानामा रहेको बताएका छन् ।
विमानस्थलले शनिबार जारी गरेको सूचनाअनुसार आइतबारदेखि टर्मिनल १ घरेलु उडानका लागि र टर्मिनल २ राष्ट्रिय ध्वजावाहकका अन्तर्राष्ट्रिय उडानका लागि प्रयोग गरिनेछ ।
यसअघि अक्टोबर १० मा हुथी आक्रमणपछि विमानस्थलको सञ्चालन रोकिएको थियो । उक्त आक्रमणमा १३ जनाको मृत्यु भएको र ३०० भन्दा बढी घाइते भएको जनाइएको छ ।
यसैबीच, साउदी अरबको नागरिक सुरक्षा निकायले रियादमा तत्कालको खतरा टरेको घोषणा गरेको छ । तर हुथी समूहको पछिल्लो चेतावनीले राजधानीको सुरक्षा र हवाई यातायातबारे चिन्ता कायम रहेको छ ।







