
काठमाडौँ । साउदी अरबमा लगातार आक्रमण भइरहेका बेला अमेरिकाले त्यहाँ कार्यरत केही कूटनीतिज्ञ र अमेरिकी सरकारी कर्मचारीका परिवारलाई देश छाड्न आदेश दिएको छ ।
पछिल्ला आक्रमणमा साउदी अरबको एक विमानस्थल र तेल प्रशोधनसम्बन्धी पूर्वाधारमा क्षति पुग्नुका साथै कम्तीमा तीन जनाको मृत्यु भएको द गार्जियनले जनाएको छ ।
यमनका इरानसमर्थित हुथी विद्रोहीले सर्वसाधारणले प्रयोग गर्ने विमानस्थल र अन्य संवेदनशील पूर्वाधारलाई लक्षित गरी शृंखलाबद्ध आक्रमण गरेपछि अमेरिकाले कर्मचारी फिर्ता बोलाउने निर्णय गरेको हो । अमेरिकी विदेश मन्त्रालयका प्रवक्ता टमी पिगोटले कर्मचारी र उनीहरूका परिवारको सुरक्षा आफ्नो सर्वोच्च प्राथमिकता भएको बताएका छन् ।
विदेश मन्त्रालयका अनुसार, यो आदेश रियादस्थित अमेरिकी दूतावास तथा साउदी अरबमा रहेका अन्य अमेरिकी कूटनीतिक नियोगमा लागु हुनेछ ।
इरानविरुद्ध अमेरिकाले युद्ध सुरु गरेलगत्तै रियादस्थित अमेरिकी दूतावासमा ठूलो क्षति पुगेको थियो । त्यसपछि दूतावास सीमित कर्मचारीका भरमा सञ्चालन हुँदै आएको थियो । यद्यपि, पछिल्ला साताहरूमा केही कूटनीतिज्ञ फर्किएका थिए ।
