
पनौती,काभ्रे । जनमैत्री बचत तथा ऋण सहकारी संस्था लि.को सातौँ साधारण सभा सम्पन्न भएको छ ।
साधारण सभाको लिकी फाउण्डेसनका नेपाल संयोजक पदमबहादुर तामाङ र अध्यक्ष राजकुमार सापकोटाले संयुक्त रुपमा उद्घाटन गरे ।
कार्यक्रममा मन्तव्य राख्दै तामाङले महिला जागरण,महिला सशक्तिकरण र नेतृत्वविकास कार्यक्रममा अझै थप कार्य गर्ने संस्थाको सोच रहेको बताए । जनमैत्रीले आफ्ना गतिविधिमार्फत सदस्यहरुको आर्थिक विकासमा टेवा पुर्याएको बताउँदै उनले आर्थिक उन्नति र सामाजिक न्यायको क्षेत्रमा पनि काम गर्ने प्रयास फाउन्डेसनको रहेको बताए । निकट भविष्यमै नेपालमा ५ हजार महिला समूहमा जाने योजना भएको बताए ।
अध्यक्ष राजकुमार सापकोटाले प्रतिवेदनहरु सर्वसम्मत पारित गरिदिएकोमा सबैलाई धन्यवाद दिंदै आगामी दिनमा अझै राम्रा कार्यहरु गर्ने बताए ।
सभामा लेखा सुपरिवेक्षण समितिका संयोजक प्रदीप सापकोटा,कोषाध्यक्ष तिर्थराज सापकोटा र सचिव श्यामहरि सापकोटाले प्रतिवेदनहरु प्रस्तुत गरेका थिए ।

उपाध्यक्ष रामचन्द्र सापकोटाले स्वागत मन्तव्य राखेको उक्त साधारण सभाबाट आ.व.२०८२/ ८३ को आर्थिक,प्रगति र लेखा सुपरिवेक्षण समितिको प्रतिवेदन पारित भयो ।
कार्यक्रममा विभिन्न महिला समूहमध्येबाट उत्कृष्ट तीन समूहलाई नगद पुरस्कार र प्रमाणपत्रद्धारा पुरस्कृत गरियो ।
साकोसको शेयर पूँजी ४,०२,१२,१००। रहेको साकोसको ३५१,२३८,६९४। बचत निक्षेप रहेको छ ।
महिला १६७० र पुरुष १६६४ गरी कूल ३३३४ शेयर सदस्य रहेको साकोसले आर्थिक कारोबार मात्र नभई सामाजिक उत्तरदायित्वमा पनि आफुलाई लगाएको छ । जस अन्तर्गत सुत्केरी भेटघाट,किरिया राहत खर्च उपलब्ध र किरियापुत्री भेटघाट,तीज लगायतका साँस्कृतिक पर्वहरुमा विभिन्न गतिविधि,बाढी पहिरो लगायतका विपद्हरुमा राहत सहयोग प्रदान,भाषा साहित्यको क्षेत्रमा विभिन्न गतिविधि सञ्चालन आदि कार्य गर्दै आएको अध्यक्ष राजकुमार सापकोटाले जानकारी दिए ।

‘सम्बृद्धिका लागि सहकारी’ भन्ने भावनाका साथ फूलचोकी साकोस,मानेदोभान साकोस,पञ्चकन्या बहुउद्देश्यीय र निलकमल महिला साना किसान कृषि सहकारी एकीकृत भइ बनेको यो साकोसले विगत केही वर्षदेखि हिमालय लिकि फाउण्डेसनसँगको सहकार्यमा महिला सशक्तिकरण कार्यक्रम सञ्चालन गर्दै महिला समूहहरुको बीचमा आयमूलक कार्यहरु गर्दै आइरहेको छ । महिलाको नेतृत्व क्षमता विकास अन्तर्गत विभिन्न तालिमहरु समेत प्रदान गर्दै विभिन्न समयमा तरकारी उन्नत बिउ विजन समेत वितरण गर्दै आएको साकोसका प्रमुख व्यवस्थापक वेदप्रसाद सापकोटाले जानकारी दिए ।




