
काठमाडौँ । शुक्रबारीय शरदीय साँझ । हरियालीप्रकृतिको माझ । अलिक साँघुरो ठाउँ खचाखच स्रोता दीर्घामा थिए नेपालका चर्चित कवि,साहित्यकारहरु ।
मञ्चासीन थिए तीसको दशकदेखि साहित्यमा अनवरत सक्रिय कवि एवं साहित्यकार उषा शेरचन, चर्चित साहित्यकार र सफल व्यवसायी बसन्त चौधरी । अनि कवि शलभ । पुस्तकबारे विषद् चर्चा गर्न निम्त्याइएकी थिइन समालोचक डा.रजनी ढकाल । ज्येष्ठ आख्यानकार पद्य्मावति सिंह साक्षी बसेकी थिइन मञ्चमै । कविपत्नि विदुषी रश्मी मञ्चासिन नहुने कुरै भएन ।
तीसकै दशकका मृदुभाषी कवि विश्वविमोहन श्रेष्ठले सहजीकरणमा अग्रज कवि राजेन्द्र शलभको मनका कवितामाथि अक्षरसाँझ सम्पन्न हुँदैथियो ।
अध्याँरोलाई चिरेर उज्यालो फैलाउने मैनबत्ति ज्ञान,बुद्धि र चेतनाको प्रतिक पनि त हो । त्यहि भएर होला मैनबत्तिहरु प्रज्वलित पनि थिए त्यहाँ वरिपरि । यसले खुशी,उर्जा र सकारात्मकता नदिने कुरै भएन् ।
प्रमुख व्यक्तित्वको रुपमा निम्त्याइएकी शेरचनले तीसको दशकका कविहरुको चर्चा गर्दै शलभसँग पृथ्वीनारापण क्याम्पसमा भेटभएदेखिका विभिन्न कुराहरु साझा गरिन् । उनको व्यक्तित्वबारे चर्चा समेत गरिन् । उनले भनिन्,तीसको दशकका कविहरु अहिले पनि नेपाली कवितामा निरन्तर सक्रिय हुनु सुखद पक्ष हो । उनले शलभको बारेमा सबैलाई थाहा भएकोले धेरै कुरा गर्नु जरुरी नभएको बताइँन ।
गोधुली साँझको बेला चियावालामा उक्त कार्यक्रममा डा.रजनीले भनिन्,कवि शलभले यो कृतिमा आमाबाट कविताको शुरु गर्नु भएको र जानुअघिबाट विश्राम लिइएको छ,उहाँको वाचनमा आफ्नै शैली सरल र सरस छ तथापि मैले आजै कलेजमा शलभ दाजुको कविता पढेर वाहवाही पाएँ,आम मान्छेमा पुग्ने कविता साहित्य लेख्ने व्यक्ति राजेन्द्र शलभ हुनुहुन्छ भनिन् । उनले शलभका कविताका बारेमा समीक्षात्मक टिप्पणी गर्दै भाव,बिम्ब र शब्द चयन सुन्दर भएको बताइन् ।
यसपछि कवि शलभले कृतिबाट केही कविताहरु वाचन गरे । उनले म मनका कुरा लेख्छुू ‘सोध्न मन थियो ‘ , ‘तिमी नहुँदा ‘र ‘किताब र नाता ‘ वाचन गरे ।
यसपछि आफु लजालु स्वभावको व्यक्ति भएकोले प्राय: साहित्यिक जमघटमा उपस्थित हुन अपठ्यारो परेको बताउँदै थिए कवि बसन्त । उनले शलभसँगको आफ्नो सम्बन्धका विभिन्न आयामहरु खुलासा समेत गरे । कवितामा बेजोड जमेका शलभको हार्दिकता र शालिनताको समेत उनले खुलेरै प्रशङ्सा गरे । उनले ‘अक्षर मनका’ कृतिबाट ‘मौनता’ शिर्षक कविता वाचन गरे ।
एपेकका अध्यक्ष समेत रहेका विश्वविमोहन श्रेष्ठको मीठासपूर्ण तर संक्षिप्त सहजीकरणले माहोललाई उत्साहित बनाउँदै थियो ।

कार्यक्रममा कविहरुमात्र नभएर साहित्यका विभिन्न विधामा कलम चलाउने अग्रजहरुले समेत आनन्दित भएर कविता श्रवण गरेर माहोललाई अत्यन्तै उल्लासमय बनाएका थिए ।
अशेष मल्ल -आत्मबोध, मन्जिला अनिल-म उज्यालो पर्खिरहेछु, कमला रिसाल-हाँसो , एलिसा ढुंगाना -त्यो समय, कल्पना काफ्ले -नजिक , गीता कार्की -यात्रा , रन्जना निरौला -यसरी नै, यादव भट्टराई -जानुअघि,रमन घिमिरे -दबाब , रिता लम्साल- बुवा ,गणेशदेव पाण्डे – कुरा कविता वाचन गरे ।
यससँगै कार्यक्रम सकिएको जानकारी सहजकर्ताले गराए ।
यसअघि ‘उज्यालोको रङ’ कवितासङ्ग्रह (२०६५),’कविताको रङ’ कवितासङ्ग्रह (२०७३),’उज्याले के सँग’ (२०७८) कविताकृति प्रकाशित गरिसकेका उनको ‘अक्षर मनका’ चौथो कविताकृति हो ।
बहुआयामिक शलभ मृदुभाषी छन् । उनी चलचित्र निर्देशक पनि हुन् । लामो समयसम्म प्राध्यापन पेशासँग समेत उनी आबद्ध थिए ।
उनको यो कृतिको दोस्रो संस्करण आउँदै गरेकोे एपेक नेपालका अध्यक्ष कवि विश्वबिमोहनले जानकारी दिए । पठन संस्कृतिको विकास उच्चस्तरको हुन नसकेको समयमा कविताको कृतिको दोस्रो संस्करण आउनु उल्लेख्य कुरा हो ।
राजधानीको थापाथली चियावालामा हिजो शुक्रबारको साँझमा कविताको उत्सव मनाइएझैं मनमोहक बनाएर चियाको चुस्की र नमकिनसँगै शलभका मनका भावनाहरुको उत्कृष्ट कविताहरुको आस्वादानले माहोल नै तताइदिएकोमा आयोजक एपेक नेपाल र साँग्रिला बुक्सप्रति सहभागीहरु आभारी देखिएका थिए ।
आफैँ शारीरिक रुपमा अग्ला राजेन्द्र शलभका उच्चकोटीका कविताले नेपाली काव्यकाशमा उचाइ चुमिरहुन शुभकामना ।

Screenshot


