
कविता
मान्छे र चराहरू
केशव ज्ञवाली ‘आगत’
अनुभूतिका खुसीहरूमा मुसुमुसु हाँस्छन्
पीडाहरूमा सुँक्कसुँक्क रुन्छन् तर
मान्छेहरूले जस्तै
गोहीका आँसु बगाउँदैनन् चराहरूले।
चराहरूलाई पनि भोक लाग्छ
प्यास लाग्छ
मान्छेहरूले जस्तै खान्छन्
प्यास मेटाउँछन् तर
मान्छेहरू जस्तै
कोही धनी र
कोही गरिब हुँदैनन् चराहरू।
चराहरूको पनि आफ्नो समाज हुन्छ
धर्ती हुन्छ तर
मान्छेहरूले जस्तै
धर्तीको अंशबन्डा गर्दैनन्
भकारीको धान र
ग्याँस लुकाउँदैनन् गोदामहरूमा।
चराहरूको आफ्नै उड्ने आकाश हुन्छ
तैपनि
फगत् मान्छेहरू नै
चराहरूलाई थुन्न खोज्छन् पिँजराहरूभित्र।
चराहरू मान्छेहरू जस्तै भाषा बोल्न
रकेटहरू बनाउन
चन्द्रमाको माटो पृथ्वीमा ल्याउन र
मान्छेहरूले जस्तै धेरै सोच्न सक्दैनन् तर
यति त चराहरूलाई पनि थाहा छ –
अंशबन्डा गर्दैमा पृथ्वीको क्षेत्रफल बढ्दैन।


