
नियात्रा
एभरेस्ट भ्यु होटलको कथा सुन्दा
ज्ञानेन्द्र विवश
स्याङ्बुचेको डाँडामा शारीरिक अनुकूलनका लागि गरिएको छोटो ‘हाइकिङ’ पूरा गरेर हामी ‘एभरेस्ट भ्यु होटल’ को दृश्यावलोकन स्थलमा विश्राम गरिरहेका छौँ । केहीबेरअघि दुई विदेशी दम्पतीको प्रेमिल संवादले यो ठाउँको अर्को संसार खोलिदिएको छ । मेरा पथप्रदर्शक यार्बु शेर्पा भाइका चिनारु दाइ याक लिएर नाम्चे बजार सामान लिन गएका रहेछन् । उनको प्रतीक्षामा बस्दा समय कतै खेर जाँदैन । बरु, सामुन्ने फैलिएको हिमशृङ्खलाको दृश्यपान गर्दै विदेशी यात्रुहरूको जीवनशैली, उनीहरूको विलासिता र यात्राप्रतिको दृष्टिकोण पनि सुन्न पाइरहेछु ।
अब मेरो जिज्ञासा अर्को मोड लिन्छ– यो अद्भुत होटलको जन्मकथा के हो ? कसले यस्तो असम्भव लाग्ने सपना देख्यो ? करिब दुई घण्टाको प्रतीक्षा पनि मलाई लामो लाग्दैन । यस अवधिमा हिमालले आँखा भरिदिन्छ, हावाले मन भरिदिन्छ र उत्सुकताले समयलाई छोट्याइदिन्छ । अब यही होटलमा काम गर्ने व्यक्तिबाट प्रत्यक्ष कथा सुन्न पाइने सोचले मन झन् उत्साहित बन्छ ।
केही घण्टापछि यार्बु भाइका चिनारु दाइ आइपुग्छन् । याकबाट ल्याइएका सामान मिलाएर उनी गाउँघरको हालखबर सोध्छन् । भाइसँग कामकाजका कुरा गर्छन् । त्यसपछि उनकै सौजन्यमा हामी तातो चिया लिएर हिमालतिर फर्केर बस्छौँ । चियाको बाफसँगै होटलको इतिहास पनि बिस्तारै खुल्न थाल्छ ।
म हिमालतिर हेर्दै जिज्ञासा राख्छु– ‘यति अग्लो उचाइमा यस्तो विलासी होटल बनाउने कल्पना कसले गरेको होला ? मलाई त्यो कुनै असम्भव अभियानजस्तै लाग्छ ।’
उनी चियाको चुस्की लिँदै होटलतर्फ औँला ठड्याउँछन् । उनको अनुहारमा मुस्कान छ ।
‘यसको कथा कुनै साहसिक उपन्यासभन्दा कम छैन’ उनी भन्छन्– ‘यो होटलको परिकल्पना जापानी उद्यमी ताकाशी मियाहाराले गर्नुभएको हो । सन् १९६८ मा उहाँले यही डाँडामा उभिएर सगरमाथाको दृश्य देख्नुभएको थियो । त्यही क्षण एउटा सपना जन्मियो । धेरैले असम्भव ठानेको त्यो सपना अन्ततः सन् १९७१ मा साकार भयो ।’
यसरी सपना विपना बनेको रहेछ होटलको भव्य स्वरूपमा ! यहाँ आएर हजारौँ प्रकृतिप्रेमी सगरमाथालाई टेक्न नपाए पनि देख्न पाएर अपार हर्षले रमाउँदै फर्किदा रहेछन् ।
मलाई यहाँसम्म ल्याउने यार्बु भाइ पनि जिज्ञासु बन्छन् ।
‘त्यतिबेला त सडक थिएन । यस्तो दुर्गम ठाउँमा निर्माण कसरी सम्भव भयो होला ?’ उनी प्रश्न गर्छन् ।
अनि उनी फेरि बिस्तारै बताउँछन्– ‘यही नै यसको सबैभन्दा ठूलो इतिहास हो । निर्माण सामग्री, झ्यालका स्लाइडिङ काँच, कम्बल, भाँडाकुँडा– धेरै सामान जापानबाट कोलकाता हुँदै काठमाडौँ आउँछ । त्यसपछि स्थानीय शेर्पा भरियाहरूले हप्तौँसम्म बोकेर स्याङ्बुचेसम्म पु¥याउँछन् । केही अत्यावश्यक सामग्री हेलिकप्टरबाट पनि ल्याइन्छ । जापानी वास्तुकार योसिनोबु कुमागायाले यसको डिजाइन तयार पार्नुहुन्छ ।’
म अनायासै टाउको हल्लाउँछु ।
‘अर्थात्, यो होटल विलासिताको प्रतीक मात्र रहेनछ ।’ म भन्छु– ‘यो त मानव सङ्कल्प, श्रम र जापानी इन्जिनियरिङको अद्भुत सङ्गम रहेछ । त्यसैले त विश्वकै सबैभन्दा अग्लो स्थानमा रहेको होटलका रूपमा यसको नाम गिनिज विश्व कीर्तिमानमा पनि दर्ज हुन्छ ।’
उनी सहमतिको भावमा मुस्कुराउँछन् ।
‘हो’ उनी भन्छन्– ‘तर यस्तो ठाउँमा सुविधा पु¥याउनुपर्ने भएकाले यहाँको खर्च पनि स्वाभाविक रूपमा धेरै पर्छ ।’
यति भन्दै उनी आफ्नो ड्युटीतर्फ लाग्न उठ्छन् । हात मिलाउँदै भन्छन्– ‘हजुरसँग भेटेर धेरै खुसी लाग्यो । म त यहाँको साधारण कर्मचारी मात्रै हुँ । बगैँचाको हेरचाह गर्छु । सामान लिन कहिले लुक्ला पुग्नुपर्छ, कहिले सल्लेरीसम्म पनि झर्नुपर्छ ।’
उनीसँग बिदा भएर हामी स्याङ्बुचेको वनस्पति र वन्यजीवनतर्फ पाइला बढाउँछौँ । टाढा डाँडाका रङ्गीन झाडीहरू हेर्दै म यार्बु भाइलाई सोध्छु– ‘भाइ, यहाँका वनस्पति र वन्यजन्तुबारे पनि तिमीलाई राम्रो जानकारी छ ?’
उनी आत्मविश्वासका साथ मुस्कुराउँछन् ।
‘दाजु’ उनी भन्छन्– ‘त्यो जिज्ञासा पनि आज मेटाइदिन्छु ।’
उनको कुरा सुनेपछि अब मलाई अरू के चाहियो र ? हिमाल हेर्नुसम्म हेरिसकेको छु, दृश्य देख्नुसम्म देखिसकेको छु । मन रमाउनुसम्म रमाइसकेको छ । अब त उनीसँगै हिँड्दै, हेर्दै र सोध्दै यो हिमाली संसारलाई अझ नजीकबाट बुझ्नु बाँकी छ ।
उनी वरिपरि फैलिएको डाँडातिर हात फैलाउँदै भन्न थाल्छन्– ‘हेर्नुस् त दाजु ! हामी अहिले सगरमाथा राष्ट्रिय निकुञ्जको मध्यभागमा उभिएका छौँ । करिब एक हजार आठ सय मिटरदेखि सगरमाथाको चुचुरोसम्म फैलिएको यो भूभाग जैविक विविधताले भरिएको संसार हो । यहाँ रुखहरू किन यति होचा देखिन्छन् भन्ने जिज्ञासा तपाईँलाई लागेको होला नि ?’
म टाउको हल्लाउँछु । उनी बिस्तारै सम्झाउँदै जान्छन् ।
‘यही उचाइतिर आइपुग्दा रुखको प्राकृतिक सीमा लगभग टुङ्गिन्छ । त्यसैले यहाँ अल्पाइन घाँसे मैदान, जुनिपरका होचा बुट्यान र चिसोसँग जुध्न सक्ने वनस्पति मात्र बाँच्छन् । तर रुख कम हुँदैमा जीवन कम भएको भने होइन । यही भूभाग दुर्लभ वन्यजन्तुको सुरक्षित आश्रय पनि हो । यहाँ हाब्रे, कस्तुरी मृग, हिमालयन थार, घोरल र अत्यन्त दुर्लभ हिउँ चितुवासमेत पाइन्छ । हिउँ चितुवा भने भाग्यले साथ दिए मात्र देख्न सकिन्छ । आकाशतिर दृष्टि पु¥याउनुभयो भने डाँफे, चिलिमे, हिम कुखुरा र टुङ्गाजस्ता हिमाली चराहरू पनि यही परिवेशका स्थायी बासिन्दा हुन् ।’
उनी बोलिरहँदा म भने अर्कै कुरा सोचिरहेको हुन्छु । यति धेरै ज्ञान भएका यी युवक परिस्थितिले भरिया बनेका छन्, तर उनीभित्र दक्ष प्रकृति–पथप्रदर्शक लुकेको छ । नाम्चेदेखि सँगै हिँड्दा पनि मैले उनको नाम थाहा पाएको थिइनँ ।
धेरैपछि मात्रै उनी मुस्कुराउँदै भन्छन्– ‘मेरो नाम यार्बु शेर्पा हो, दाजु ।’
उनी फेरि वरिपरिका बुट्यानतिर औँला देखाउँदै थप्छन्– ‘तलतिर सल्ला, हेमलक र गुराँसका घना वन भेटिन्छन् । तर स्याङ्बुचेको यो उचाइमा आइपुग्दा प्रकृतिले आफ्नै नियम फेरिसकेको हुन्छ । यहाँ जुनिपर र चिसो सहन सक्ने बुट्यान मात्र टिक्न सक्छन् । यस्तो कठोर वातावरणभित्र पनि यति समृद्ध वनस्पति र वन्यजीवनको सहअस्तित्व देख्न पाउनु साँच्चै ठूलो सौभाग्य हो ।’
उनका कुरा सुन्दै जाँदा मेरो मन झन्–झन् उज्यालिँदै जान्छ । यात्रामा मौसमले साथ दिएको छ । त्यसभन्दा ठूलो कुरा, मैले जिज्ञासालाई धैर्यपूर्वक मेटाइदिने यस्ता सहयोगी सहयात्री पाएको छु । पदयात्राको वास्तविक सम्पत्ति यही रहेछ भन्ने लाग्न थाल्छ ।
पारिपट्टिको गाउँतिर औँला देखाउँदै यार्बु भाइ भन्छन्– ‘ऊ देखिएको खुन्दे र खुम्जुङ खुम्बु क्षेत्रका ऐतिहासिक शेर्पा बस्ती हुन् । त्यहाँ पुग्नुभयो भने नाम्चे बजारको चहलपहलभन्दा बिल्कुल फरक संसार भेट्नुहुन्छ । शेर्पा संस्कृतिको गहिराइ, परम्परागत जीवनशैली र हिमाली आत्मीयताको वास्तविक स्वाद त्यहीँ अनुभव गर्न सकिन्छ ।’
उनको कुरा सुन्दै मेरो दृष्टि भने फेरि आमादब्लमतिर पुग्छ । अहा ! यहाँबाट देखिने त्यसको अनुपम रूप ! शब्दले जसलाई समेट्न सक्दैन, आँखाले पनि अघाएर हेर्न सक्दैन । म आफैँसँग सोध्छु– हिमालमा यस्तो कस्तो आकर्षण छ, जसले मानिसलाई एकपटक आएपछि फेरि–फेरि फर्किन बाध्य बनाउँछ ? यहाँबाट उठेर हिँड्न पनि मन मान्दैन । साथै बोकेर लैजान पनि सकिँदैन । मन यहीँ अल्मलिरहन खोज्छ । हृदय यही हिमाली शान्तिमा विलीन हुन चाहन्छ । आँखाले पनि अर्को दिशातिर फर्कन मान्दैन । प्रकृतिको यही विराट सौन्दर्यले मनलाई एउटा दुर्लभ आत्मिक शान्तिले भरिदिन्छ ।
यार्बु भाइ भने व्यावहारिक स्वरमा सम्झाउँछन्– ‘दाजु, अब धेरै बेर यहीँ बस्नु हुँदैन । शरीरलाई आवश्यक अनुकूलन भइसकेको छ । अब खुम्जुङतिर लागौँ ।’
हामी फेरि हिमालतिर अन्तिम पटक दृष्टि डुलाउँछौँ र बिस्तारै ओरालो समात्छौँ । पाइला तल झरिरहेका छन्, तर मन अझै स्याङ्बुचेको उचाइमै अडिएको छ । विश्वकै अग्लो होटलमा बितेको केही क्षण, हिमालसँगको निकटता, यार्बु भाइबाट सुनेका जीवन्त कथाहरू र प्रकृतिले दिएको अनुपम आनन्द ! यी सबै मेरो यात्राको स्मृतिभित्र अमूल्य खजानाजस्तै सञ्चित भइरहेका छन् । म भने अर्को यात्रातर्फ अघि बढिरहे पनि, मेरो एउटा अंश अझै स्याङ्बुचेकै हिमाली हावामा रमाइरहेको छ ।
(नियात्राकारको प्रकाशोन्मुख ‘कालापत्थरबाट सगरमाथा नियाल्दा’ बाट)


