
सहयात्रा
पाइला अन्तै मोडिए
हरि थापा
योपटकको मेरो मातृभूमिको दर्शन सोचेजस्तो अनुकूल बनिरहेको थिएन । देशमा लागेको निषेधाज्ञाको पालना गर्नु पनि उत्तिकै महत्वपूर्ण कुरा थियो । सरकारले नागरिककै भलाइ हेर्ने हो । नागरिक भएर नागरिकको भलाइका लागि सरकारले गरेको निषेधाज्ञाको आदेशको अवज्ञा गर्नु एउटा असल नागरिकको कर्तव्यभित्र पर्दैन भन्ने मेरो बुझाइ छ । त्यति हुँदाहुँदै पनि कहिलेकहीँ मन बरालिँदो रहेछ । मानिस नजाने ठाउँ वा गइहाले पनि थोरै भिडभाड भएको ठाउँमा जाँदा सारै खतरा नहुने आँकलन गरिँदो रहेछ ।
असार ५, २०७८ को दिन थियो । घाम बादलसँग लुकामारी गर्दै थियो । कहिले घामको जित हुन्थ्यो र झलमल्ल धर्तीको गर्भ चुम्थ्यो । कहिले भने हार खाएर बादलको झुप्पाझुप्पामा थुनिएर निसासिन्थ्यो घाम । घाम लागे नै पनि गर्मीको मौसममा त्यसको चुमाइ केको सह्य हुन्थ्यो र । चाँगुनारायण नगरपालिका वडा नम्बर पाँचस्थित छालिङको घरमा हामी तीनभाइ सपरिवार आँगनमाथि टाँगेको टाटको छायाँमा शीतलको अनुभूति बटुलिरहेका थियौँ । छोरा बिरन, बुहारी रन्जू र नाति विर्यान्टलाई अमेरिका भासिने साइतले नजिक नजिक तानिरहेको थियो । आँगनीको गफकै सिलसिलामा छोटो घुमघामको योजना बन्यो । घरमाथिको डाँडालाई पत्करको भारी बोकेर धेरै पटक पार गरेको भए तापनि त्यसको टुप्पोमा निर्मित शिवजीको प्रमुख हतियार अग्लो त्रिशूल हेर्ने मेरो चाहना भने पुरा भएको थिएन । हुन त मसँग अनगिन्ती अधुरा सपनाहरू नभएका होइनन् । हेरौँ कति पुरा हुन्छन् र कति लिएर जानु पर्ने हो । त्यो भने समयको गर्भमा छाड्छु ।
बाटो टाढा थिएन । घरमाथिको त्रिशूलडाँडा । घरमाथिकै बाटो पूर्व हानिएर तेलकोट भन्ज्याङबाट युटर्न गरेर आउँदा हुन्थ्यो तर अविरल वर्षाका कारण कच्चि बाटोको हालत कस्तो होला भन्ने लाग्यो । यो पानीले पनि देशलाई सारै गर्यो । डाँडा बगायो । रूखपात बगायो । मानिसका घर बगायो । त्योसँगै मानिसहरू बगायो । बाछापाडा बगायो । माउलाई मात्र के बाँकी राख्थ्यो । ती पनि बगायो । बाटो बगायो । तर यो पापी कोरोनालाई पनि बगाइदिएको भए हुन्थ्यो नि भनेको यसलाई भने बगाउनै सकेन । विश्व तहसनहस पारेर मस्ती गरिरहेछ । व्यापारीको व्यापार फैलाइरहेछ । निमुखाको घरबाट लास थुतेको थुत्यै छ । यस्तो विध्वंसकारीलाई पनि स्वात्त बगाइदिए हुन्थ्यो नि । हे भगवान् ! त्यो सतबुद्धि दिउन यो सारा बगाउने पानीलाई भन्यो के सुन्थे भगवान् । उनी पनि भगवतीसँग रासलीलामा मस्त पो हुन् कि । नत्र संसार यसरी तहसनहस हुँदा दृष्टि खुल्नु पर्ने हो नि । नारद पनि मस्त निद्रामा परेजस्तो छ । नभए नारायण नारायण भन्दै पुग्नु पर्ने हो उठाउन । त्यही पानीको मारमा मेरो घरमाथिको बाटो परेको थियो । सखापै पार्यो । खुट्टाले सारो ठाउँ छाम्दै फड्को मार्नु पर्ने बाटोबाट गाडी लिएर जाने त कुरै भएन ।
ल्हासा जान कुत्तीको बाटो त ठिकै थियो तर हामी भने पूर्व हुँदै उत्तरको गन्तव्य भेट्नु पर्ने पश्चिमतिर लाग्यौँ । पश्चिमबाट दक्षिण हुँदै पुनः पूर्व लागेर फेरि पश्चिम हानिदा बल्ल घरदेखि उत्तरमा रहेको रमणीय त्रिशूलडाँडा पुग्ने भयौँ । बिरनको नियन्त्रणमा रहेको महिन्द्राको सुब भैरवी, सारिना, रन्जू, आरती, ससान्त, विर्यान्ट, सक्षम र मलाई कोचेर छालिङ थापागाउँबाट निस्क्यो त्यस्तै चार बजेतिर । बहिफाँट हुँदै गएको सुब खरिपाटी ब्यारेकलाई बाँया पारेर छेकटो हान्दै नगरकोटको बाटो समाउन पुग्यो । जाँदै थियौँ । कसोकसो मेरा आँखा त्रिशूलडाँडामा टाँसिन पुगे मेरै घरपारिको बाँसबारीबाट । बाफरेबाफ त्रिशूलडाँडालाई त कालो न कालो रुन्चे बादलको बथानले रुझाउन पो थालिसकेको रहेछ ।
‘ल गएन के त्रिशूलडाँडा । हेर त पानीको मुस्लो ।’ भन्दै मैले सबैको ध्यान आकृष्ट गरेँ ।
‘ला ! कसरी जानु त्यस्तोमा त ।’ सबैको मुखबाट निस्क्यो ।
‘हेरौँ न । त्यहाँसम्म पुग्दा पानी रहन्छ कि ।’ बिरनको आशा पोखियो ।
अब आइसकियो । जे त पर्ला भन्नु सिवाय अर्को विकल्प पनि के नै थियो र हामीसँग । त्यसैलाई साथ लिएर मनभरि आशाको गुठुरो कसेर बस्यौँ हामी । बिरनको आदेशको पालना गर्दै महिन्द्रा सुब कुदिरह्यो आफ्नै रफ्तारमा ।
घुमाउने र लप्टनडाँडालाई पछि पार्दै खरिपाटीलाई भेट्न पुग्यौँ हामी । भ्रम नपरोस् । खरिपाटी नगरकोट डाँडाको फेदैमा छ भन्दा पनि हुन्छ । त्यहाँबाट केही मिनेट जाँदा नगरकोट र तेलकोट जाने उकालो सुरु हुन्छ । वास्तविक खरिपाटी पनि त्यही हो । जहाँ म सानो छँदा आमाले हालिदिनु भएको तीनचार पाथी मकैको धोक्रो सकीनसकी बोकी काकीआमाहरूको पछि लागेर घट्ट जान्थेँ र पिठो पिँध्न लगाएर ल्याउँथे । खरिपाटी ब्यारेकचाहिँ नयाँ नाम हो । जहाँ निकै समयअगाडि राजा महेन्द्रले त्रिभूवन विश्वविद्यालय स्थापना गर्न खोजेका थिए रे । त्यति बेला भक्तपुर बजारका मानिसहरूको ठूलो विरोधका कारण हाम्रो र तमाम् भक्तपुर जिल्लावासीको भविष्यमा ताला लागेको थियो । पछि सेनाले लिएर ब्यारेक बसाउँदा भने किन चुपचाप बस्यो कुन्नि भक्तपुर सहर, थाहा भएन । मलाई भविष्यमा ताला लाग्यो भन्ने यसर्थमा लाग्छ कि यदि त्यति बेला विश्वविद्यालय त्यहाँ बसिदिएको भए आज भक्तपुरको मुहार अर्कै हुन्थ्यो र जिल्लावासीले घरमा खाएको तातो ढिँडो नसेलाउँदै विश्वविद्यालयका कक्षाकोठामा बस्न पुगेर उच्च डिग्री बोक्न पाउँथे । त्यो घाटा भक्तपुरवासीले त व्यहोर्नु पर्योपर्यो त्यसका साथै सम्पूर्ण जिल्लावासीले पनि व्यहोर्नु परिरहेको छ । खैर जे भयो सो भयो । पछुताउनुको विकल्प रहेन ।
खरिपाटीलाई छाडेपछि उकालो सुरु भयो । महेन्द्रा सुब पनि अलि गर्माउन थाल्यो । र पनि बल लगाएर हामीलाई तान्दै थियो । अगाडि आइपुग्यो तेलकोट भञ्ज्याङ । हाम्राअगाडि दुइटा डुङ्गा तेर्सिए । त्रिशूलडाँडा र नगरकोट जाने । त्रिशूलडाँडा असिन्धरे पानीमा पौडिरहेकै थियो । त्यो वर्षा यता नगरकोटतिर तर्न सक्ने सम्भावना पनि उत्तिकै बलियो थियो तर तरिसकेको थिएन । दुई डुङ्गाको यात्रा असम्भव हुन्छ, सङ्कै छैन । हामीले एउटालाई रोज्नु थियो । अतः नगरकोट जाने एउटै डुङ्गामा सबैका खुट्टा चोपल्यौँ । एकातिरका लागि लम्केका हाम्रा पाइला अन्तै मोडिए । महिन्द्रा सुबले आफ्नो बाटो ततायो ।
‘ऊ त्यहाँमाथि राम्रो बुद्धको मुर्ती बनाएको छ । त्यो पनि हेर्नका लागि राम्रो ठाउँ छ । अलि परबाट देखिन्छ होला ।’ छोरी सारिनाले चिनाइन् ।
हाम्रा आँखा पनि राम्रो ठाउँ भनेपछि नहेरी रहन किन सक्थे र । सबैका आँखा त्यतै तानिए । नभन्दै नगरकोट जाँदा बायाँपट्टि बाटोमाथि बुद्ध पलेटी कसेर बसेका रहेछन् । समय बचेमा फर्कँदा बुद्धसँग भलाकुसारी गर्ने र त्यहाँको दृश्यसँग लाडिने टुङ्गो तय गरेर हामी नगरकोटलाई नै पच्छ्याउन थाल्यौँ ।
हाम्रो बायाँपट्टि फाट्टफुट्ट ठुला ठुला रूखका छहारी हालेर लमतन्न सुतेका पाखा देखिन्थे भने दायाँपट्टि घना बालवन हरियालीको रसपान गराइरहेको थियो । बीचबाट घट्टेखोला छङछङाउँदै झरिरहेको थियो । चराचुरुङीको चिरबिर उत्तिकै मनमोहक थियो । एकातिर काफल पाक्यो, काफल पाक्यो भनेर आफ्नो खसमलाई बोलाउँदै थिइन् चरी । अर्कातिर को हो, को हो भनेर उनको खसम सोध्दै थियो । म काफल पाक्यो, कोहो र चिरबिरलाई मनभरि बिच्छ्याएर मनमोहक दृश्यको रसपान गर्दै महिन्द्रा सुबसँग चढ्दै थिएँ उकालो ।
‘ऊ हामीलाई को हो, को हो भनेर सोद्धै छ चरा । भनिदेऊ न हामी हो भनेर ।’ मैले जिस्कँदै भैरवीलाई भनेँ ।
‘त्यसो होइन बुढा । उसले सोधेको काफल पाक्यो, काफल पाक्यो भन्ने चरीलाई हो ।’
‘अनि किन त उसले म हो नभनेकी ?’
‘यसको पनि एउटा कथा छ क्या ।’ उनले भनिन् ।
‘भन त सुनिहालौँ ।’ मैले भनेँ ।
‘ल सुन, काफल पाक्यो र को हो भनेर सोध्ने चाराचरीको कथा । कुनै समयमा यी दुई लोग्नेस्वानी रहेछन् । लोग्ने कमाउन परदेश जाने भए छ । उसले म काफल पाकेपछि आउँछु भनेर गएको रहेछ । तर त्यसै बीच उसलाई कुनै व्याधाले मारिदिएछ । मृत्युपश्चात् पनि चरा नै भएर जन्मे छ ऊ तर अघिल्लो जन्मको कुरा उसले सबै बिर्सेछ । उता काफल पाक्ने बेलामा आउँछु भनेर परदेश हिँडेको लोग्नेलाई पर्खिरहेकी थिई एक्ली चरी । काफल त पाक्यो तर उसको खसम आएन । अनि परदेसिएको लोग्नेलाई सुनाउनका लागि भन्न थालिछ, काफल पाक्यो, काफल पाक्यो । लोग्नेले अघिल्लो जन्मको कुरा त भुलिसकेको थियो । उसलाई लागेछ को कराउँछ यो र सोध्न थालेछ, को हो, को हो ? भनेर । बुझ्यौ बुढा अब त ?’ उनले अथ्र्याइन् ।
भैरवीको कथा सुनेपछि, ‘कसैले तिमीहरू लोग्नेस्वास्नी हौ भनेर उनीहरूलाई चिनाइदिनु नि ।’ भन्ने पनि लाग्यो मनमनै ।
‘अनि म पनि त्यसरी कतै जानु पर्यो भने के भनेर जाऊँ ? भन न ।’ मैले भैरवीलाई जिस्क्याउँदै भनेँ ।
‘धत त्यस्तो कुरा नगर । तिमीलाई त म कहाँ छाड्छु र । जता तिमी उतै म हा हा हा ।’ भन्दै मीठो मुस्कान छाडेर हासिन् उनी । उकालोको यात्रामा यसरी नै रम्दै गइरहेका थियौँ हामी ।
‘बाबा ! यहाँबाट रमाइलो दृश्य देखिन्छ रोकौँ ?’ छोरा बिरनले अनुमति माग्यो ।
‘हुन्छ नि बाबु । रोक ।’ मैले भने । त्यसैको भोको त थिएँ म । अनि रमाइलो दृश्यलाई कसरी छाड्न सक्थेँ र म पनि । त्यहाँ महिन्द्राबाट ओर्लेर रमणीय दृश्यसँग रमाउँदै सेलफोनभित्र पस्यौँ हामी र लाग्यौँ उकालो सुबभित्र कोचिएर । गन्तव्य त भेट्न बाँकी नै थियो ।
घरबाट करिबकरिब एक घण्टाको कुदाइपछि उसको गन्तव्यमा लगेर बिसायो महिन्द्राले । हाम्रो गन्तव्य भने अझै झुल्किसकेको थिएन । समुद्रसतहबाट एक्काइस सय पन्चानब्बे मिटरको उचाइमा रहेको नगरकोटको टुप्पोमा पुग्न त्यहाँबाट पनि अझै निकै सिँढी चढ्नु पथ्र्यो हामीले । बनको बिचैबीच रमणीय दृश्यहरूसँग टाँसिएर सेलफोनमा भित्रँदै सिँढी उक्लियौँ । जब पुगेँ काठमाडौँबाट बत्तीस किलोमिटरको दूरीमा रहेको चुचुरो चुम्न, तब मन खिस्रिक्क भयो । मैले छसात वर्षअगाडि छोरा बिरनको मोटरबाइकमा त्यहाँ पुगेर हेरेको जिर्ण फलामे टावरको हालत आज पनि उस्तै रहेछ ।
त्यो क्षण म भन्न सक्दथेँ । पर्यटक व्यवसाय धरासाही थियो र अझै छ पनि । विदेशीको आवागमन शून्यप्राय भन्दा पनि हुन्छ । तर त्यसअगाडि त थियो नि । पञ्चायतकालमा बिहानको दुईतीन बजे विदेशीलाई सूर्योदयको दर्शन गराउन यति ट्राभल्सका ठुलाठुला बसको लाम नगरकोटको चुचुरोतिर गइरहेको देख्थेँ म घरको झ्यालबाट । विदेशीको गोजीबाट डलर झारेकै थियो । स्वदेशीको खल्तीबाट रुपियाँ खसालेकै थियो । त्यति मात्र होइन जनताले कर त तिरेकै छन् तर त्यो टुप्पोमा ठडिएको टावरलाई त्यसले काम गरेन छ । आजसम्म पनि जिर्ण फलामे टावर छातीमा ‘टावर चढ्न मनाही छ ।’ भन्ने खतराको सङ्केत स्वरूप विज्ञापन टाँसेर उभिएकै रहेछ । र पनि मानिसहरू टावरमाथि चढेर रमाई रमाई सेल फोनमा सगरमाथासँग आपूलाई टाँसिरहेका देखिन्थे । दुर्घटना निम्तिनुअगावै सम्बन्धित निकायको यसतर्फ ध्यान पुग्नु नि । पछि दैलो देखेर के काम ।
त्यस स्थलको जन्मकुण्डलीतिर म लागिन । त्यसका लागि त्यस स्थलमा राखिएका तलका तस्बिरहरू नै काफी होलान् भन्ने मेरो अठोट रह्यो र यसमा सम्लग्न गरेँ ।
यिनमा उल्लेखित मितिअनुसार २०२७ सालमा स्थापना भएको ट्रिगोनोमेट्रिकल स्टेसन २०३० साल पुस १३ गते उद्घाटन भएको अनुमान मैले गरेँ । तिनमा कुँदिएको भाषाको कुरातिर म लागिनँ । जस्तो भए पनि चल्छ भन्ने त थियो होला नि । नभए एउटा भाषाविद्लाई भनेर राम्रो लेखाउन पनि सकिँदो हो । जे भयो सो भयो यसलाई छाडौँ ।
खतराका बाबजुद पनि एक हुल मानिसहरू टावरमा चढेर त्यहाँको रमणीय दृश्यको स्वाद चाखिरहेका थिए ।


नगरकोट वरिपरिका अलौकिक दृश्यहरूसँग आँखा जुधाउन थालेँ । त्यतिकैमा टावरमा सल्बलाइरहेको मानिसको झुन्ड तल झ¥यो । कोरोनाको जोखिम मोलेरै पनि नगरकोटको शिरमा निर्मित जिर्ण फलामे टावरको टुप्पोमा हामी पनि उक्लियौँ । त्यहाँबाट नेपालमा अवस्थित तेह्रवटा हिमाली रेन्जहरूमध्ये आठवटा अन्नपूर्ण, मनासलु, गणेश, लाङटाङ, जुगल, रोलवालिङ, महालङ्गुर(सगरमाथा) र नुम्बुर हिमाली रेन्जभरि अस्ताचलको सूर्यले पोतेको रक्तिम लालिमासँग रमाउने ठूलो धोको थियो तर मेरा प्यारा हिमाली रेन्जहरू बादलको अनगिन्ती झुप्पाहरूको पर्दा तुनेर स्वागरात मनाउन थालिसकेका रहेछन् । रै पनि त्यसको वरिपरि देखिने पाँचखाल, पनौती, राजधानी उपत्यका र शिवपुरी जलाधारको अनुपम दृश्यसँग भने मीठो स्वाद लिँदै प्रशस्त आँखा जुदाएँ ।
टावरमा धेरै समय बस्नु उचित लागेन र हामी सबै ओर्लियौँ । मेरो मनमा जनैपूर्णिमाका दिन मेला लाग्ने महादेवपोखरी कहाँनिर होला भन्ने एउटा कुतकुती मडारिरहेको थियो । त्यसले फेरि पनि मलाई झस्कायो ।
‘अनि महादेवपोखरी कहाँनिर पर्छ नि छोरी ?’ मैले सारिनालाई सोधेँ ।
‘यहीँ तल पर्छ बाबा । हिँडेर त्यस्तै पाँचसात मिनेट लाग्छ । जाने हो ? जाऊँ न ।’ उनले भनिन् । मैले महादेवपोखरी निकै ठूलो होला । डर लाग्दो होला । भन्ने सोच पालिरहेको थिएँ धेरैअगाडिदेखि । जब त्यहाँ पुगेँ, थाहा भयो । एउटा घरको कोठा जत्रो पो रहेछ महादेवपोखरी र्याक्ट्याङ्गुलर सेपको । साथमा सानो देवीदेवताको मन्दिर । अलि पर तीनचारवटा मानिस बस्ने छाप्रा । झल्याकझुलुक देखिने केही मानिसहरू । पुगनपुग एउटा फुटबल मैदानमा सबै कुरा अटेको रहेछ । त्यही रहेछ महादेवपोखरी । त्यहाँ पनि आराध्यदेव शिव र अन्य देवीदेवताको दर्शन भ्याएर महिन्द्रा भएतिर उक्ल्यौँ हामी । पशुपतिको जात्रा गएका हामी सिद्राको व्यापार पनि भ्याएर महिन्द्रामा भित्रियौँ ।
समयले बासस्थानको सङ्केत गरिसकेको थियो । समयलाई पच्छ्याउन थाल्यो महिन्द्रा । घरमाथिको त्रिशूलडाँडाको मोहक दृश्यसँग रमाउन निस्केका हामी । पुग्यौँ नगरकोट । यो पनि पूर्वीय दर्शन कै खेल पो हो कि, ‘देखेको पाइन्न । लेखेको पाइन्छ । जतिबेला जे हुनु छ त्यही हुन्छ । अनि जे हुन्छ राम्रै हुन्छ ।’ स्वीकार्नै पर्यो । हाम्रो ललाटमा पनि त्यो समय त्रिशूलडाँडा होइन नगरकोटको स्टिकर टाँसिएको रहेछ । अतः नगरकोटकै अवलोकन भ्याएर साँझ सात बजेतिर घर पुग्यौँ ।

