
मुक्तक
सुभद्रा अधिकारी
१
कर्मथलोमा प्यारो बन्न कामभन्दा बढी मुस्कान छोड्नुपर्छ
मनमा जेसुकै होस् अघिपछि लागेर हात जोड्नुपर्छ
काम त सबैले गर्छन् आफ्नो जिम्मेवारी अनुसारको
तिमी त जाति,गलतसँग प्रतिक्रिया हैन मुन्टो मोड्नुपर्छ।
२
गणेश नीति कलियुगमा बलियो भन्दै छ
अरुलाई लतारे अगाडि बढियो भन्दै छ
समयको खेल कर्मशीललाई थाहा होला
ऊ काधमा चढी भर्याङ चढियो भन्दै छ ।
३
हिरालाई कीरा कीरालाई हीरा ठान्छन् अचेल
गुदी हैन खोस्टा हेरेर मूल्यवान मान्छन् अचेल
वास्तविकता लुकाएर भ्रममा रमाउने भिडमा
गुणभन्दा गफमा क्षमतास्तर छान्छन् अचेल ।
४
तिमी मौन बस्यौ ,अरुले आआफ्नै अर्थ लगाए
कतिले अर्थ जमाए कतिले तिम्रा दुष्मन जगाए
तिमीले मौनता तोड्न साइत हेरर बस्दाबस्दै
अरुले मन मस्तिष्कबाट तिम्रो याद भगाए।
५
सम्पतिको कुनै मूल्य हुन्न,मनमा दरिद्रता छाएपछि
उठाउने हातहरु बिर्सिन्छ,दौलतको पछि लागेपछि
कृतघ्न ,दरिद्र मनुवालाई के पत्तो समयको खेल
मानवतामा बिर्को लाग्ने ,धनलाई सर्वोपरि ठानेपछि ।
६
कन्सुत्लाहरुको विगविगी छ घरतिर सर्न सक्छन्
कानमा आइ सुटुक्क बदलाको भाव भर्न सक्छन्
होसियार रहनु सधैँ कन्सुत्लासँग अति छिटा तिनी
भाइभाइ लडाए तिनले आफू मस्ती गर्न सक्छन ।

