
काठमाडौँ । नेपालले आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय शृंखलामा आज क्यानडाको सामना गर्दै छ ।
ओमानको अल अमिरेत रंगशालामा नेपाली समयअनुासर बिहान ११ः१५ मा सुरु हुने खेल आफ्नो पक्षमा पार्दै नेपाल शीर्ष ६ मा स्थान पक्का गर्ने लक्ष्यमा छ ।
यो खेल गुमाए नेपाललाई सोमबार हुने ओमनविरुद्धको खेल जित्नै पर्ने दबाब सिर्जना हुनेछ ।
नेपालले लगातार तेस्रो जितको खोजीमा छ । यसअघि टोलीले क्यानडा र ओमानलाई पराजित गरेको थियो ।
यता, क्यानडा पनि जित निकाल्दै शीर्ष ६ को सम्भावना जिवितै राख्न चाहन्छ । क्यानडाको लिग–२ मा यो अन्तिम खेल हो ।
क्यानडाले पछिल्लो खेलमा ओमानलाई हराएको थियो । त्यसअघि भने टोली ओमान र नेपालसँग पराजित भएको थियो ।
रोहिककुमार पौडेलले लय समात्नु नेपालका लागि सुखद पक्ष हो । उनले दुई खेलमा गरी १६२ रन प्रहार गरिसकेका छन् ।
रोहितलाई गुल्शनकुमार झा, इशान पाण्डे, बसिर अहमदजस्ता खेलाडीको साथ रहनेछ ।
यसैगरी, बलिङमा नन्दन यादव र कप्तान सन्दीप लामिछाने निर्णायक बन्न सक्छन् । जारी शृंखलामा दुवैले पाँच–पाँच विकेट लिएका छन् ।
बलिङमा करण केसी, ललितनारायण राजवंशीजस्ता खेलाडीको पनि महत्त्वपूर्ण भूमिका रहनेछ ।
नेपालले बसिर, गुल्शनकुमार झा, रोहितलाई पनि बलिङमा प्रयोग गर्न सक्छ । दीपेन्द्रसिंह ऐरी अलराउन्डको भूमिकामा रहनेछन् ।
