
सुजाता राई , विराटनगर।कोशी र मधेश प्रदेशले खेलकुद प्रतियोगिता आयोजना, खेलाडीको दक्षता अभिवृद्धि तथा खेल पर्यटन प्रवर्द्धनमा सहकार्य गर्ने भएका छन्। यसका लागि शुक्रबार विराटनगरमा दुवै प्रदेशका खेलकुद निकायबीच समझदारीपत्रमा हस्ताक्षर भएको छ।
विराटनगर–१२ स्थित कञ्चनजङ्घा पार्टी प्यालेसमा आयोजित कार्यक्रम पत्रकार सम्मेलनमा कोशी प्रदेश खेलकुद विकास बोर्डका सदस्य–सचिव विप्लव घोष र मधेश प्रदेश खेलकुद विकास परिषद्का सदस्य–सचिव शिवजी प्रसाद कानु (शिवजी गुप्ता)ले समझदारीपत्रमा हस्ताक्षर गरेका हुन्। सम्झौता २०८४ असार मसान्तसम्म कायम रहनेछ।
पत्रकार सम्मेलनमा सम्झौताको उद्देश्य, खेलाडीको क्षमता अभिवृद्धि र दुई प्रदेशबीच खेलकुद विकासका क्षेत्रमा गरिने सहकार्यबारे जानकारी गराइएको थियो।
सम्झौताअनुसार दुवै प्रदेशले संयुक्त वार्षिक क्यालेन्डर तयार गरी पालैपालो मैत्रीपूर्ण तथा उच्चस्तरीय खेलकुद प्रतियोगिता आयोजना गर्नेछन्। प्रतियोगिता आयोजना गर्ने प्रदेशले स्थानीय यातायात, आवास तथा व्यवस्थापकीय खर्च बेहोर्नेछ भने सहभागी टोलीले यात्रा र पूर्वतयारी खर्चको व्यवस्था गर्नेछ।
खेलकुद क्षेत्रका जनशक्तिको दक्षता अभिवृद्धि गर्न खेलाडी, प्रशिक्षक, रेफ्री, अम्पायर तथा खेल प्रशासकका लागि संयुक्त तालिम, कार्यशाला र अनुभव आदान–प्रदान कार्यक्रम सञ्चालन गरिनेछ। राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिताका लागि बन्द प्रशिक्षण, खेल पूर्वाधार विकास र प्रविधिमा साझेदारी गर्नेसमेत सम्झौतामा उल्लेख छ।
कार्यक्रममा कोशी प्रदेश खेलकुद विकास बोर्डका सदस्य–सचिव विप्लव घोषले खेलकुद प्रतिस्पर्धा मात्र नभई सपना, संघर्ष र देशको गौरव बढाउने माध्यमसमेत भएको बताए। खेलाडीको मेहनत खेर जान नदिन, प्रतिभाको उचित सम्मान गर्न र युवाका सपना राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरसम्म पुर्याउन खेलकुद क्षेत्रको वास्तविक विकास आवश्यक रहेको उनको भनाइ थियो।
कोशी र मधेशबीचको सहकार्य सम्झौतामा मात्र सीमित नभई खेलाडीको भविष्य उज्ज्वल बनाउने बलियो आधार बन्नुपर्नेमा उनले जोड दिए। ‘खेलाडीको सम्मान, प्रदेशको पहिचान—खेलकुदको विकास, राष्ट्रको शान’ भन्ने सन्देशसमेत उनले व्यक्त गरे।
दुवै प्रदेशका सदस्य–सचिवले प्रादेशिक संरचना बनेपछि छिमेकी प्रदेशबीच खेलकुद विकासका लागि भएको यो पहिलो संस्थागत सहकार्य भएको बताएका छन्। उनीहरूका अनुसार सम्झौताले खेलाडीको क्षमता विकास, अन्तरप्रदेशीय सम्बन्ध विस्तार तथा खेल पर्यटन प्रवर्द्धनमा सहयोग पुर्याउनेछ।
कार्यक्रममा कोशी प्रदेश खेलकुद विकास बोर्डका सदस्य–सचिव घोष, उपाध्यक्ष वसन्तराज अर्याल, बोर्ड सदस्य प्रवीणकुमार कार्की, अनिरुद्र चौधरी तथा लेखा अधिकृत दीपक घिमिरेलगायतको उपस्थिति थियो।
