
इति मार्कण्डेय पुराने सावर्णिक मन्वन्तरे देवी माहात्म्ये परिसमाप्तमितिः ।
सम्वत् ३१६ प्रथमाषाढ शुक्लैकादश्यां सोमवारे ।
राज्ये श्रीविजयकामदेववाख्यो भट्ट श्रीहरिचन्द्र सर्मस्य पुण्यविवृद्धितार्थेनः श्रीमद्देव्याया स्तव दैवज्ञ श्रीरत्नचन्द्रेन लिखित मितिः ।। शुभम
मार्कण्डेय पुराणको सावर्णिक मन्वन्तरको देवीमाहात्म्य सिद्धियो ।
ने.सं ३१६(वि.सं १२५३) प्रथमाषाढ शुक्ल एकादशी सोमवारमा राजा विजयकामदेवको राज्यमा भट्ट श्री हरिचन्द्र शर्माको पुण्य बढोस् भनी श्रीदेवीको स्तोत्र ज्योतिषी श्रीरत्नचन्द्रले सारेको हो ।
यो उद्धरण नेपाल राष्ट्रिय अभिलेखालयमा रहेको सप्तशतीको पुष्पिकावाक्यबाट उधृत गरिएको हो । यसमा भएको मितिको बारेमा श्रीलुसियानो पेटेकले आफनो मेडिइभल हिष्टरी अफ नेपालको पृष्ठ ७५—७६ मा यो भनिएको रहेछ कि यस वर्ष सिंह संक्रान्ति श्रावणमा परेको थिएन । यसकारण भारद्वाज सिद्धान्त बमोजिम आषाढमा अधिमास परेको थियो । गणना गर्दा तिथिमिति मिल्दैन । यो तिथि इ.सं ११९६ जून ८ को दिन पर्दछ तर शनिवार आउँछ सोमवार आउँदैन । यो बडो आश्चर्यको कुरो देखिन आयो किनभने तत्कालीन ज्योतिषी श्री रत्नचन्द्रले सारेको पुस्तकमा शनिबार हुनुपर्ने सोमबार लेखिएको हुनै नपर्ने । यसको मतलव ज्योतिष रत्नचन्द्र भन्दा दिग्गज महान त लुसियानो पेटेक पो ठहराउनु पर्ने खण्ड पो आउने भयो ।
यही तिथिमितिको गणना संशोधन मण्डलले पनि परीक्षण गरेर हेरेको रहेछ भन्ने कुरा पूर्णिमा अंक १४ वर्ष ४ अंक २ पृष्ठ १०२ मा पनि दिइएको रहेछ ।
यसमा यो मितिको गणना भनेर यसरी दिइएको रहेछ।

ने.सं ३१६ (वि.सं १२५३) प्रथमाषाढ शुक्ल गते आषाढ १४ वार शनि तिथि एकादशी घडी ३४ पला २३ । तर मूलमा सोमवार दिइएको छ ।गणना गर्दा शनिवार आयो । यस कारण गणना मिलेन ।
मूलमा भएको तिथिमितिलाई ने.सं ३१६ (वि.सं १२५३) प्रथमाषाढ कृष्ण आषाढ ३० गते वार सोम तिथि एकादशी घडी ४ पला १९ भनेर दिइएको रहेछ । यसको मतलव ज्योतिष रत्नचन्द्र भन्दा पनि दिग्गज महान त संशोधन मण्डलका प्रणेता नयराज पन्तलाई पो ठहराउनु पर्ने खण्ड पो आउने भयो । यो त बडा ताज्जुव लाग्ने विषय पो भयो । किनभने त्यतिवेलाका नामुद ज्योतिषी जस्तो व्यक्ति रत्नचन्द्रलाई न वारको ज्ञान छ न शुक्ल पक्ष र कृष्ण पक्षको ज्ञान छ , यस्तो त हुनै नपर्ने । साँच्चै को ? गलत रहेछ कि हेर्नै पर्ने भयो भन्ने अत्यन्त खुल्दुली जागेको हुनाले त्यस मूलमा भएको तिथिमितिको गणना गरी हेर्ने पर्ने अवस्था आएको हो ।
स्रोतमा दिइएको नेसं ३१६ प्रथमाषाढ शुक्ल एकादशी सोमबार छ । यो मितिको गणना यस प्रकार छः
नेसं ३१६ मा ८०२ जोडेपछि १११८ लिच्छविसंवत् (लिच्छविकालमा चलेको संवत्) आउंछ । यो १११८ भनेको शक १११६ को कार्तिकदेखि १११७ को आश्विनसम्म रहन्छ ।
तसर्थ, नेसं ३१६ आषाढ भनेको शक १११७ हुन्छ । शक १११७ मा ७८ जोडे पछि ११९५ इश्वी हुन्छ । मूलमा प्रथमाषाढ शुक्ल भनेर दिइएको ने.सं ३१६ को वर्षमा अधिकमास परेको देखियो । अधिमास क्षयमास सारणीमा शक १११६ चैत्रमा अधिमास परेको उल्लेख छ । यसरी शक १११६ को चैत्रमा परेको अधिमास १११६को कार्तिकदेखि १११७ को आश्विन भित्रै परेको भयो । धर्मनिर्णयतिथिसार संग्रहमा दिइए अनुसार नारदमत र भारद्वाजमत दुबै मतले चैत्रमा परेको अधिमास आषाढमा मानिन्छ । ने.सं ३१६ सम्म पनि नेपालमा आषाढ र पौषमा अधिमास मान्ने लिच्छविकालको चलन गएको थिएन भन्ने स्पष्ट हुन्छ ।
इष्ट इश्वीसन् ११९५ लाई ४ ले भाग गर्दा निःशेष भाग लागेको देखिएन अतः यो साधारण वर्ष नै देखियो । अर्को शक १११६ चैत्रमा परेको अधिमास सहित गणना गर्नु पर्ने हुन्छ ।
तिथिगण चैत्र १,अधिमास२ वैशाख ३+जेष्ठ४ + आषाढ शु.११ =३०गुणन४+११= १२०+११=१३१ अमान्तमान अनुसारको तिथिगण। १३१—१५= उपकरण
परिणामः— स्रोतको मिति नेसं ३१६ प्रथम आषाढ शुक्ल एकादशी सोमबार दिइएकोमा यहाँ आएको गणनाको परिणामले शक १११७ प्रथम आषाढ शुक्ल एकादशी भनेको इस्वीसन ११९५ जुलाई १७ तारिख आएको मात्र नभई बार पनि सोमबार नै आएको छ । जुलाई १७ भनेको वि.सं १२५२ श्रावण १ गते तिर पर्न आउँछ ।
प्रतिकृयाः
१.गणना अलि होशियारी पूर्वक संवेदनशील भएर गरियो भने मूल स्रोतमा भएको तिथिमिति ने.सं ३१६ प्रथमाषाढको शुक्ल पक्षको एकादशी सोमवार दिइएको र तारिख गणनाले इस्वीसन ११९५को जुलाई १७ तारिख आएर पनि वार त सोमवार नै आउने रहेछ । लुसियानो पेटेकले इस्वी ११९६ जून ८ तारिख शनिवार भनेको पूर्णतया गलत रहेछ । त्यस्तै गरी संशोधन मण्डलका प्रणेताले प्रथमाषाढ शुक्ल एकादशी भनियो भने शनिवार आउने र त्यो दिन आषाढको १४ गते पर्ने हुन्छ । यदि यसलाई प्रथमाषाढ कृष्ण पक्ष एकादशी मानेको खण्डमा वार सोमवार नै पर्न आउने तद्नुसार आषाढ ३० गते पर्न आउँछ भनेर दिइएको पनि पूर्णतः गलत नै रहेछ भन्ने देखियो ।
२. संशोधन मण्डलका अनुसार प्रथमाषाढ शुक्ल आषाढको १४ गते पर्ने भएको भए प्रथमाषाढ कृष्ण आषाढको ३० गते कुनै हालतमा पर्दैन किनभने शुक्ल पक्ष होस् या कृष्ण पक्ष एक पक्षमा १५ दिन भन्दा बढी हुँदैन यदि कुनै तिथि टूट भएन भने टूट भएमा १४ दिन मात्र हुन्छ । त्यही भएर शुक्ल पक्षको एकादशी आषाढ १४ गते परे तिथि टूट नभए २९ गते पर्ने हुन्छ टूट भए २८ गते पर्ने हुन्छ । १४ गते शनिवार परे ३० गते सोमवार अवश्य पर्छ तर एकादशीको तिथि २९ गते नै सिद्धिन्छ । यो कुरा गणितज्ञहरुमा ज्ञात रहने कुरा हो ।
३. पञ्चाङ्गकार जो सुकैलाई पनि ज्ञात रहने कुरा भनेको विक्रमसंवत्मा आषाढकृष्ण पक्ष अघि र आषाढ शुक्ल पक्ष पछि आउँछ । किनभने यहाँ गणक जानाजान आषाढ शुक्ल एकादशी १४ गते पर्ने बताइ सकेपछि आषाढकृष्ण एकादशी आषाढको ३० गते होइन आषाढ १४ गते भन्दा अगावै परेको देखाउनु पर्ने हुन्थ्यो यहाँ गणकले जानाजान बूझ पचाएको हो कि भन्ने देखियो ।
४. गणकले भने जस्तो साँच्चै प्रथमाषाढ कृष्ण मानी गणना गर्दा मिल्यो र प्रथमाषाढ कृष्ण लेख्नु पर्नेमा प्रथमाषाढ शुक्ल लेखिन गएको अनुमान हुन्छ भनी जुन बोलेको कुरा सत्य हो भए त्यसलाई चटक्क बिर्सन पाइन्न । किनभने यही तिथिमितिको गणना पूर्णिमा अंक ७८ वर्ष २० अंक २ को पृष्ठ १७ मा दिइएको गणना यस प्रकार छः नेपालसंवत् ३१६ प्रथमाषाढशुक्ल एकादशी सोमवार
३१६+८०१=१११७ हुने हुनाले शकसंवत् १११७ को कार्तिकशुक्ल प्रतिपदादेखि शकसंवत् १११८ को आश्विन(पूर्णान्तमानले कार्तिक) कृष्ण अमावाश्यासम्म उक्त संवत् ३१६ रहन्छ । अधिमासक्षयमाससारणीमा शक १११८को श्रावणमा अधिमास परेको छ । माथि उद्धृत गरिएका नारद र भारद्वाज दुवैका वचन अनुसार श्रावणमा परेको अधिमास आषाढमा मानिने भयो । यसरी सप्तशतीको पुष्पिकावाक्यमा दिएको अधिमास ट्वाक्क मिल्यो ।
५.त्यसरी ट्वाक्क मिल्यो भनेको कसरी ? माथि त्यही तिथिमिति प्रथमाषाढ शुक्ल एकादशी मिलेन भन्ने प्रथमाषाढ कृष्ण एकादशी भए मात्र सोमवार आउँछ भन्ने जिकिर यहाँ ठ्याम्मै बिर्सेको किन? माथि ने.सं ३१६ को समानान्तर वि.सं १२५३ भन्ने यहाँ शक १११७ मा १३५ जोडेपछि ११५३ त आउँदैन । माथि ने.सं ३१६ भनेको शक १११८ को कार्तिकदेखि १११९को आश्विनसम्म रहने देखाउने र १११८ को कार्तिकदेखि १११९ को आश्विन बीच अधिमास परेको नदेखाइकन पनि गणना मिल्छ भन्ने तल आएर शक १११७को कार्तिकदेखि १११८को आश्विन बीच १११८ श्रावणको अधिमास यसै भित्र प¥यो भनी देखाउने पारा बुझी सक्ने भएन । शेषनागको हजार जिब्रा भने जस्तै संशोधन मण्डलको पनि अनेक जिब्रा कसरी देखा परेको हो ?
६. लुसियानो पेटेकको नजरमा शक १११८ श्रावणको अधिमास श्रावणमा परेको होइन त्यो भन्दा अघि परेकोले भारद्वाज मत आकर्षित भएको भनी जिकीर गर्ने र संशोधन मण्डलको पछिल्लो जिकीर मुताविक १११८ श्रावणको अधिमास नारदमत आकर्षित भएको भन्ने रहेको छ । वास्तवमा ने.सं ३१६ भनेको शक १११६ को कार्तिकदेखि १११७ को आश्विनसम्म रहने अमान्तमान वर्ष हो । यस वर्ष भित्र शक १११६ चैत्रको अधिमास परेको हो १११८ श्रावणको अधिमास परेको होइन भन्ने कुरा माथि प्रस्तुत तारिख गणनाले प्रष्ट पारेको छ ।
७. लुसियानो पेटेकका अनुसार अधिमास परेको वर्ष भनेर थाहा हुँदै आषाढशुक्ल एकादशी जूनको ८ तारिखमा पर्ने जिकीर गर्नु स्वतः गलत थियो । जव ने.सं ३१६ आषाढ भनेको शक १११८ आषाढ भने पछि शक १११८ श्रावणको अधिमास १११८ आषाढमा गणना नै हुँदैन । यो हेक्का राखेनन् किनकि इस्वी ११९६ श्रावण भनेको हुनाले ७८ घटाए शक १११८ आषाढ हुन्छ । यता संशोधन मण्डल भने ने.सं ३१६ आषाढ भनेको कहिले शक१११७ आषाढ भनेर जिकीर गर्ने कहिले शक १११८ आषाढ भनेर जिकीर गर्ने हुनाले शक १११७ को वर्षमा अधिमास नै परेको छैन यदि शक १११८ आषाढ मान्ने हो भने १११८ श्रावणको अधिमास आषाढमा आकर्षित नै हुँदैन भन्ने हेक्का राख्न सकेको छैन ।
८. संशोधन मण्डलले पूर्णिमा १४ मा ने.सं ३१६ आषाढमा ९३७ जोडेर वि.सं १२५३ भएको देखाउने गरेको पनि देखियो । वि.सं १२५३ मा १३५ घटाए शक १११८ आउँछ भन्ने पनि उनकै हिसाव हो तव १११८ मा ३१६ घटाए शक ८०२ आउने पनि उनकै हिसावबाट देखिने हो भने पूर्णिमा ७८ अंकमा आएर ३१६ आषाढमा ८०१ जोडेर शक १११७ देखाउने पनि उनकै हिसावबाट देखिने हुँदा गणितको सिद्धान्त भन्ने कुरा एउटै हुनु पर्दछ त्यही भएर गणितलाई वैज्ञानिक आधार मानेको हो । त्यही एउटा हिसाव गर्दा कुनै बेला कुन सिद्धान्त लिने , कुनै बेला अर्कै सिद्धान्त लिने गरेको गणनालाई गणित पनि भन्दैन र वैज्ञानिक पनि भन्दैन त्यो त केवल जसरी पनि जित्ने दाउपेचको खेलमा मात्र देखिने कुरा हो । त्यस कारण ज्ञान विज्ञानको क्षेत्रमा जसरी भए पनि जित्ने भन्ने दाउको कुनै औचित्य हुँदैन ।
त्यस्तै अर्को एउटा प्रसंग पूर्णिमा अंक १५ वर्ष ४ अंक ३ को पृष्ठ ३४२ मा बोलेको कुरा यहाँ औंल्याउन चाहेको हो । त्यसमा संशोधन मण्डलले इतिहास शिरोमणि बावुराम आचार्यलाई प्रार्थना भन्दै पाठ सिकाउने क्रममा हाम्रो वक्तव्य अन्तर्गत ठ्यासफूमा टिपिएको कुरा दिइएको छ । उक्त ठ्यासफूको उद्धरण यस प्रकार छन् :
“सं ८२९ मार्गशिर शुक्ल द्वा.प्र.त्रयोदशी आदित्यवार ।। थ्वकुन्हु खप्वया जुजु जितामित्रमल्ल अभाग जुर ।। अग्निसंस्कार कायनं यात सति छह्मं मोछोक”
“सं ८२९ पौषशुक्लः ।। नवमी पर दशमी शुक्रवार थ्व कुन्हुया रात्रीस खप्वया यंस सन्र्न वयाओ चोङह्म उग्रमल्ल मिरह्म जुजु गोरोस श्री ३ पशुपतिक्षेत्रस अभाग जुर ।।
( पूर्णिमा १२ पर्णाङ्क ३१ पृ)
यहाँ ठ्यासफूमा दिइएका जितामित्र मल्ल र उनका भाइ उग्रमल्लको मृत्य भएका दिनको गणना गरी हेर्दा ट्वाक्क मिल्छन् । ती गणना यस प्रकारका छन् —
ने.सं ८२९ ( वि.सं १७६५) मार्ग शुक्ल गते १४ वार आदित्य तिथि द्वादशी घ१ प ३५
ने.सं ८२९( वि.सं १७६५) पौष शुक्ल गते ११ वार शुक्र तिथि नवमी घ ३९ प ५३

माथि ठ्यासफूमा द्वादशी प्र त्रयोदशी भनिएको स्पष्ट छ । यसबाट आदित्यवार त्रयोदशीको हो भन्ने प्रष्ट हन्छ । मार्ग शुक्ल त्रयोदशी १४ गते आदित्यवार पर्दछ भने त्यसको केही दिन पछि पौषको ११ गते पौष शुक्ल नवमी पर्दछ कि पर्दैन भन्ने चासो हो ।
क्यालेण्डर बनाएर हेर्ने हो भने मार्ग १४ गते त्रयोदशी मानियो भने त्यहाँ तिथि कुनै टूट छैन भने पौष शुक्ल नवमी १० गते र ११ गते दशमी पर्न आउँछ । तर वार १० गते शुक्रवार र दशमी ११ गते शनीवार पर्न आउँछ ।
ठ्यासफूमा द्वादशी प्र त्रयोदशी भनेको हुँदाहुँदै पनि त्रयोदशीको आदित्यवारलाई द्वादशीको मानी मार्ग १४ गते देखाए पछि पौषको
११ गते नवमी त शुक्रवार होइन शनीवार पर्दछ । अझ ठ्यासफूमा त दशमी शुक्रवार भनिएको छ र त्यो हिसावले दशमी त आइतवार पर्न जान्छ । त्यस कारण दुनियाँलाई झुक्याउन गणना गरेको र ट्वाक्क मिलेको भन्दै आएका छन् ।
यहाँ गणना को कति जान्दछ त्यसको लेखाजोखा गरेर साध्य हुदैन । तर मार्ग १४ गते मार्ग शुक्ल द्वादशी माने पछि पौषको ११ गते ठ्यासफूमा दिइएको तिथि वार कुनै आउँदैन तर पूर्णिमा अंक १५ को पृष्ठ ३४२ मा देखाइएको गणना सरासर ढाँटेको गणना देखियो ।
त्यस कारण संशोधन मण्डलको पूर्णिमा अंकहरुमा जति पनि गणना दिई ट्वाक्क मिलेको भनी बोलेका हुन् ती सबै दुनियाँलाई झुक्याउनका लागि मात्र हो अरु होइनन् भन्ने प्रष्ट रुपले प्रमाणित नै देखियो ।
निष्कर्ष :
यहाँ मुख्यतः औंल्याउन खोजेको कुरा यस प्रकार छन् :
१. कुनै पनि एतिहासिक अभिलेख वा पाण्डुलिपि सार्दा तत्कालीन ज्योतिषी वा लिपिकारले वार र पक्ष नै बिर्सिएर शनिवार हुनुपर्ने सोमवार वा कृष्णपक्ष हुनुपर्ने शुक्लपक्ष लेख्छ भन्नु तर्क संगत ठहरिंदैन ।
२. आधुनिक शोधकर्ता वा इतिहासकारहरु (जस्तै लुसियानो पेटेक वा संशोधन मण्डल)ले आफना सीमित गणना वा मान्यतामा मिति नअटाएपछि प्राचीन ज्योतिष वा अभिलेखलाई नै “गलत” ठहर्याउने जुन परिपाटी बसाले त्यसलाई गणितीय विश्लेषणबाट चुनौती दिनै पर्ने भएको हो ।
३.संशोधन मण्डल एउटै संस्था भएपनि परिस्थिति अनुसार छुट्टाछुट्टै सिद्धान्त प्रयोग गरेर जसरी पनि आफनो पूर्वधारणा सिद्ध गर्ने प्रयास गर्दै आए त्यो ठीक होइन भन्नै पर्ने भएको हो ।
४.संशोधन मण्डलका कतिपय ट्वाक्क मिल्यो भन्ने दाबीहरु माझ तिथि गणितको त्रुटि वा विषयान्तरलाई स्पष्ट पार्नु परेको हो ।
५. संशोधन मण्डल वा पेटेक जस्ता दिग्गज मानिएका विद्वानहरुको निष्कर्ष पनि अन्तिम सत्य होइनन् । गणित र विज्ञानको कडीमा तिनको निष्पक्ष परीक्षण र पुनर्विचार आवश्यक छ भनेर बुझाउनु परेको हो। हेर्दै जाऊँ दुनियाँले कसरी मूल्याङ्कन गर्ला !




