
काठमाडौँ । जापानमा जारी २०औं एसियन गेम्सअन्तर्गत पुरुष क्रिकेटमा नेपाल र आयोजक जापानबीचको खेल वर्षाका कारण नतिजाविहीन भएको छ ।
वर्षाका कारण खेल निर्धारित समयमा सुरु हुन सकेन । करिब एक घण्टा ढिला सुरु भएको खेललाई १५ ओभरमा छोट्याइएको थियो ।
टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित १५ ओभरमा ४ विकेट गुमाएर १४९ रन बनायो । नेपालका लागि जोराले ३२ बलमा ५७ रन तथा लोकेशले २२ बलमा ५२ रन बनाए । दुवै खेलाडी अविजित रहे । आसिफ शेखले २१ रनको योगदान दिए ।
जापानका रियो साकुरानो थोमस, इब्राहिम ताकाहाशी, कुसुदा नारानी र डेक्लान सुजुकीले एक–एक विकेट लिए ।
नेपालको इनिङ सकिएलगत्तै पुनः वर्षा सुरु भएपछि पिच ढाकिएको थियो । लगातार वर्षाका कारण जापानको इनिङ सुरु हुन सकेन र खेल नतिजाविहीन घोषित भयो ।
यससँगै नेपाल समूह ‘ए’को विजेता बनेर क्वाटरफाइनलमा प्रवेश गरेको छ । नेपालले २ खेलबाट ३ अंक जोड्यो । अफगानिस्तान २ अंकसहित समूह उपविजेता बन्यो ।
अब क्वाटरफाइनलमा नेपालले श्रीलंकासँग प्रतिस्पर्धा गर्नेछ ।
