
काठमाडौं । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक नवराज अधिकारीले काठमाडौं, ललितपुर र भक्तपुर तीनवटै जिल्लाबाट मोटरसाइकल एवम स्कूटर हराउने वा चोरी भएका निवेदनहरु दिनमा ६ वटासम्म आउने गरेको बताएका छन् |
शुक्रबार चोरी भएका स्कुटर र मोटरसाइकल सवारी धनीलाई हस्तान्तरण गर्ने क्रममा उनले सवारी साधन खोज्ने काम चुनौतीपूर्ण भएपनि कतिपय केसमा चोरसहित नै पक्राउ गरेर जिम्मा लगाएको बताए ।उनले भने, ‘आज ६० वटा सवारी धनिलाई सवारी साधन हस्तान्तरण गरिएको हो । मोटरसाइकलको हराउने र चोरी भएका निवेदनहरु दिनमा ५, ६ वटासम्म पनि आउने गरेका छन् । काठमाडौं, ललितपुर र भक्तपुर तीनवटै जिल्लाबाट यस्ता उजुरी आउने गरेका हुन् । खोज्ने काम पनि चुनौतीपूर्ण नै हुने रहेछ । कतिपय केस चोरसहित नै पक्राउ गरेर जिम्मा लगाएका छौ ।’
उनले पुष महिनामा मात्र फरक फरक स्थानबाट मोटरसाइकल चोरी गरेर लाने क्रममा पाँचजना चोरसहित समातेर बुझाएको जानकारी दिएका छन् ।सोही क्रममा सवारी धनि रोहन पराजुलीले आफ्नो घरबाट नै चोरी भएको बाइक यति छिटो भेटिदा एकदमै खुशी लागेको बताए ।
उनले भने, ‘मेरो बाईक दुइ हप्ता अगाडि मंसिर २१ गते हराएको थियो । छिटो नै भेटियो । घरबाट नै साँझ ७ः३० बजेतिर हराएको हो । क्षतिग्रस्त अवस्थामा भेटिएको छ, जस्तो अवस्था भएपनि भेट्नु ठूलो कुरा हो । खुशी नै छु ।’
उनले खोजी कार्यमा लाग्ने सबै कर्मचारीलाई पनि धन्यवाद दिएका छन् ।






