
काठमाडौँ । रसुवास्थित त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र फसेका मानिसको उद्धारका लागि सरकारले दुई दिनदेखि निरन्तर प्रयास गरिरहेको छ। शनिबार बिहानैदेखि सुरुङको प्रवेशद्वार खोल्ने कामलाई थप तीव्र पारिएको छ।
सुरुङभित्र मानिस फसेको जानकारी आएपछि सरकारले प्राथमिकताका साथ उद्धार टोली परिचालन गरी लेदो तथा भग्नावशेष हटाउँदै प्रवेशद्वार खोल्ने काम अघि बढाएको हो ।
सुरुङको मुख खोल्न तथा खोजी कार्यलाई तीव्र बनाउन शुक्रबार रातिदेखि नेपाली सेनाका ६२ जना तथा सशस्त्र प्रहरी र नेपाल प्रहरीका २० जना गरी ८२ जनाको संयुक्त टोली निरन्तर खटिएको छ। प्रतिकूल मौसमका कारण उद्धार कार्य भने चुनौतीपूर्ण बनेको छ।
यसैबीच उद्धारमा सहयोग गर्न आएको भारतीय टोली त्रिशूली पुगेको छ। टोलीले हेलिकप्टरमार्फत चिलिमे र लाङटाङ क्षेत्रको प्रारम्भिक अनुगमन गरी अवस्था हेरेपछि आवश्यकताअनुसार थप उद्धार कार्य अघि बढाउने तयारी गरेको छ।
