
काठमाडौं ।राष्ट्रिका साहित्य प्रतिष्ठानको आयोजनामा गीतकार निराज सिग्देलको गीति एल्बम’ निरासक्त’को विमोचन भएको छ ।
शनिबार जमलस्थित राष्ट्रिय साँस्कृतिक संस्थानमा आयोजित विमोचन कार्यक्रममा कानूनबिद,गीतकार एवं गायक डा.भिमार्जुन आचार्य,वरिष्ठ संगीतकार राजु सिंह,गायक स्वरुपराज आचार्य लगायतले कृति विमोचन गरे ।
कार्यक्रममा डा.आचार्यले एल्बममा समावेश गीतहरुले एल्बमलाई सार्थक बनाएको बताए । उनले गायकी र संगीत दुबैको कम्बिनेशन संगीतकार विपिनमा भएको बताए । संगीतकारले गीतलाई न्याय गरेको भन्दै गीतका थीम उपल्लो स्तरको भएकोमा जोड दिए ।
अर्का बक्ता राजुसिंहले निरासक्तका सबै टीमको कार्य मिहेनतपूर्वक गरिएको हुँदा एल्बम उत्कृष्ट भएको बताए । संगीतकार विपिन घिमिरेले एल्बम कसरी आयो भन्ने बारेमा बताए ।
गीतकार सिग्देलले २०४४ सालदेखि गीत लेख्न थालनी गरेको बताउँदै असहज व्यक्तिहरुको लागि गीत लेखेको र राष्ट्रियताप्रति संवेदनशील भएकोले राष्ट्रिय गीत लेखेको बताए । देशको परिस्थितिले दुखी भएर मन नपरेको कुराप्रति गीत लेख्ने आफ्नो प्रयास रहेको उनले जानकारी दिए । आफुले सिद्धहस्त भएर नभै रहरले गीत लेखेको पनि उनले खुलासा गरे ।
गायक स्वरुपराज आचार्यले सिकाईमा उमेर र योग्यता नचाहिने भन्दै संगीत संगतबाट प्राप्त हुने कुरा भएको बताए । उनले भने- ‘म संगीतमा धैर्य आवश्यक ठान्छु । यो धैर्यता विपिन घिमिरेमा छ । ‘ उनी पिता भजन शिरोमणी भक्तराज आचार्यको स्मरणमा भावुक पनि भए ।
गीतमाथि मुरारी सिग्देलले समीक्षा गरे । पृथक संगीत र उचित शब्द चयनले गीत श्रवणीय भएको बताउँदै उनले गीतकारलाई अझै सशक्त गीत सृजना गर्न आग्रह गरे ।
नेपाल संगीकार संघका अध्यक्ष अष्ट लामाले शुभकामना मन्तव्य दिंदै स्रष्टाको अधिकारको लागि अझै लड्नुपर्ने परिस्थिति रहेको बताए ।
कार्यक्रममा साँस्कृतिक संस्थानका महाप्रवन्धक किरण बाबु पुन, नियात्राकार प्रदीप सापकोटा,अभिनेत्री शारदादेवी सिलवाल लगायतले शुभकामना मन्तव्य राखे ।
कार्यक्रमका सभाध्यक्ष एवं राष्ट्रिका साहित्य प्रतिष्ठानका अध्यक्ष रिषभ देव घिमिरेको अध्यक्षतामा उक्त कार्यक्रम सम्पन्न भएको थियो ।राष्ट्रिका साहित्य प्रतिष्ठानका अध्यक्ष एवं कार्यक्रमका सभापति रिषभदेव घिमिरेले कविताको शैलीमा स्रष्टा सर्जक र सिर्जना सगरमाथा भन्दा उच्च हुने भनाई राखे ।
कार्यक्रममा स्वरूपराज आचार्य र रामकृष्ण ढकालको स्वर रहेका दुई गीतको श्रब्यदृश्य सामग्री देखाइएको थियो ।
लोकराज अधिकारीको सञ्चालनमा भएको उक्त कार्यक्रममा विभिन्न व्यक्तिहरुलाई आयोजकको तर्फबाट अध्यक्ष घिमिरेले मायाको चिनो प्रदान गरेका थिए ।
सार्वजनिक भएको गीति सङ्ग्रहमा ६ वटा गीत समावेश छन् । जसमा आचार्य, ढकाल सँगै शीला विष्ट अलि र विपिनको स्वर रहेको छ ।



