
काठमाडौं । नवलपरासी (बर्दघाट सुस्ता पूर्व)को गैँडाकोट नगरपालिका–१२, हर्कपुरमा दुई बस आपसमा ठोक्किँदा १८ जना घाइते भएका छन् ।
शनिबार (भदौ २७) बिहान करिब ६ः५० बजे पूर्व–पश्चिम राजमार्गमा नारायणगढबाट बुटवलतर्फ जाँदै गरेको लु२ख ६४५७ नम्बरको बसलाई सोही दिशातर्फ गइरहेको लु२ख ६०३६ नम्बरको बसले पछाडिबाट ठक्कर दिएको थियो । दुर्घटनामा दुवै बसमा सवार १८ जना घाइते भएका प्रहरीले जनाएको छ ।
घाइते हुनेमा लु२ख ६०३६ बसका चालक चितवनको भरतपुर महानगरपालिका–४ का ४७ वर्षीय सन्तोषबहादुर गुरुङसहित नवलपरासी, कालीकोट, गोरखा, बारा, दाङका यात्रु छन् । घाइतेलाई उपचारका निम्ति भरतपुर ल्याइएको प्रहरीले जनाएको छ ।


