
काठमाडौँ । नेपाल मौसम विज्ञान विभागले देशभर रहेका परम्परागत मौसम मापन केन्द्रहरूलाई चरणबद्ध रूपमा स्वचालित मौसम केन्द्रमा रूपान्तरण गर्ने भएको छ ।
विभागको श्वेतपत्र मस्यौदामा डाटाको गुणस्तर र निरन्तरता बढाउन माथिल्लो वायुमण्डलको मौसम मापन गर्न थप ६ वटा रेडियोसोन्डे केन्द्र स्थापना गर्ने उल्लेख छ ।
विभागले अबदेखि विशिष्टीकृत मौसम सेवालाई व्यावसायिक बनाउने भएको छ । कृषि, पर्यटन, जलस्रोत, सडक निर्माण, हवाई उड्डयन र ऊर्जा क्षेत्रलाई लक्षित गरी प्रदान गरिने विशेष मौसम र जलवायु सूचनाहरूमा लागत असुली प्रणाली लागू गर्ने भएको छ ।
तर सार्वजनिक सुरक्षा र अत्यावश्यक पूर्वसूचना सेवा भने सर्वसुलभ र निःशुल्क नै रहने विभागले स्पष्ट पारेको छ ।तर व्यावसायिक प्रयोजनका लागि माग हुने विशिष्टीकृत डाटा र पूर्वानुमान सेवाहरू अब सशुल्क लाग्ने व्यवस्था गर्न लागेको छ ।
