
काठमाडौँ । भारतको विदेश मन्त्रालयले बुधबार नेपालको भोटेकोसी नदीमा आएको बाढीपछि २८८ जना भारतीय नागरिक सम्पर्कविहीन भएको बताएको छ ।
विदेश मन्त्रालयमा बिहीबार आयोजित पत्रकार सम्मेलनमा विदेश मन्त्रालयका प्रवक्ता राणधिर जयशवालले सो जानकारी दिएका हुन् ।
“नेपालमा बाढी आएपछि २८८ भारतीय नागरिक सम्पर्कविहीन छन् । ७३ त्रिशूली- १ परियोजनामा कार्यरत थिए । सम्पर्कविहीन भएकामा तामिलनाडुका ३७ र ४९ जनाको दुई समूह कैलाश मानसरोवर यात्रामा थिए । सम्राट र फ्लाई एभरेष्ट एजेन्सीमार्फत उनीहरू गएका थिए,” प्रवक्ता जयशवालले भने ।
प्रवक्ता जयशवालका अनुसार सम्पर्कविहीन हुनेमा पश्चिम बंगालका ३२ जना, ३२ केरला र ६१ जना विभिन्न राज्यका छन् ।
तामिलनाडुका २१ जनाको बाढी प्रभावित क्षेत्रबाट उद्धार भएको उनले जनाएका छन् । उनका अनुसार, कैलाश मानसरोवर यात्रामा गएका २०० जति भारतीय नागरिक चीनतर्फ रहेका छन् ।
