
काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि ३३ देशका ६४४ पर्यटक तथा नेपाली नागरिक अझै सम्पर्कविहीन रहेको नेपाल पर्यटन बोर्डले जानकारी दिएको छ ।
नेपाल पर्यटन बोर्डको बिहीबार दिउँसो १२ बजेसम्मको अपडेट जानकारी अनुसार बाढीमा सबैभन्दा धेरै भारतका १७८ जना सम्पर्कविहीन छन् भने नेपालका १२७ जना पर्यटक सम्पर्कविहीन रहेका छन् ।
देशअनुसार सम्पर्कविहीन हुने पर्यटकमा भारतका १७८ जना, नेपालका १२७ जना, अमेरिकाका ६५ जना, मलेसियाका ५१ जना, युक्रेनका ५३ जना, अष्ट्रेलियाका ३५ जना, बेलायतका ३३ जना, क्यानडाका २५ जना, सिंगापुरका ९ जना, जर्मनी र रुसका ८- ८ जना रहेको बोर्डले जनाएको छ ।
त्यस्तै, लात्भिया र दक्षिण अफ्रिकाका ६-६ जना, जापान र न्यूजील्याण्डका ५-५ जना, फ्रान्सका ४ जना, बेल्जियम र स्पेनका ३-३ जना, इटाली, आयरल्याण्ड, काजकिस्तान, नेदरल्याण्डस, पोर्चुगलका २-२ जना सम्पर्कविहिन रहेका छन् ।
त्यसैगरी, बेलारुस, बुल्गेरिया, हंगेरी, इजरायल, लिथुआनिया, फिनल्याण्ड, फिलिपिन्स, सर्बिया, स्विडेन र स्वीजरल्याण्डका एक एक पर्यटक सम्पर्कविहीन रहेको बोर्डले जनाएको छ । बोर्डले कुल ६४४ जना बाढीपछि हालसम्म फेला नपरेका वा सम्पर्कमा नआएका व्यक्तिका रूपमा राखिएको जनाएको छ ।


